संसदीय दलको नेताका लागि अर्जुननरसिंह केसी, भीष्मराज आङ्देम्बे र मोहन आचार्य मुख्य प्रतिस्पर्धी छन् ।
What you should know
काठमाडौं — कांग्रेसले शुक्रबार संसदीय दलको नेता चयन गर्ने भएको छ । दलको नेता सर्वसम्मत रुपमा चयन गर्न खोजिए पनि सहमति नजुटेपछि निर्वाचनमार्फत चयन गर्न लागिको हो ।
संसदीय दलका लागि अर्जुननरसिंह केसी, भीष्मराज आङ्देम्बे र मोहन आचार्य मुख्य प्रतिस्पर्धी छन् । केसी र आङ्देम्बे दुवै समानुपातिकबाट निर्वाचित सांसद हुन् भने आचार्य प्रत्यक्ष निर्वाचित हुन् ।
प्रत्यक्ष निर्वचितबाटै संसदीय दलको नेता चयन गर्ने पक्षमा सभापति गगन थापा छन् । त्यसो हुँदा थापाले आचार्यलाई अघि सार्ने सम्भावना छ । केसीको उम्मेदवारीले थापा अप्ठ्यारोमा पर्दै आएका थिए । केसी थापाका ससुरा हुन् ।
केसीलाई समानुपातिक सूचीमा राख्दा नै थापाविरुद्ध सामाजिक सञ्जालमा आलोचना भएको थियो । त्यतिबेला उनले सार्वजनिक रुपमै खण्डन गरेका थिए । त्यसैले पनि थापा केसीलाई दलको नेता बनाउन चाहिरहेका थिएनन् । केही दिनअघि उपसभापति पुष्पा भुषालसहितको पदाधिकारी टोलीले निवासमै गएर केसीलाई दलको नेताको अडान छाड्न अनुरोध गरेको थियो ।
केसीले सभापतिको ससुरा भएकै नाताले आफू दलको नेताबाट नहट्ने बताएका थिए । ‘एउटा मापदण्ड बनाएर त्यसमा सहमति खोज्ने हो भने म छाड्न तयार छु । तर, लामो राजनीतिक संघर्ष र योगदानलाई नाता जोडेर अवमूल्यन गर्ने कुरामा सहमत हुनसक्दिन्,’ केसीको भनाइ छ । सभापति थापाले यही कारण पनि प्रत्यक्षबाट दलको नेता बनाउने मापदण्ड बनाएको पार्टीका एक पदाधिकारीले बताए ।
केसीले भने दलको नेतामा सहमति नभए आफू निर्वाचनमा नजाने बताए । ‘प्रत्यक्षलाई गर्ने की, सबैभन्दा युवाहरूलाई गर्ने की, सबैभन्दा सिनियरबाट गर्ने हो एउटा मापदण्ड बनाउ । होइन भने सहमति गरेर ल्याउ, प्रतिस्पर्धा गर्न चाहनेलाई प्रतिस्पर्धा गर्न दिम भन्ने नै मेरो कुरा हो,’ केसीले भने, ‘निर्वाचननै हुने भयो भने म प्रतिस्पर्धामा जान्नँ ।’
अर्का आकांक्षी आङदम्बेलाई पूर्व सभापति शेरबहादुर देउवा र नेता शेखर कोइराला पक्षको समर्थन रहेको छ । उनलाई सर्वसम्मतिमा दलको नेता चयन गर्न उपसभापति विश्वप्रकाश शर्माले समेत सक्रियता देखाएका थिए । तर, सर्वसम्मति नभएपछि सभापति थापा प्रत्यक्षबाट दलको नेता चयन गर्ने बाटो लिएका हुन् । निर्वाचन हुँदा आङदम्बे र आचार्यका बीचमा हुन सक्ने सम्भावना छ ।
‘म पनि सर्वसम्मतिमै चयन होस् भन्ने पक्षमा छु । सर्वसम्मतिकै प्रयासमा लागेको छु, भएन भने उम्मेदवार खाली त हुन्न । उम्मेदवार हुने कुरा हुन्छ,’ आङदम्बेले भने । दलको नेताका लागि शुक्रबार ३ बजे मनोनयन राखिएका छ । निर्वाचन समितिका संयोजक समेत रहेका सहमहामन्त्री प्रकाश रसाईलीले ३ बजे मनोयन गरेर शुक्रबार नै ५ बजेसम्म निर्वाचन भइसक्ने बताए ।
