मेरोसहित सबैको सम्पत्ति पनि छानबिन गरियोस्, तर कानुनसम्मत होस् : सभापति थापा

कार्की आयोगको प्रतिवेदन अपूर्ण र बद्‌नियतपूर्ण : गगन थापा 

वैशाख ७, २०८३

सुवास विडारी

Everyone's property, including mine, should be investigated, but it should be done in accordance with the law: Speaker Thapa

What you should know

मकवानपुर — कांग्रेस सभापति गगन थापाले जेन-जी आन्दोलनका विषयमा गौरीबहादुर कार्की नेतृत्वको आयोगले सार्वजनिक गरेको प्रतिवेदन अपूर्ण र बद्नीयतपूर्ण रहेको बताएका छन् । 

कांग्रेस केन्द्रीय कार्यसमितिको आयोजनामा सोमबार हेटौंडामा भएको बागमती प्रदेशस्तरीय निर्वाचन समिक्षा कार्यक्रममा उनले कार्की आयोगको प्रतिवेदनले भदौ २४ गतेको बारेमा केही नबोलेको उल्लेख गर्दै उक्त प्रतिवेदन बदनीयतपूर्ण र ‘बायस्ड’ रहेको धारणा राखेका हुन् । ‘राज्यको निकायले चाहँदा जो कोहीलाई अनुसन्धान गर्न पाउनुपर्छ । हाम्रो पार्टीका नेतालाई अनुसन्धान नगर भनेर कांग्रेसले भन्दैन,’ थापाले भने, ‘व्यक्तिले नियम मान्नुपर्छ भने राज्यले पनि मान्नुपर्छ ।’ 

Everyone's property, including mine, should be investigated, but it should be done in accordance with the law: Speaker Thapa

उनले सार्वजनिक ओहोदामा बसेको सबैको सम्पत्ति छानबिन हुनुपर्ने बताए ।  ‘२०४६ पछि देशको प्रधानमन्त्री र मन्त्री बनेकाहरूसहित उच्च ओहोदामा पुगेका सबैको सम्पत्तिको छानबिन गर्नुपर्छ । म पनि मन्त्री भएको छु, मेरो पनि छानबिन गरियोस्’, उनले थपे, ‘तर यो छानबिन कानुनसम्मत हुनुपर्छ । जसको गल्ती भएको छ, जसले दुरुपयोग गरेको छ उसको सम्पत्ति जफत गरेर राष्ट्रीयकरण गर्नुपर्छ ।’ 

मध्यपूर्वमा तनाव भएकोले नेपालमा पेट्रेलियम पदार्थको भाउ बढेको कांग्रेसले राम्रोसँग बुझेको भन्दै उनले हचुवाको भरमा आन्दोलन नगर्ने जानकारी दिए । करको दर घटाएर पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्नुपर्ने उनको सुझाव छ । कांग्रेस विशेष महाधिवेशनको सन्दर्भमा अदालतले फैसला गरिसकेको भन्दै सभापति थापाले अब पार्टीभित्र बृहत्तर एकता गराउँदै १५ औं महाधिवेशन सफल पार्न लागिपर्ने बताए । ‘सभापतिको हैसियतमा सबै नेताहरूसँग संवाद गरिरहेको छु, सबैलाई मिलाएर लैजानेछु’, उनले भने, ‘पार्टीभित्र बसेकाहरू मात्रै मिलेर हुँदैन । सबैलाई मिलाएर लैजाने प्रयासमा लागिपरेको छु ।’ 

समीक्षा कार्यक्रममा बागमती प्रदेशबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारहरूसहित जिल्ला सभापतिहरूले पार्टी हारको कारणसहित आफ्नो धारणा राखेका थिए । 

सुवास विडारी कान्तिपुरका मकवानपुर संवाददाता हुन् ।

Link copied successfully