रास्वपा केन्द्रीय समिति बैठक आह्वान, अनिवार्य उपस्थित हुन सभापति लामिछानेको निर्देशन

रास्वपाको सोमबार बस्ने केन्द्रीय समिति बैठकका एजेन्डा आइतबार बस्ने सचिवाचलयको बैठकले तय गर्नेछ ।

वैशाख ६, २०८३

कान्तिपुर संवाददाता

RSVP Central Committee meeting called, Chairman Lamichhane directs mandatory attendance

काठमाडौँ — सरकार संचालन गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समिति बैठक बोलाएको छ । सोमबार दिउँसो ३ बजे केन्द्रीय कार्यालय वनस्थलीमा केन्द्रीय समिति बैठक बोलाइएको हो । बैठकमा केन्द्रीय समिति सदस्यहरूलाई अनिवार्य उपस्थित हुन सभापति रवि लामिछानेले निर्देशन दिएका छन् । 

रास्वपा प्रवक्ता मनिष झाले सबै केन्द्रीय सदस्यहरूलाई बैठकमा अनिवार्य उपस्थितिका लागि सभापतिले निर्देशन दिएको जानकारी दिए । 'पार्टी सभापतिको निर्देशानुसार पार्टी केन्द्रीय समितिको बैठक मिति २०८३ वैशाख ७ गते बस्ने भएकोले अनिवार्य उपस्थितिको लागि निर्देशानुसार अनुरोध छ,' प्रवक्ता झाले भने, 'केन्द्रीय समितिका एजेन्डा आइतबार बस्ने सचिवाचलयको बैठकले तय गर्नेछ ।'

रास्वपाको सचिवालय बैठक आइतबार बस्दैछ । दिउँसो ३:३० मा बस्ने सचिवालय बैठकमा विभिन्न ९ एजेन्डामा छलफल हुने प्रवक्ता झाले जानकारी दिए । रास्वपा सचिवालय बैठकमा जिल्ला अधिवेशन कार्यविधि, बैंक खाता सञ्चालन, केन्द्रीय आयोग, सल्लाहकार परिषद्, संघीय नेतृत्व मञ्च र विभागहरूको मनोनयन, महाधिवेशन कार्यविधि मस्यौदा समिति गठनका सम्बन्धमा छलफल हुनेछ । रास्वपाले पहिलो महाधिवेशनको तयारी गर्न लागेको हो ।

त्यस्तै, विज्ञ र योजना आह्वानका साथै सांसदहरूलाई पार्टीको संगठनात्मक जिम्मेवारी दिने र सांसहरूको लेबीबारे पनि छलफल हुने बताइएको छ ।

रास्वपाले सांसदहरूबाट प्रत्येक महिना १६ हजार रुपैयाँ लेबी उठाउने निर्णय गरेको छ । त्यस्तै सरकारमा सहभागी मन्त्रीहरूका लागि भने मासिक १८ हजार लेबी तोकेको छ ।  

कान्तिपुर

Link copied successfully