राष्ट्रिय सभा अध्यक्ष दाहाल र टर्कीएका सभामुख नुमानबीच भेटवार्ता

टर्कीए सभामुखसँगको छलफलमा अध्यक्ष दाहालले तुर्किएसँग जोडिएका सबै काम गर्न नेपालीहरू दिल्ली धाउनुपर्ने स्थिति रहेको भन्दै नेपाल र टर्कीएबीच श्रम सम्झौता गर्नुका साथै नेपालमै दूतावास स्थापना भए दुई देशबीचको सहकार्यमा थप सहज हुने बताएका थिए ।

वैशाख ६, २०८३

कान्तिपुर संवाददाता

Meeting between National Assembly Chairman Dahal and Turkish Speaker Numan

What you should know

काठमाडौँ — राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल र टर्कीएक‍ो संसद् ग्रान्ड नेशनल एसेम्बलीका सभामुख नुमान कुर्तुल्मुसबीच शिष्टाचार भेटवार्ता भएको छ । अन्तर व्यवस्थापिका संघ (आइपीयू) को १५२ औँ महासभामा सहभागी हुन इस्तानबुल पुगेका अध्यक्ष दाहालले टर्कीएको संसद्का सभामुख नुमानसँग शिष्टाचार भेटवार्ता गरेका हुन् । 

अध्यक्ष दाहाल र सभामुख नुमानबीचको भेटमा दुई देशबीचको सम्बन्ध, आपसी हित र संसदीय सहकार्यका विषयमा छलफल भएको अध्यक्ष दाहालको सचिवालयले जानकारी दिएको छ । 

द्विपक्षीय भेटमा अध्यक्ष दाहालले संसदीय सहकार्यमार्फत् दुई देशबीचको सम्बन्ध अझ बलियो र प्रगाढ बनाउनु पर्ने उल्लेख गर्दै संसदीय अनुभव आदानप्रदान, भ्रमण र संसदीय मैत्री समूह गठनका विषय राखेको बताएका थिए ।

नेपाल र टर्कीएबीचको कूटनीतिक सम्बन्ध ६ दशकदेखि नै सौहार्द र आपसी सम्मानमा आधारित रहेको चर्चा गर्दै अध्यक्ष दाहालले आगामी दिनमा द्विपक्षीय सम्बन्धलाई थप प्रगाढ बनाउन नेपालमै टर्कीएको दूतावास स्थापनाका लागि आग्रह गरेका थिए । अध्यक्ष दाहालको सचिवालयका अनुसार टर्कीएसँग जोडिएका सबै काम गर्न नेपालीहरू दिल्ली धाउनुपर्ने स्थिति रहेको भन्दै अध्यक्ष दाहालले नेपाल र टर्कीएबीच श्रम सम्झौता गर्नुका साथै नेपालमै दूतावास स्थापना भए दुई देशबीचको सहकार्यमा थप सहज हुने बताएका थिए । 

टर्कीएका सभामुख नुमानले टर्कीए र नेपालबीच द्विपक्षीय सम्बन्ध अझ बलियो बनाउन आफूहरू तत्पर रहेको उल्लेख गरेका थिए । नेपालमा टर्कीएको दूतावास खोल्न सकारात्मक रहेको सभामुख नुमानले बताएको अध्यक्ष दाहालको सचिवालयले जानकारी दिएको छ । 

टर्कीए सरकारले नेपालका लागि सीमित कोटाको शैक्षिक छात्रवृत्तिको व्यवस्था गरेको उल्लेख गर्दै सभामुख नुमानले छात्रवृत्तिको कोटा वृद्धि गर्ने र दुई देशबीचको व्यापार पनि बढाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।

अध्यक्ष दाहाल र टर्कीएका सभामुखबीचको भेटवार्तामा नेपालको तर्फबाट सांसदहरू डा. अन्जान शाक्य र कृष्णबहादुर रोकायासँगै राष्ट्रिय सभाका सचिव तुलबहादुर कंडेल र शाखा अधिकृत सपना सापकोटा सहभागी  थिए । 

कान्तिपुर

Link copied successfully