अर्थमन्त्रीलाई बोहराको प्रश्न - विमानस्थलमा हजारौंको मदिरा ल्याउन छुट, सीमाबाट १०० को सामान ल्याउँदा कर ?

रास्वपा सचिवालय बैठकमा सांसद दीपक बोहराको प्रश्नमा अर्थमन्त्री स्वर्णिम वाग्लेको जवाफ : सीमाक्षेत्रमा तस्कर चैनले सुत्न पाउँदैन, सर्वसाधारणले दुःख पाउँदैन ।

वैशाख ६, २०८३

जयसिंह महरा

Bohara's question to the Finance Minister - Exemption for bringing liquor worth thousands at the airport, tax on bringing goods worth 100 across the border?

What you should know

काठमाडौँ — भारतीय सीमा क्षेत्रबाट नेपालमा १०० रुपैयाँभन्दा बढीको सामान ल्याउँदा भन्सार (कर) लाग्ने र सुरक्षाकर्मीबाट हुने धरपकडको विषय सरकार संचालन गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठकमा उठेको छ । 

रास्वपाका सचिवालय सदस्य तथा सांसद दीपक बोहराले सीमाक्षेत्रका स्थानीयले भारतबाट १०० रुपैयाँभन्दा बढीको सामग्री ल्याउँदा भन्सार तिर्नुपर्ने तर विमानस्थलमा विदेशबाट हजारौंको मदिराजन्य पदार्थ ल्याउन छुट हुने व्यवस्था किन गरिएको हो भनी अर्थमन्त्री तथा पार्टी उपसभापति स्वर्णिम वाग्लेलाई प्रश्न गरेका थिए ।

रास्वपाका एक सचिवालय सदस्यका अनुसार सांसद बोहराले उक्त विषयमा अर्थमन्त्री वाग्लेको जवाफसँगै सहजीकरण कसरी गर्ने हो भनेर सोधेका थिए । 'सीमा क्षेत्रमा १०० भन्दा बढीको सामान भारतबाट घरायसी प्रयोजनका लागि ल्याउँदा भन्सार लाग्ने र राज्यबाट धरपकड हुने गरेको छ । तर विमानस्थलमा हजरौंको ह्वीस्कीलगायत ल्याउनका लागि भने छुट दिने गरिएको छ । यसरी कसरी सहजीकरण गर्नुहुन्छ ?,' बोहराले सोधेका थिए । 

अर्थमन्त्री वाग्लेले सीमामा सहजीकरण गर्ने जवाफ फर्काएका थिए । 'सीमाक्षेत्रमा तस्कर चैनले सुत्न पाउँदैन । सर्वसाधारणले दुःख पाउँदैन,' मन्त्री वाग्लेको भनाइ थियो । 

रास्वपा प्रवक्ता मनिष झाले सीमामा भारतबाट सामान ल्याउँदा लाग्ने भन्सार र राज्यबाट हुने व्यवहारका बारेमा सचिवालय बैठकमा छलफल चलेको बताए । 'यो विषयमा छलफल चलेको थियो । सचिवालय सदस्यले प्रश्न गर्नुभयो र मन्त्रीले जवाफ दिनुभयो, यत्ति भनेँ,' झाको भनाइ थियो । 

सचिवालय बैठकपछि रास्वपा महामन्त्री तथा सांसद कबिन्द्र बुर्लाकोटीले पनि सीमापारिबाट नेपालमा सामान ल्याउँदा भन्सार लाग्ने विषयमा छलफल भएको बताए । 'कानुनले सीमापारिबाट ल्याउने सामानको भन्सार कर लाग्छ भन्छ तर व्यवहारमा घरायसी सामान ल्याउन छुट दिने भन्ने हो । अहिले चोरो पैठारीलाई रोक्ने भन्ने निर्देशन छ । त्यो निर्देशन हुँदै गर्दा एकै दिनमा दसौं पटक १०००-२००० रुपैयाँको सामान ल्याउने र गोदाममा राख्नेलाई नियन्त्रण गर्न खोजेको हो,' बुर्लाकोटीले भने, 'छिट्टै नै आफ्नै घरायसी प्रयोजनका लागि सामान ल्याएर आउनका लागि सहजीरकण हुन्छ । सीमाको मारलाई सम्बोधन गर्ने गरी छलफल चलेको छ ।'

भारतीय सीमा क्षेत्रका स्थानीयले १०० रुपैयाँभन्दा बढीको सामान ल्याउँदा सुरक्षाकर्मीले खोस्ने र भन्सार लिने गरेको भन्दै मुलुकका विभिन्न क्षेत्रमा सरकारको आलोचना भइरहेको छ । सीमा क्षेत्रका स्थानीय र राजनीतिक दलका नेताहरूले उक्त कार्यको विरोध गरिरहेका छन् ।

त्यस्तै, रास्वपा सचिवालयको बैठकले प्रवास विभागको प्रमुखमा केन्द्रीय सचिवालय सदस्य तथा सांसद दिपक बोहरालाई नियुक्त गर्ने निर्णय गरेको छ । उक्त विभागको प्रमुख रहेका डीपी अर्याल सभामुख भएपछि बोहरालाई नियुक्त गरिएको हो । रास्वपा सचिवालय बैठकले प्रत्यक्ष निर्वाचित सांसद नरहेको निर्वाचन क्षेत्रमा समानुपातिक तर्फबाट निर्वाचित सांसदहरूलाई जिम्मेवारी तोक्ने निर्णय गरेको पनि प्रवक्ता झाले जानकारी दिए । 

जयसिंह महरा विगत १० वर्षदेखि पत्रकारिता गरिरहेका छन् । उनी संसदीय मामिलासँगै राजनीतिक घटनाक्रमका समाचार लेख्छन् ।

Link copied successfully