कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चको आदेश न्यायपूर्ण : महामन्त्री घिमिरे

घिमिरेले जारी गरेको वक्तव्यमा सर्वोच्चको आदेशले पार्टीभित्रका सबै पक्षको आत्मसम्मान र योगदानको कदर गरेको उल्लेख गरेका छन् ।

वैशाख ४, २०८३

कुलचन्द्र न्यौपाने

Supreme Court's order on Congress's legitimacy dispute is fair: General Secretary Ghimire

काठमाडौँ — नेपाली कांग्रेसका महामन्त्री गुरूराज घिमिरेले पार्टीको आधिकारिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतले दिएको आदेशलाई न्यायपूर्ण भएको बताएका छन् । उनले उक्त निर्णयलाई कांग्रेसका सदस्यहरूले वर्षौँदेखि विधि र पद्धतिको स्थापनाका लागि गरेको संघर्षको प्रतिफलका रूपमा व्याख्या गरेका छन् ।

घिमिरेले जारी गरेको वक्तव्यमा सर्वोच्चको आदेशले पार्टीभित्रका सबै पक्षको आत्मसम्मान र योगदानको कदर गरेको उल्लेख गरेका छन् । 'यो कसैको हार वा जित होइन,' उनले भनेका छन्, 'यसले संस्थागत मूल्य र लोकतान्त्रिक प्रक्रियालाई सुदृढ बनाउने काम गरेको छ ।'

उनले अब पार्टीभित्रका सबै नेता–कार्यकर्तालाई एकताबद्ध भएर आगामी १५ औँ महाधिवेशन सफल बनाउन जुट्न आह्वान गरेका छन् । विगतका सबै विवाद र मतभेदलाई विस्मृतिमा राख्दै कांग्रेसको आन्तरिक एकतालाई अझ मजबुत बनाउँदै अघि बढ्नुपर्ने उनको धारणा छ ।

महामन्त्री घिमिरेले वर्तमान परिस्थितिमा पार्टीभित्र सहकार्य, समन्वय र एकताको आवश्यकता झन् बढेको औंल्याउँदै संगठनलाई सुदृढ बनाउने दिशामा केन्द्रित हुन आग्रह गरेका छन् ।

कुलचन्द्र उनी कान्तिपुरका राजनीतिक संवाददाता हुन् । उनी संसदिय मामिला र दलहरुको भूमिकाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully