एमाले सचिव पद्मा अर्यालले एमाले र नेकपाका नेताहरूबीच व्यक्तिगत रुपमा संवाद भए पनि सहकार्यका लागि औपचारिक एजेण्डा नबनेको बताइन् ।
What you should know
काठमाडौं — प्रतिनिधिसभामा तेस्रो र चौथो स्थानमा रहेका एमाले र नेकपा नेताहरूबीच सहकार्यका लागि संवाद सुरु भएको छ । 'आगामी सहकार्य'का लागि एमाले महासचिव शंकर पोखरेल, उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङ, उपमहासचिव लेखराज भट्ट र नेकपा नेता नारायणकाजी श्रेष्ठ, वर्षमान पुनलगायत नेताहरूबीच संवाद भइरहेको नेताहरूले जानकारी दिएका छन् ।
दलका केही नेताले २१ फागुनको प्रतिनिधिसभा निर्वाचन परिणामले वाम सहकार्य हुँदै एकतासम्म जाने मनोविज्ञान सृजना गरेको जनाएका छन् । मंसिर ०८२ मा हुने स्थानीय र प्रदेशको निर्वाचनसम्मै सहकार्यका लागि ठोस आधार बन्नेगरी छलफल भइरहेको उनीहरूको भनाइ छ । तत्काल राष्ट्रिय मुद्दामा सहकार्य गर्ने, स्थानीय र प्रदेश निर्वाचनमा गठबन्धन गरी प्रतिस्पर्धा गर्नेसम्म हुने नेकपाका एक वरिष्ठ नेताले बताए । ‘अब पनि एक्लाएक्लै चुनावमा जाने हो भने नेपालबाट वाम अस्तित्व नै समाप्त हुने जोखिम हुन्छ,’ ती नेताले भने ।
निर्वाचनले खुम्चाइदिएका एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल ‘संविधान निर्माता’ नेताको हैसियतले राष्ट्रियता, संविधान संशोधनका मुद्दामा सहकार्य गर्ने मनस्थितिमा पुगेका हुन् ।
ओली र दाहाल जेन-जी आन्दोलनलाई हेर्ने मामलामा दुई ध्रुवमा विभाजित थिए । दाहालले जेन-जी आन्दोलनको समर्थन गरेका थिए भने ओलीले त्यसलाई 'गम्भीर षड्यन्त्र'को रुपमा लिँदै आएका छन् ।
दाहाल पछिल्लो समय राष्ट्रिय मुद्दामा एमालेलगायत दलसँग सहकार्य हुनुपर्ने पक्षमा छन् । दुवै नेतासँग निकट नेताहरूले संविधान रक्षा, संघीयता, राष्ट्रियताको विषयमा संविधान निर्माता दलहरूबीच साझा अवधारणा हुनुपर्नेमा ओली र दाहालको साझा मत भएको बताए ।
एमाले उपमहासचिव लेखराज भट्टले संविधान निर्माता दलहरूबीच सहकार्य गर्ने अर्थमा एमाले र नेकपा नेताबीच संवाद भइरहेको बुझेको बताए । ‘अहिले एकतामा जानेभन्दा राष्ट्रिय मुद्दामा सहकार्य गरेर जानुपर्छ भन्ने अर्थमा मैले बुझेको छु,’ उनले भने, ‘संविधानको रक्षा, राष्ट्रियतालगायतक मुद्दामा सहकार्य हुन सक्छ ।’
एमाले सचिव पद्मा अर्यालले एमाले र नेकपाका नेताबीच व्यक्तिगत रुपमा संवाद भए पनि सहकार्यका लागि औपचारिक एजेण्डा नबनेको बताइन् । ‘व्यक्तिगत रुपमा नेताहरूबीच कुराकानी भइरहेको हुनसक्छ । तर, एमाले र नेकपाबीच एकता वा सहकार्यका लागि औपचारिक एजेन्डा बनेको छैन,’ उनले भनिन् ।
वाम एकताको सन्दर्भमा एमालेमा विवाद
एमालेभित्र भने वाम एकताको सन्दर्भमा विवाद सृजना भएको छ । एमाले पूर्वउपाध्यक्ष सुरेन्द्र पाण्डेले केही व्यक्तिको स्वार्थका लागि हुने एकताको अर्थ नहुने बताए । ‘नेतृत्वमाथि संकट आइलाग्यो भन्दै फेरि पनि कोही 'वाम एकता’ को दौडधुपमा हुनुहुन्छ । हिजो पद प्राप्तिका लागि एकता गरियो, आज सायद गुम्दो अस्तित्व जोगाउन । तर, पार्टी एकता स्पष्ट विचार र सिद्धान्तका लागि गर्ने कि केही सीमित व्यक्तिको स्वार्थपूर्तिका लागि ?’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।
एमाले आफैंमा एउटा बलियो र ऐतिहासिक विरासत बोकेको पार्टी हो । हामीले तात्कालिक राजनीतिक लाभमात्र हेरेर हुँदैन, दीर्घकालसम्म यसलाई कसरी सशक्त र एकताबद्ध राख्ने भन्ने सोच्न जरुरी छ । विचार र निश्चित गन्तव्यविनाको एकताले अन्ततः पार्टीको मूल्य र मान्यतालाई डाइल्युट मात्र गर्छ ।’
उनले जेठ २०७५ मा एमाले र तत्कालीन माओवादीबीच वैचारिक आधारविना भएको एकता तितो परिणाम भोगेको बताएका छन् । ‘विगतमा वैचारिक आधारविना गरिएको एकताको तितो परिणाम हामीले भोगिसकेका छौं । हिजो मौन बस्नु हाम्रो गल्ती थियो तर आज पनि नबोल्नु गम्भीर मूर्खता हुनेछ,’ उनले लेखेका छन् ।
नेकपा संयोजक दाहालले बिहीबार केन्द्रीय संयोजन समितिको बैठकमा वाम एकतामा जोड दिएका थिए । ‘पहिले हाम्रै पार्टी सुदृढ हुनुपर्छ । त्यसपछि वाम एकताका लागि पहल गर्न आवश्यक छ,’ दाहालको भनाइ उद्धृत गर्दै नेकपा नेता देवेन्द्र पौडेलले भने, ‘१२ बुँदे समझदारी गरेको कांग्रेस, एमालेबीच पनि संविधान रक्षाको विषयमा सहकार्य हुन आवश्यक छ ।'नेकपा नेता देव गुरुङले वामपन्थी दलहरुबीच जहिले पनि एकता वा सहकार्य हुनुपर्ने सदाबार सैद्धान्तिक मान्यता भए पनि अहिलेनै बेला भइनसकेको बताए । ‘वाम एकता हुनुपर्छ भन्ने सदाबहार सैद्धान्तिक मान्यता हो,’ उनले भने, ‘अहिले व्यवहारिक रुपमा एकता वा सहकार्यका लागि प्रस्ताव अघि बढेको छैन ।’
नेकपा संयोजक पुष्पकमल दाहालले हाल जारी रहेको केन्द्रीय संयोजक समितिको बैठकमा प्रतिनिधिसभा निर्वाचन ०८२ को समीक्षा प्रतिवेदनमा चुनाव हार्नुको एक कारणमा वामपन्थी दलहरू एकताबद्ध नहुनु उल्लेख गरेका थिए । प्रतिवेदन भन्छ, ‘एक्लाएक्लै चुनाव लडेका ९ वटा कम्युनिष्ट पार्टीले प्राप्त गरेको समानुपातिक मत ४० लाखभन्दा बढी छ । वाम शक्ति एकताबद्ध भएको भए योभन्दा अझै बढी मत अकर्षित हुन सक्थ्यो ।’
एमाले र नेकपाका युवा नेताहरू वाम एकता हुनुपर्ने पक्षमा छन् । एमाले केन्द्रीय सदस्य निरज आचार्यले निर्वाचन परिणामपछि वाम एकता वा सहकार्यको मनोविज्ञान देखिएको बताए ।
‘वामपन्थी दलहरूबीच आपसमा भिड्दा ठूलो पराजय भोगेको मनोविज्ञान छ । मिल्दा वा सहकार्य गर्दा सुधार हुन सक्छ कि भन्ने देखिन्छ,’ उनले भने, ‘यो नेता तथा कार्यकर्ताको व्यक्तिगत धारणा हो ।’
नेकपा केन्द्रीय सदस्य सुरेन्द्र बस्नेतले एमाले र नेकपाका नेताबीच वाम सहकार्य वा एकताबारे तहतहमा कुराकानी भइरहेको बताए । ‘दुवै पक्षबाट एकता वा सहकार्यबोध भएको देखिन्छ,’ उनले थपे ।
ओली-दाहालको सुखद मिलन, दुःखद् बिछोड
०७४ को निर्वाचनमा एमाले अध्यक्ष केपी शर्मा ओली र तत्कालीन माओवादी अध्यक्ष पुष्पकमल दाहालले चुनावी गठबन्धन गरेका थिए । चुनावमा दुई दल मिलेर झण्डै दुई तिहाइ (प्रतिनिधिसभामा २७४ सिट) मत ल्याएका थिए ।
३ जेठ २०७५ मा २ दल मिलेर नेपाल कम्युनिस्ट पार्टी गठन गरे । ओली र दाहाल अध्यक्ष भए । ओली बलियो सरकारको प्रधानमन्त्री बने । उनले सरकार र दाहालले पार्टी चलाउने समझदारी पनि भयो । तर, एकता भएको छोटो समयमै शक्ति संघर्ष देखिन थाल्यो ।
दुई नेताबीच द्वन्द्व बढ्दै गइरहेको बेला सर्वोच्च अदालतले नेकपासम्बन्धी एक निवेदनको सुनुवाइ गर्दै २३ फागुन २०७७ मा एमाले र माओवादीलाई अलग गरिदियो । ओली दाहालको एकता २ वर्ष ९ महिना २० दिन टिक्यो ।
कानुनी रूपमा सर्वोच्चको फैसलाले साविकका दल ब्युँताउनुअघि नै पार्टीभित्र तीव्र आन्तरिक विवादका कारण पुस २०७७ मा प्रतिनिधिसभा बिघटन भएपछि यी दुई समूह राजनीतिक रूपमा व्यवहारिक रूपमै अलग भइसकेका थिए । पार्टी सचिवालयमा ओली अल्पमतमा परिसकेपछि उनले संसद् बिघटन गरे पनि सर्वोच्चले उल्ट्याइदिएको थियो ।
नेपालमा लामो समयदेखि जारी राजनीतिक अस्थिरतालाई अन्त्य गरी स्थिर सरकारमार्फत विकास र समृद्धि हासिल गर्ने लक्ष्य राखिएको थियो । त्यहीअनुसार जनमत पनि प्राप्त भएको थियो ।
