तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सोमबार पार्टीको ‘लेडरहेड’ प्रयोग गरेर निकालेको विज्ञप्तिप्रति लक्षित गर्दै सभापति थापाले भने,‘अनधिकृत रूपमा हुने गतिविधिहरूको एउटा सीमा हुन्छ ।’
काठमाडौँ — कांग्रेस सभापति गगन थापाले पार्टी कार्यालयभन्दा बाहिर अनधिकृत रूपमा भइरहेको गतिविधि सहन नसकिने बताएका छन् ।
तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सोमबार पार्टीको ‘लेडरहेड’ प्रयोग गरेर निकालेको विज्ञप्तिप्रति लक्षित गर्दै सभापति थापाले भने,‘अनिधिकृत रूपमा हुने गतिविधिहरूको एउटा सीमा हुन्छ । सीमा भन्दा बाहिर जाने कुरा सहन सक्ने कुरा हुन सक्दैन । सबैलाई मिलाएर लैजाने मेरो प्रयास हुन्छ । मिलाएर लैजाने मेरो जिम्मेवारी र विनम्रतालाई कमजोरी नठानियोस् । हिजो जुन काम जुन समयमा गर्नुपर्ने थियो, त्यो समयमा नभएकाले अहिले ठूलो मूल्य चुकाउनु परेको छ । अब त्यस्तो गल्ती हुँदैन ।’
खड्काले क्रियाशील सदस्यता अद्यावधिक गर्ने जरा अभियानको विरोध गर्दै विज्ञप्ति निकालेका थिए । कांग्रेसले असोज १६–१९ मा हुने पार्टीको केन्द्रीय महाधिवेशनलाई लक्षित गरेर नयाँ वर्षको पहिलो दिनदेखिनै सदस्यता अद्यावधिकसम्बन्धी ‘जरा अभियान’ सुरू गरेको छ ।
खड्काले यसअघि नवीकरण भइसकेको सदस्यताको समेत अद्यावधिक गर्न लागिएकोप्रति आपत्ति जनाउँदै विज्ञप्ति निकालेका थिए । उनले कार्यवाहक सभापतिको हैसियत राखेर विज्ञप्ति निकालेपछि उनीमाथि स्पष्टीकरण सोध्नेबारेमा संस्थपन पक्षमा छलफल चलिरहेको छ । त्यसका लागि तारामान गुरुङको संयोजकत्वमा रहेको केन्द्रीय अनुशासन समितिको बैठकसमेत बुधबार बोलाइएको छ ।
‘सक्नेले मलाई सहयोग गर्नुहोला । नसक्नेले मलाई कृपया डिस्टर्ब नगरिदिनुहोला । म मेरो कामलाई अगाडि बढाउने कुरामा सबैलाई मिलाएर लैजान चाहन्छु । सबैलाई मिलाएर लैजाने मेरो कुरा हो । अब धेरै खिचपिच नगर्नका लागि सबैलाई म अनुरोध गर्न चाहन्छु,’ वडा नम्बर ३० को पार्टी कार्यालयमा गएर सदस्यता अद्यावधिक गरेपछि थापाले भने,‘ मैले दौडाएर पार्टीको कामलाई अगाडि लिएर जानुपर्नेछ, अधिवेशन सम्पन्न गराउनुपर्नेछ । पार्टीको अधिवेशनबाट देशभरिको कुरालाई सम्हाल्नुपर्नेछ । नयाँ निर्वाचनका लागि पार्टीलाई तयार गर्नुपर्नेछ । प्रमुख प्रतिपक्षको जिम्मेवारी निर्वाह गर्न सक्ने पार्टी बनाउनुपर्नेछ । यसमा मलाई सबैको सहयोग चाहिएको छ । कृपया सक्नेले मलाई सहयोग गर्नुहोला । नसक्नेले मलाई डिस्टर्ब नगर्नुहोस् ।’
