संसदीय सुनुवाइ समितिमा प्रतनिधिसभाका १२ सांसद र राष्ट्रिय सभाका ३ सांसद सदस्य हुन्छन् ।
काठमाडौँ — संसदीय सुनुवाइ समितिले पूर्णता पाएको छ । प्रतिनिधिसभाको शुक्रबारको बैठकले संसदीय सुनुवाइ समितिमा सदस्य रहने प्रतिनिधिसभाका सांसदहरू मनोनयन गरेसँगै सुनुवाइ समितिले पूर्णता पाएको हो ।
सभामुख डीपी अर्यालले प्रतिनिधिसभाको तर्फबाट संसदीय सुनुवाइ समितिमा सदस्य रहने सांसद मनोनयनका लागि प्रस्ताव बैठकमा राखेका थिए । उक्त प्रस्ताव सर्वसम्मतिले पारित भएको थियो ।
संसदीय सुनुवाइ समितिमा प्रतिनिधिसभाको तर्फबाट सांसदहरू अर्जुननरसिंह केसी, कबिन्द्र बुर्लाकोटी, गजला समीम मिकरानी, चन्दनकुमार सिंह, पद्माकुमारी अर्याल, बोधनारायण श्रेष्ठ, भिष्मराज आङ्देवे, मधु चौलागाईं, रञ्जु दर्शना, राजीव खत्री, लेखजंग कार्की र वर्षमान पुन रहेका छन् । संसदीय सुनुवाइ समितिमा प्रतनिधिसभाका १२ सांसद हुन्छन् ।
संसदीय सुनुवाइ समितिमा राष्ट्रिय सभाका ३ सांसद सदस्य हुन्छन् । जसमा अञ्जान शाक्य, आनन्दप्रसाद ढुंगाना र जगप्रसाद शर्मा रहेका छन् ।
संसदीय सुनुवाइ समितिले पूर्णता पाएसँगै संवैधानिक परिषद्बाट विभिन्न पदमा हुने सिफारिस र राजदूत लगायतका पदको सुनुवाइको बाटो खुलेको छ ।
