मन्त्री गौतम र राजदूत म्यूलीबीचको भेटवार्तामा नेपाल र स्विट्जरल्यान्डबीचको दीर्घकालीन मैत्री सम्बन्ध, सहकार्य, नेपालको शान्ति प्रक्रियालगायतका विषयमा छलफल । भेटवार्तामा परराष्ट्र मन्त्रालयका अधिकारी पनि सहभागी ।
काठमाडौँ — कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमसँग नेपालका लागि स्वीट्जरल्यान्डका राजदूत डा. ड्यानियल म्युलीले शिष्टाचार भेटघाट गरेका छन् ।
भेटवार्ताका क्रममा राजदूत म्युलीले नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गौतमलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।
मन्त्री गौतमका स्वकीय सचिव प्रकृति न्यौपानेका अनुसार भेटवार्ताका क्रममा दुवै जनाबीच दुई देशको आपसी सम्बन्धबारे छलफल भएको थियो ।
भेटवार्ताबारे न्यौपानेले भनिन्, 'नेपाल र स्विट्जरल्यान्डबीचको दीर्घकालीन मैत्री सम्बन्ध, सहकार्य, नेपालको शान्ति प्रक्रिया तथा न्यायमा जनताको पहुँच अभिवृद्धि लगायतका विषयमा विचार आदान प्रदान भयो ।'
बुधबार सिंहदरबारस्थित कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा भएको मन्त्री र राजदूतबीचको भेटवार्तामा परराष्ट्र मन्त्रालयका अधिकारीको पनि उपस्थिति थियो ।
