विगतमा प्रधानमन्त्री तथा मन्त्रीहरूबाटै कूटनीतिक आचारसंहिताको पालना नभएकोमा तीव्र आलोचना हुँदै आएको छ । काठमाडौंस्थिति विदेशी राजदूतहरूले मन लागेका बेला प्रधानमन्त्री तथा मन्त्रीहरूलाई भेट्दै आएका थिए ।
What you should know
काठमाडौँ — सरकारका कुनै पनि मन्त्रीले विदेशी पाहुना वा विदेशी नियोगका अधिकारीलाई भेट्दा परराष्ट्र मन्त्रालयलाई पूर्वजानकारी गराउनुपर्ने छ ।
मन्त्रीले विदेशी पाहुना, काठमाडौंमा रहेका विदेशी राजदूत, नियोगका अधिकारी, विदेशी पदाधिकारी वा अन्तर्राष्ट्रिय संघ/संस्थाका पदाधिकारीसँगको भेटघाट गर्दा परराष्ट्रलाई जानकारी गराउनुपर्ने भनिएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सबै मन्त्रीहरूलाई परराष्ट्र सचिव अमृतबहादुर राईले कूटनीतिक आचारसंहिताबारे जानकारी गराएका हुन् । विदेशी पदाधिकारीसँग शिष्टाचार भेट, बिदाइ भेट, औपचारिक वार्ता वा बैठक गर्दा परराष्ट्रका प्रतिनिधि राख्न पनि भनिएको छ ।
सकभर तह मिलाएर मात्रै भेट गर्न, निमन्त्रणा गर्नेको र आफ्नो तह विचार गर्न परराष्ट्रले मन्त्रीहरुलाई आग्रह गरेको छ । त्यसरी निमन्त्रणा गरिएका कार्यक्रममा आमन्त्रित अन्य व्यक्तिहरुको स्तर र कार्यक्षेत्रको जानकारी लिन, त्यस्ता कार्यक्रम/समारोहको प्रकृति तथा निमन्त्रणको उद्देश्य राष्ट्रिय हित अनुकूल भए/नभएको बुझेर मात्र कार्यक्रममा सहभागिताको निर्णय लिन परराष्ट्र मन्त्रालयका तर्फबाट सचिव राईले मन्त्रीहरूलाई आग्रह गरेका हुन् । त्यस्ता समारोहमा सरकारका तर्फबाट उच्च तहको प्रतिनिधित्व हुने भएमा अन्य धेरेजना उच्च पदाधिकारी गइरहन नपर्ने भनिएको छ ।
विदेशी पदाधिकारीसँग भएको शिष्टाचार भेट, औपचारिक वार्ता वा बैठकमा भएका कुराकानीका महत्त्वपूर्ण अंशको रेकर्ड राख्नुपर्ने र त्यस्तो टिपोट परराष्ट्र मन्त्रालयमा पठाउन पर्ने भनिएको छ ।
विगतमा प्रधानमन्त्री तथा मन्त्रीहरूबाटै कूटनीतिक आचारसंहिताको पालना नभएकोमा तीव्र आलोचना हुँदै आएको छ । काठमाडौंस्थिति विदेशी राजदूतहरूले मन लागेका बेला प्रधानमन्त्री तथा मन्त्रीहरूलाई भेट्दै आएका थिए । त्यसको जानकारी परराष्ट्र मन्त्रालयलाई नहुने र कतै औपचारिक रेकर्ड पनि नरहने स्थिति थियो । सरकारले कूटनीतिक आचारसंहिता बनाए पनि त्यसको पालना भने भइरहेको थिएन ।
प्रधानमन्त्री कार्यालयमा कूटनीतिक आचारसंहिताबारे गरिएको ब्रिफिङमा अर्थमन्त्री स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनालसहित सबै मन्त्रीहरूको उपस्थिति रहेको थियो ।
