रास्वपा सांसद श्रद्धा कुँवरले प्रतिनिधिसभा बैठकमा भनिन्-'आज सामाजिक सञ्जालमा गाली, धम्की, चरित्रहत्या र साइबर ह्यारेसमेन्ट जस्ता अपराधहरू सामान्य बनेका छन् । हामीले सोचेको नयाँ नेपाल र हामीले चाहेको समाज यहीँ हो ?'
What you should know
काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद श्रद्धा कुँवरले नागरिकलाई अधिकारसँगै कर्तव्य सिकाउने शिक्षा प्रणाली सिकाउनुपर्ने बताएकी छन् ।
प्रतिनिधिसभाको बुधबारको बैठककमा सांसद कुँवरले आधारभूत तहबाटै नागरिकलाई अधिकारसँगै कर्तव्यका कुरा सिकाउने शिक्षाको विकास गर्नुपर्ने बताएकी हुन् । 'किन्डर गार्डेन तहबाट नै सिभिक सेन्सको अभ्यास सुरु गर्नुपर्छ, जुन विकसित देशहरूमा धेरैअघिदेखि लागु भइसकेको छ । अधिकारसँगै कर्तव्य सिकाउने शिक्षा प्रणाली विकास गरियोस्,' सांसद कुँवरले सरकारसँग आग्रह गरिन्, 'अधिकार मात्रै होइन कर्तव्य पनि सिकाइयोस् ।'
सांसद कुँवरले मुलुकले गर्नुपर्ने कामको विषयमा लिनुपर्ने नीति र त्यसको प्रभावबारे अध्ययन हुनुपर्ने बताइन् । नेपालमा भौतिक पूर्वाधार, स्वास्थ्य, शिक्षा, रोजगारी, गुणस्तरीय जीवनका क्षेत्रसँगै नागरिक चेतना र क्षमता अभिबृद्धिमा ध्यान केन्द्रित गर्नुपर्ने उनको भनाइ थियो । 'हामीले नागरिक चेतना र क्षमता अभिबृद्धिमा ध्यान केन्द्रित नगरेको पो हो कि भन्ने प्रश्नले मलाई बारम्बार सताइरहेको छ,' सांसद कुँवरले भनिन्, 'आज हामी संसद्मा आएर नीतिगत तहबाट काम गर्दैगर्दा हामीले बनाएका नीति र अपनाएका रणनीतिहरूले व्यक्तिको जीवनमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा कतिको असर परिरहेको छ भन्ने मापदण्ड के रहेको छ ? नागरिकले अपनत्व लिनुभएको छ भन्ने मापदण्ड के रहेको छ ?'
सांसद र सरकारले बनाएका नीतिप्रति नागरिकलाई जिम्मेवार महशुष गराउन नसकेको हो कि भन्ने आफूलाई लागेको सांसद कुँवरको भनाइ थियो । नीति निर्माता नै जिम्मेवार हुन नसकेको, सोच फराकिलो पार्न नसकेको हो कि भन्ने आफूलाई लागेको उनले बताइन् । 'हामीले ध्यान पुर्याउनुपर्ने विषय भन्दा फरक विषयहरूमा फोकस गर्दा वास्तवमै आवश्यक रहने विषय छायामा परिरहेका छन्,' उनले भनिन्, 'यही चुनावी अभियानमा विभिन्न घरदैलोमा जाँदा नेपाली समाजमा सकरात्मक र रचनात्मक भन्दा आलोचनात्मक चेतना बढिरहेको पाएको छु । आफू जिम्मेवार बन्नुभन्दा अरुलाई बढी प्रश्न गर्ने प्रवृति छ र यो समस्या हामी सबै राजनाीतिकर्मी, नागरिक र सदनमा पनि मैले बारम्बार देखिरहेको छु ।'
नेपालीलाई कुनै पनि कुराको परिणाम तत्काल चाहिने गरेको पनि उनको भनाइ थियो । 'हामीलाई छिटो रिजल्ट चाहिन्छ, हामीलाई ठूलो योजना बनाउनुपर्छ, ठूलो परिवर्तन खोज्छौं तर साना-साना कुराहरू हामीले अनदेखा गरिरहेका हुन्छौं,' सांसद कुँवरले भनिन्, 'फोहोर कहाँ फाल्ने, बाटो कहाँ काट्ने, अरुसँग कस्तो व्यवहार गर्ने, आफ्नो दैनिक आचरण, ध्यान र यी सामान्य नियमहरूको पालना गर्न सकिरहेका छैनौं ।'
सांसद कुँवरले सामाजिक रूपमा देखिएका समस्याहरू डिजिटल प्लाटफर्ममा पनि फैलिन थालेको बताइन् । सामाजिक सञ्जालमा फैलिनसक्ने समस्या समाधान गर्नका लागि नागरिकमा डिजिटल साक्षरता बढाउन माग उनले गरिन् । 'हामी भौतिक अपराध देख्छौं तर त्यहीँ भौतिक अपराधलाई प्रोत्साहन गर्ने साइकोलोजिकल अपराधलाई हामीले बेवास्ता गरिरहेका छौं । आज सामाजिक सञ्जालमा गाली, धम्की, चरित्रहत्या र साइबर ह्यारेसमेन्ट जस्ता अपराध सामान्य बनेका छन् । हामीले सोचेको नयाँ नेपाल र हामीले चाहेको समाज यहीँ हो ? जहाँ प्रत्येक व्यक्तिले चुनौतिसहित भोली के हुन्छ भन्ने डरमा बाँच्न बाध्य रहेको हुन्छ,' उनले भनिन्, 'नेपाल प्रहरीको प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८०/८१ मा साइबर अपराधका उजुरी ११९ प्रतिशतले बढेका छन् । जसमा प्राविधिक र प्रभाव व्यक्तिहरूमा अधिकांश महिला छन् । आज पनि महिलाहरू घर, कार्यालय, यात्रा, विभिन्न ठाउँमा हुँदै गर्दा डिजिटल प्लाटफर्ममा पनि महिलालाई नै आक्रमण भइरहेको छ ।'
सांसद कुँवरले राज्य र नागरिक एकअर्काको परिपूरक भएको बताउँदै राज्यले नागरिकलाई केन्द्रमा राखेर इमानदारपूर्वक काम गर्नपर्ने धारणा राखिन् । 'नागरिक पनि राज्यप्रति उत्तरदायी बन्न सके हामीले चाहेको विकास परिमाणमा मात्रै नभई गुणस्तरमा पनि हुनेछ,' सांसद कुँवरको भनाइ थियो ।
