केन्द्रीय कार्य संयोजन समितिको बैठकमा असोजमै महाधिवेशन गरेर युवालाई नेतृत्वमा ल्याउनुपर्ने नेताहरूको धारणा
What you should know
काठमाडौँ — नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा जारी केन्द्रीय कार्य संयोजन समितिको मंगलबारको बैठकमा नेताहरूले असोजमा पार्टीको महाधिवेशन गर्न माग गरेका छन् । संयोजक पुष्पकमल दाहालले ६ महिनाभित्र महाधिवेशन गर्ने प्रस्ताव गरेपछि नेताहरूले मिति नै तोक्न माग गरेका हुन् । सोमबार बैठकमा बोल्ने अधिकांश नेताले माओवादी, एकीकृत समाजवादीलगायत दुई दर्जन दल र समूहको एकता भए पनि निर्वाचनमा त्यसअनुसारको परिणाम नआएको निष्कर्ष निकाल्दै असोजमा महाधिवेशनमार्फत युवाको नेतृत्व हुने गरी विधि प्रणालीको विकास गर्नुपर्ने धारणा राखेका छन् ।
२१ फागुनमा सम्पन्न निर्वाचनमा नेकपाले प्रत्यक्षतर्फ आठ र समानुपातिकतर्फ नौ सिट जितेको थियो । ४५ सदस्यीय केन्द्रीय कार्य संयोजन समितिको बैठकमा नेकपाको कमजोर नतिजा आउनुमा समयमै पार्टी पुनर्निर्माण र संगठन समायोजन हुन नसक्नु, डिजिटल सुनामीको चपेटामा पर्नु र भूराजनीतिक स्वार्थ जोडिनुलाई कारणका रूपमा औंल्याइएको छ । निर्वाचनमा प्राप्त कमजोर नतिजाबाट शिक्षा लिएर महाधिवेशनबाट नयाँ नेतृत्व र पार्टी पुनर्गठन गर्न बैठकमा बोल्ने अधिकांशले माग गरेको एक नेताले बताए ।
पूर्वअर्थमन्त्री तथा नेता वर्षमान पुनले असोजमा महाधिवेशन गर्नु उपयुक्त हुने धारणा राखेका छन् । महाधिवेशनबाट युवामैत्री प्रणाली विकास गर्नुपर्ने उनको सुझाव थियो । ‘पार्टी पुनर्गठन गरेर गति दिन असोजमा महाधिवेशन गर्नु उपयुक्त हुन्छ । महाधिवेशनबाट विचार, राजनीतिक नेतृत्व पुनर्निर्माण गरौं,’ पुनको भनाइ उद्धृत गर्दै एक नेताले भने, ‘महाधिवेशनबाट युवामैत्री नेतृत्व प्रणालीमा छलफल गरौं । नयाँ ढंगले जान तयार होऊँ । त्यसपछि मात्र पार्टी बनाउन सकिन्छ ।’
नेता पुनले नेकपा पराजय हुनुमा भूराजनीतिक स्वार्थ पनि जोडिएको जिकिर गरे । ‘जेन–जी आन्दोलन युवाहरूको आक्रोश हो । त्यसमा भूराजीतिक स्वार्थहरू पनि जोडियो,’ बैठकमा उनले भने, ‘२३ भदौमा युवाको हत्या गर्ने, दमन गर्ने प्रवृत्ति तथा २४ भदौमा विध्वंस गर्ने प्रवृत्तिको विरोध गर्यौं । तर हामीले चुनावमा आफ्नो पहिचान स्थापित गर्न सकेनौं । अरू पार्टी जस्तै पुरानै हुन् भन्ने भाष्यमा पर्यौं । चुनाव हार्यौं ।’ लक्षित वर्गका लागि राजनीतिक गरेर मात्र नेकपाले अस्तित्व जोगाउन सक्ने पुनले उल्लेख गरे । ‘हामी उत्पीडित जनताको प्रतिनिधित्व गर्छौं । हामीले त्यो वर्गलाई संगठित गर्न सकनौं । जनताको सरोकार बोक्ने विचार भएको पार्टी बनाउनुपर्छ,’ नेता पुनको भनाइ थियो ।
अर्का नेता प्रकाश ज्वालाले पनि महाधिवेशनबाट रूपान्तरण नभई पार्टी पुनर्निर्माण कठिन हुने धारणा राखेका छन् । ‘वडा, पालिका र प्रदेशमा अधिवेशन गरेर असोजमा राष्ट्रिय महाधिवेशन गरौं । नीति, विधि, सिद्धान्त, नेतृत्व, कार्यशैली पुनर्गठन गर्ने काम गरौं,’ उनको भनाइ थियो, ‘समग्रमै पार्टीको पुनर्गठन, शुद्धीकरण, सुदृढीकरण गर्नुपर्यो । विचार, सिद्धान्त नवीकरण र रूपान्तरण गरौं । पार्टीमा युवाहरू अत्यधिक रूपमा भर्ना गरौं । नेतृत्वमा पुग्ने वातावरण बनाऔं ।’
अर्का नेता गंगानारायण श्रेष्ठले निर्वाचनमा हारको उचित समीक्षा गरेर मात्र गन्तव्यमा जान सकिने भएकाले महाधिवेशनले नै मार्गनिर्देशन गर्ने बताए । बैठकमा पुन, ज्वाला, श्रेष्ठलगायत अग्नि सापकोटा, रामचन्द्र झा, राजेन्द्र पाण्डे, गंगालाल तुलाधर, गोपाल किरातीले पनि छिटो महाधिवेशन गरेर मात्र अघि जानुपर्ने धारणा राखेका थिए ।
नेकपाको संयोजकमा पुष्पकमल दाहाल र सहसंयोजक माधवकुमार नेपाल छन् । गत कात्तिकमा माओवादी, एकीकृत समाजवादीलगायत दुई दर्जन घटकको एकता भए पनि संगठनहरूको एकता प्रक्रिया अझ टुंगिएको छैन । दुई हजार पाँच सय जनाको महाधिवेशन आयोजक समिति बने पनि अरू भ्रातृ संगठनको एकता भएको छैन । केन्द्रीय कार्यसंयोजन समितिको गत बिहीबारको बैठकमा दाहालले लिखित रूपमा महाधिवेशनको प्रस्ताव गरेका थिए । ‘अबको छ महिनाभित्र पार्टीको एकता राष्ट्रिय महाधिवेशन सम्पन्न गर्ने’ उनले अघि सारेको प्रस्तावमा उल्लेख छ । तर, सोमबारको बैठकमा बोल्ने अधिकांश नेताले महाधिवेशनको मिति नै तोक्नुपर्ने माग गरेका छन् ।
संयोजक दाहालले नेकपाको हारमा आन्तरिक ११ र बाह्य गरी ६ वटा कारण भएको प्रतिवेदनमा उल्लेख गरेका छन् । दाहालले आफ्नो नेतृत्वको सरकारले भ्रष्टाचार नियन्त्रण र सुशासनका केही काम अगाडि बढाएको भए पनि संसद्का दुई ठूला दल कांग्रेस र एमालेको गठबन्धन सरकार बनेपछि रोकिएको तर्कसमेत गरेका छन् । ‘कांग्रेस–एमाले गठबन्धन सरकारले मिलेर बनाएको करिब दुईतिहाइको सरकारले पनि भ्रष्टाचार नियन्त्रण, सुशासन, सेवा प्रवाह र विकास निर्माणका काम केही नगरेपछि जनता आजित भए,’ प्रतिवेदनमा भनिएको छ, ‘त्यसमाथि पुराना दलले केही गरेनन्, व्यवस्था बदलिए पनि अवस्था बदलिएन, प्रचारले आगोमा घिउ थप्ने काम गर्यो । त्यसको परिणाम चुनावमा देखियो ।’
नेकपाले संगठनात्मक समायोजन नहुनु, निर्वाचनमा स्थानीय कार्यकर्ता परिचालन कमजोर भयो । कतिपय क्षेत्रमा स्थानीय नेतृत्वबीचको आन्तरिक मतभेद, गुटगत गतिविधि र अनुशासनहीनताले पनि निर्वाचनमा असर गरेको दाबी छ । त्यस्तै, विचारधारात्मक काम नहुनु, युवाहरू पार्टीमा आबद्ध नहुनुलाई पनि हारको कारण देखाइएको छ । नेकपाले वाम शक्तिबीच एकता नभएकाले पनि कमजोर परिणाम आएको उल्लेख छ । ‘वाम शक्ति एकताबद्ध नहुनु पनि कम्युनिस्ट पार्टीहरूले चुनाव हार्नुको एउटा कारण हो,’ प्रतिवेदनमा भनिएको छ, ‘एक्लाएक्लै चुनाव लडेका ९ वटा कम्युनिस्ट पार्टीले प्राप्त गरेको समानुपातिक मत ४० लाखभन्दा बढी छ । वाम शक्ति एकताबद्ध भएको भए योभन्दा अझै बढी मत अकर्षित हुन सक्थ्यो ।’
पार्टीभित्रको अवसरवादी प्रवृत्ति र व्यक्ति कार्यशैली, प्राविधिक जनशक्ति र स्रोत साधनको कमी, विकल्पको रूपमा प्रस्तुत हुन नसक्नुलाई पनि दाहालले चुनावको हारका कारण भनेका छन् । दाहालले पनि चुनावमा भूराजनीतिक चलखेलले प्रभाव पारेको दाबी गरेका छन् । ‘हाम्रो देशमा भूराजनीतिक तथा बाह्य शक्तिकेन्द्रको चलखेल बढेर गयो । विभिन्न शक्तिकेन्द्र यहाँ आफ्नो अनुकूल सरकार बनाउन लागिपरे,’ प्रतिवेदनमा भनिएको, ‘त्यसका निम्ति बाह्य शक्ति र स्रोतबाट परिचालित संघसंस्थाहरू परिचालित गरिए । तिनीहरूले यहाँका पुराना राजनीतिक दलहरू, त्यसमा पनि वामपन्थी राजनीतिक दलहरूमाथि प्रहार गर्ने र उनीहरूलाई बदनाम गर्ने काम गरे ।’ संयोजक दाहालको प्रतिवेदनमाथि नेताहरूले धारणा राख्ने क्रम जारी छ ।
