सभामुखको भूमिका निष्पक्ष र तटस्थ भएर निर्वाह गर्ने प्रतिबद्धता
काठमाडौँ — सभामुख डोलप्रसाद अर्यालले संसदलाई निष्क्रियताको थलो नभई कार्यसम्पादनको प्रभावकारी केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड दिएका छन् ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा कार्यसूचीमा प्रवेश गर्नुअघि सम्बोधन गर्दै सभामुख अर्यालले संविधान, लोकतन्त्र र संसदीय पद्धतिको मूल मान्यतालाई व्यवहारमा उतार्दै संसदलाई सुदृढ बनाउनु आजको आवश्यकता भएको बताएका हुन् ।
उनले संसदीय अभ्यासलाई सशक्त बनाउँदै संस्थागत विकास गर्न सबै दल र सदस्यहरूको साझा जिम्मेवारी रहेको उल्लेख गरे । सभामुख अर्यालले नयाँ पुस्ता, विशेषगरी जेन–जी युवा तथा आम नागरिकका मुद्दा सम्बोधन गर्ने जिम्मेवारी सांसदहरूमा रहेको स्पष्ट पारे ।
‘संसद्लाई निष्क्रियता होइन । कार्यसम्पादनको केन्द्र बनाउन आवश्यक छ । नेपालको संविधान, लोकतन्त्र र संसदीय पद्धतिको मूलभूत मान्यतालाई आत्मसात गर्दै त्यसलाई समृद्ध बनाउन संसदीय अभ्यासको आवश्यकता हुन्छ । यस उद्देश्य प्राप्तिको लागि हामी सबैको कर्तव्य हो । जेन–जी युवासँगै आम नागरिकका मुद्दा सम्बोधन गर्न हामी सबै संसद्को यो थलोमा सहभागी भएका छौँ । बहुदलीय व्यवस्थामा जनताको जनमत जाहेर हुने भएकोले सबै सदस्यको समन्वयमा नै संसदको गरिमा र प्रभावकारिता बढ्ने कुरामा दुई मत छैन,’उनले भने ।
सभामुखको भूमिका निष्पक्ष र तटस्थ भएर निर्वाह गर्ने प्रतिबद्धतासमेत उनले व्यक्त गरे ।
