सभामुख अर्यालको सचिवालयमा कुँवर र पाण्डे नियुक्त

प्रमुख स्वकीयमा नियुक्त कुँवर नेपाल सरकारको सहसचिव र स्वकीय सचिवमा नियुक्त पाण्डेले नेपाल सरकारको उपसचिव सरहको सेवा, सुविधा पाउनेछन् ।

चैत्र २३, २०८२

कान्तिपुर संवाददाता

Kunwar and Pandey appointed to Speaker Aryal's secretariat

काठमाडौँ — प्रतिनिधिसभाका सभामुख डीपी अर्यालको सचिवालयमा मुना कुँवर र नवराज पाण्डेलाई नियुक्त गरिएको छ । सभामुख अर्यालले सोमबार आफ्नो प्रमुख स्वकीय सचिवमा कुँवर र स्वकीय सचिवमा पाण्डेलाई नियुक्त गरेका हुन् । 

प्रतिनिधिसभाको आइतबारको बैठकबाट अर्याल सभामुखमा निर्विरोध निर्वाचित भएका थिए । सभामुख निर्वाचित भएलगत्तै उनले आफ्नो सचिवालय गठन गरेका हुन् । 

प्रमुख स्वकीयमा नियुक्त कुँवर नेपाल सरकारको सहसचिव र स्वकीय सचिवमा नियुक्त पाण्डेले नेपाल सरकारको उपसचिव सरहको सेवा, सुविधा पाउनेछन् ।

अर्याल श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री भएका बेला कुँवर प्रेस सयोजकको जिम्मेवारीमा थिइन् । उनी पछिल्लो समय आर्थिकन्यूज डटकमको कार्यकारी सम्पादक थिइन् । मदन भण्डारी कलेजमा आमसंचार तथा पत्रकारिता विषयको अध्यापकसमेत रहेकी कुँवरसँग नयाँ पत्रिका दैनिक, कारोबार दैनिक, एभिन्यूज टिभी, हिमचुली एफएममा काम गरेको अनुभव छ ।  

कुँवरले आमसंचार र पत्रकारितामा एमफील गरेकी छन् भने विकास पत्रकारितामा एमए र कानुनमा स्नातकसम्मको अध्ययन गरेकी छन् । 

त्यस्तै, स्वकीय सचिवमा नियुक्त भएका पाण्डे पछिल्लो समय हिमालय टिभीमा समाचार संयोजक थिए । हिमालय टीभीबाट राजीनामा गरेर उनी सभामुख अर्यालको स्वकीय सचिवमा नियुक्त भएका हुन् । कान्तिपुर टीभी, नेपाल टेलिभिजन, ग्यालेक्सी टीभीमा कार्यक्रम संचालन र रिपोर्टिङ क्षेत्रमा रहेर काम गरेका पाण्डेसँग माउन्टेन टीभीमा सम्पादक भएर काम गरेको अनुभव छ । 

रास्वपा सभापति रवि लामिछाने गृहमन्त्री हुँदा प्रमुख स्वकीय सचिव तथा प्रेस संयोजक भएर काम गरेको अनुभव छ । २०६१ सालयता पत्रकारितामा सक्रिय पाण्डेले राजनीतिशास्त्र र पत्रकारितामा स्नातकोत्तर गरेका छन् ।  

कान्तिपुर

Link copied successfully