पुराना पार्टीमा पुस्तान्तरणको आवाज उठाएका नेताहरूलाई रास्वपाको उदयले कस्तो प्रभाव पार्छ ?

सरकार र संसद्‍मा पुगेका नयाँ पुस्ताका मन्त्री र सांसदहरूको प्रदर्शनले पनि परम्परागत दलका मध्यम तहका नेताहरूको भविष्य निर्धारणमा ठूलो भूमिका खेल्नेछ ।

चैत्र २४, २०८२

पुरुषोत्तम पौडेल

How will the rise of the Rashtriya Swayamsevak Sangh (RSS) affect leaders who have raised the voice of generational change in old parties?

What you should know

काठमाडौँ — जेन-जी आन्दोनलपछि बदलिँदो परिस्थितिमा २१ फागुनमा निर्वाचन सम्पन्न भयो । यसको नतिजाले लामो समयदेखि चलिरहेको पुस्तान्तरणको बहसलाई सार्थक बनाउँदै ठूलो संख्याका युवायुवतीलाई सत्तामा पुर्‍यायो ।

२१ फागुनको मतले स्थापित राजनीतिक पार्टीहरूको प्रभूत्वलाई मात्रै कमजोर बनाएन 'नेतृत्वको उमेर'लाई पनि उल्ट्याइदियो । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको नयाँ मन्त्रीपरिषद्का १५ सदस्यमध्ये १० जना ४० वर्षमुनिका छन् । शाह आफैं ३६ वर्षका हुन् । नयाँ संसद्‍मा पनि युवाको उल्लेख्य उपस्थिति छ । 

यसअघि स्थापित पार्टीमा पुस्तान्तरणको माग गर्दै आएका नेताहरू भने रास्वपाका आफुभन्दा पनि युवा सांसद्हरूको छायामा परेका छन् । रास्वपाले २७५ सदस्यीय तल्लो सदनमा १८२ सिट जितेको छ । यस सदनमा झन्डै ७० जना सांसद युवा छन् । 

कुनै समय पार्टीभित्रै नेतृत्व परिवर्तनको माग गरेका नेताहरू भने यो रुपान्तरणलाई स्वीकार्न गाह्रो मानिरहेका छन् । ‘राजनीतिलाई पुस्ताले कम र दृष्टिकोणले धेरै परिभाषित गर्छ । त्यही कारण राजनीतिमा भएको यो पुस्तान्तरणले देश बदल्न सक्ने योजना भएका मध्यम उमेरका नेताहरूको सम्भावनामा कुनै कमी ल्याउँदैन,’ एमालेका नेता कर्ण मल्लले भने । उनले पार्टीभित्र पुस्तान्तरणको आवाज निरन्तर बढाउँदै आएका थिए । 

कांग्रेसका नेता शंकर तिवारीका अनुसार राष्ट्रिय राजनीतिमा आफुभन्दा कान्छा पुस्ताको उदयले पार्टीभित्र लामो समयदेखि पुस्तान्तरणको आवाज उठाउँदै आएका नेताहरूलाई चुनौती खडा गरेको छ । परम्परागत दलका धेरै नेताहरू पार्टीको शीर्ष तह र राष्ट्रिय राजनीतिमा महत्वपूर्ण भूमिकामा उक्लदैं थिए । स्थापित दलहरूलाई किनारामा पुर्‍याउँदै आएको रास्वपाको चुनावी उदयपछि त्यो बाटो निकै अनिश्चित बनेको छ । 

‘अब ती नेताहरूले आफूभन्दा अझ कान्छा व्यक्तिका लागि आफ्नै पार्टीभित्र ठाउँ बनाउन तयार हुन्छन् कि हुँदैनन् भन्ने प्रश्न छ,’ तिवारीले भने, ‘आफुभन्दा कान्छो पुस्तालाई कसरी साथ दिन्छन् र समेट्छन्, अन्ततः यही कुराले उनीहरूको राजनीतिक भविष्य तय गर्नेछ ।’

उनका अनुसार अहिले सरकार र संसद्‍मा पुगेका नयाँ पुस्ताका मन्त्री र सांसदहरूको प्रदर्शनले पनि परम्परागत दलका मध्यम तहका नेताहरूको भविष्य निर्धारणमा ठूलो भूमिका खेल्नेछ । ‘यदि सत्तामा पुगेको नयाँ पुस्ताले जनअपेक्षा पूरा गर्न सके, भने परम्परागत दलभित्र नेतृत्व परिवर्तनको माग अझ चर्किन सक्छ,’ उनले भने । 

कांग्रेस र एमालेजस्ता स्थापित पार्टीका लागि अहिलेको राजनीतिक विकासले प्रश्न खडा गरेको छ । यही पार्टीका मध्यमस्तरका (शीर्ष नेताभन्दा तल र आम कार्यकर्ताभन्दा माथि) नेताले वषौंदेखि पार्टीभित्र नेतृत्व परिवर्तनको बहस गरेका थिए । 

उमेर नै हेर्ने हो भने रास्वपाका अध्यक्ष रवि लामिछाने र अर्का वरिष्ठ नेता अर्थमन्त्री स्वर्णिम वाग्ले दुवै कांग्रेस सभापति गगन थापाभन्दा जेठा छन् । त्यहीकारण राजनीतिक रुपान्तरणलाई उमेरकै दृष्टिले मात्रै मूल्यांकन गर्नु गलत हुन्छ । नयाँ मन्त्री वा सांसद चुनावमार्फत उदय हुनुको अर्थ स्थापित पार्टीका दोस्रो र तेस्रो तहका नेताको सान्दर्भिकतामा प्रश्न उठ्नु होइन । -युवराज चौलागाई, नेता, नेकपा अहिले उनीहरूभन्दा कान्छा नेता रास्वपाबाट राष्ट्रिय राजनीतिमा आएपछि परम्परागत पार्टीमा रहेर रुपान्तरणको बहस गर्नेहरूको भविष्य अनिश्चित भएजस्तो देखिन्छ । तर, २८ वर्षका युवा नेता बब्लु गुप्ता सांसद् वा सरकारमा कुनै एक पुस्ताका नेताको उदयले अन्य नेतालाई फरक नपर्ने बताउँछन् । उनी भन्छन्, ‘आगामी दिनमा नयाँ सांसदले आफुलाई कसरी विकास गर्छन् ? उनीहरूले पार्टीभित्र र सरकारको नेतृत्वमा कस्तो समर्थन पाउँछन् भन्ने विषय भने अर्थपूर्ण छ ।’

राजनीतिक विश्लेषक गेजा शर्मा वाग्लेले पार्टीहरूमा पुस्तान्तरणको बहस चलाउने नेताहरू अझै सान्दर्भिक रहेको बताए । ‘नेपालको राजनीतिमा लामो समयदेखि पुस्तान्तरणको कुरा भयो । तर, यस्तो पुस्तान्तरण वैचारिक स्पष्टता र दूरदर्शी नेतृत्वमार्फत हासिल गर्न सकिन्छ भन्ने महत्वपूर्ण आयामलाई नजरअन्दाज गरियो,’ उनले भने, ‘नतिजा, समाजमा पुस्तान्तरणको अर्थ जो कोही नयाँ आउँदा हुन्छ भन्ने दृष्टिकोण बन्यो । अहिले पनि नेतृत्वमा रुपान्तरण चाहने नेताहरूका लागि ठाउँ छ । विशेषगरी त्यस्ता नेता जसले वैचारिक स्पष्टता र दूरदर्शी नेतृत्व क्षमता प्रदर्शन गर्न सक्छन् । ’

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का युवराज चौलागाई पुस्तान्तरणको बहसलाई उमेरमा मात्रै सिमित गर्न नमिल्ने बताउँछन् । ‘उमेर नै हेर्ने हो भने रास्वपाका अध्यक्ष रवि लामिछाने र अर्का वरिष्ठ नेता अर्थमन्त्री स्वर्णिम वाग्ले दुबै कांग्रेस सभापति गगन थापाभन्दा जेठा छन् । त्यहीकारण राजनीतिक रुपान्तरणलाई उमेरकै दृष्टिले मात्रै मूल्यांकन गर्नु गलत हुन्छ,’ उनले भने, ‘नयाँ मन्त्री वा सांसद चुनावमार्फत उदय हुनुको अर्थ स्थापित पार्टीका दोस्रो र तेस्रो तहका नेताको सान्दर्भिकतामा प्रश्न उठ्नु होइन,’ उनले भने । 

बदलिँदो राजनीतिक परिवेशमा परम्परागत दलभित्रका युवा नेताहरूले पार्टी रुपान्तरणमा अझ ठूलो पहल लिनुपर्ने उनले बताए । यद्यपि, पार्टी संरचनाको तल्लो तहमा रहेका कार्यकर्ताहरूले तत्कालै नेतृत्वको भूमिकामा दाबी गर्न सक्ने सम्भावना कमै रहेको पनि स्विकारे । 

मुख्य दलहरूमध्ये कांग्रेसले जेन-जी आन्दोलनपछि विशेष महाधिवेशनमार्फत नयाँ कार्यसमिति गठन गर्‍यो । अहिले गगन थापाले यस पार्टी हाँकिरहेका छन् । तर, एमाले र नेकपा जस्ता दलमा भने अझै पनि पुरानै नेतृत्व छ । 

उमेर समूहको हेरफेरभन्दा पनि नेपाललाई सही र व्यवहारिक राजनीति चाहिएको एमाले नेता मल्लको भनाइ छ । उनी पार्टी नेतृत्व सही दिशामा हुँदा आफुहरू सधैं नेतृत्वको पक्षमा लागेको र गलत बाटोमा लाग्न खोज्दा रुपान्तरणको प्रश्न उठाएको बताउँछन् । 

पुरुषोत्तम पुरुषोत्तम काठमाडौं पोस्टका संवाददाता हुन् ।

Link copied successfully