सरकार र संसद्मा पुगेका नयाँ पुस्ताका मन्त्री र सांसदहरूको प्रदर्शनले पनि परम्परागत दलका मध्यम तहका नेताहरूको भविष्य निर्धारणमा ठूलो भूमिका खेल्नेछ ।
What you should know
काठमाडौँ — जेन-जी आन्दोनलपछि बदलिँदो परिस्थितिमा २१ फागुनमा निर्वाचन सम्पन्न भयो । यसको नतिजाले लामो समयदेखि चलिरहेको पुस्तान्तरणको बहसलाई सार्थक बनाउँदै ठूलो संख्याका युवायुवतीलाई सत्तामा पुर्यायो ।
२१ फागुनको मतले स्थापित राजनीतिक पार्टीहरूको प्रभूत्वलाई मात्रै कमजोर बनाएन 'नेतृत्वको उमेर'लाई पनि उल्ट्याइदियो । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको नयाँ मन्त्रीपरिषद्का १५ सदस्यमध्ये १० जना ४० वर्षमुनिका छन् । शाह आफैं ३६ वर्षका हुन् । नयाँ संसद्मा पनि युवाको उल्लेख्य उपस्थिति छ ।
यसअघि स्थापित पार्टीमा पुस्तान्तरणको माग गर्दै आएका नेताहरू भने रास्वपाका आफुभन्दा पनि युवा सांसद्हरूको छायामा परेका छन् । रास्वपाले २७५ सदस्यीय तल्लो सदनमा १८२ सिट जितेको छ । यस सदनमा झन्डै ७० जना सांसद युवा छन् ।
कुनै समय पार्टीभित्रै नेतृत्व परिवर्तनको माग गरेका नेताहरू भने यो रुपान्तरणलाई स्वीकार्न गाह्रो मानिरहेका छन् । ‘राजनीतिलाई पुस्ताले कम र दृष्टिकोणले धेरै परिभाषित गर्छ । त्यही कारण राजनीतिमा भएको यो पुस्तान्तरणले देश बदल्न सक्ने योजना भएका मध्यम उमेरका नेताहरूको सम्भावनामा कुनै कमी ल्याउँदैन,’ एमालेका नेता कर्ण मल्लले भने । उनले पार्टीभित्र पुस्तान्तरणको आवाज निरन्तर बढाउँदै आएका थिए ।
कांग्रेसका नेता शंकर तिवारीका अनुसार राष्ट्रिय राजनीतिमा आफुभन्दा कान्छा पुस्ताको उदयले पार्टीभित्र लामो समयदेखि पुस्तान्तरणको आवाज उठाउँदै आएका नेताहरूलाई चुनौती खडा गरेको छ । परम्परागत दलका धेरै नेताहरू पार्टीको शीर्ष तह र राष्ट्रिय राजनीतिमा महत्वपूर्ण भूमिकामा उक्लदैं थिए । स्थापित दलहरूलाई किनारामा पुर्याउँदै आएको रास्वपाको चुनावी उदयपछि त्यो बाटो निकै अनिश्चित बनेको छ ।
‘अब ती नेताहरूले आफूभन्दा अझ कान्छा व्यक्तिका लागि आफ्नै पार्टीभित्र ठाउँ बनाउन तयार हुन्छन् कि हुँदैनन् भन्ने प्रश्न छ,’ तिवारीले भने, ‘आफुभन्दा कान्छो पुस्तालाई कसरी साथ दिन्छन् र समेट्छन्, अन्ततः यही कुराले उनीहरूको राजनीतिक भविष्य तय गर्नेछ ।’
उनका अनुसार अहिले सरकार र संसद्मा पुगेका नयाँ पुस्ताका मन्त्री र सांसदहरूको प्रदर्शनले पनि परम्परागत दलका मध्यम तहका नेताहरूको भविष्य निर्धारणमा ठूलो भूमिका खेल्नेछ । ‘यदि सत्तामा पुगेको नयाँ पुस्ताले जनअपेक्षा पूरा गर्न सके, भने परम्परागत दलभित्र नेतृत्व परिवर्तनको माग अझ चर्किन सक्छ,’ उनले भने ।
कांग्रेस र एमालेजस्ता स्थापित पार्टीका लागि अहिलेको राजनीतिक विकासले प्रश्न खडा गरेको छ । यही पार्टीका मध्यमस्तरका (शीर्ष नेताभन्दा तल र आम कार्यकर्ताभन्दा माथि) नेताले वषौंदेखि पार्टीभित्र नेतृत्व परिवर्तनको बहस गरेका थिए ।
उमेर नै हेर्ने हो भने रास्वपाका अध्यक्ष रवि लामिछाने र अर्का वरिष्ठ नेता अर्थमन्त्री स्वर्णिम वाग्ले दुवै कांग्रेस सभापति गगन थापाभन्दा जेठा छन् । त्यहीकारण राजनीतिक रुपान्तरणलाई उमेरकै दृष्टिले मात्रै मूल्यांकन गर्नु गलत हुन्छ । नयाँ मन्त्री वा सांसद चुनावमार्फत उदय हुनुको अर्थ स्थापित पार्टीका दोस्रो र तेस्रो तहका नेताको सान्दर्भिकतामा प्रश्न उठ्नु होइन । -युवराज चौलागाई, नेता, नेकपा अहिले उनीहरूभन्दा कान्छा नेता रास्वपाबाट राष्ट्रिय राजनीतिमा आएपछि परम्परागत पार्टीमा रहेर रुपान्तरणको बहस गर्नेहरूको भविष्य अनिश्चित भएजस्तो देखिन्छ । तर, २८ वर्षका युवा नेता बब्लु गुप्ता सांसद् वा सरकारमा कुनै एक पुस्ताका नेताको उदयले अन्य नेतालाई फरक नपर्ने बताउँछन् । उनी भन्छन्, ‘आगामी दिनमा नयाँ सांसदले आफुलाई कसरी विकास गर्छन् ? उनीहरूले पार्टीभित्र र सरकारको नेतृत्वमा कस्तो समर्थन पाउँछन् भन्ने विषय भने अर्थपूर्ण छ ।’
राजनीतिक विश्लेषक गेजा शर्मा वाग्लेले पार्टीहरूमा पुस्तान्तरणको बहस चलाउने नेताहरू अझै सान्दर्भिक रहेको बताए । ‘नेपालको राजनीतिमा लामो समयदेखि पुस्तान्तरणको कुरा भयो । तर, यस्तो पुस्तान्तरण वैचारिक स्पष्टता र दूरदर्शी नेतृत्वमार्फत हासिल गर्न सकिन्छ भन्ने महत्वपूर्ण आयामलाई नजरअन्दाज गरियो,’ उनले भने, ‘नतिजा, समाजमा पुस्तान्तरणको अर्थ जो कोही नयाँ आउँदा हुन्छ भन्ने दृष्टिकोण बन्यो । अहिले पनि नेतृत्वमा रुपान्तरण चाहने नेताहरूका लागि ठाउँ छ । विशेषगरी त्यस्ता नेता जसले वैचारिक स्पष्टता र दूरदर्शी नेतृत्व क्षमता प्रदर्शन गर्न सक्छन् । ’
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का युवराज चौलागाई पुस्तान्तरणको बहसलाई उमेरमा मात्रै सिमित गर्न नमिल्ने बताउँछन् । ‘उमेर नै हेर्ने हो भने रास्वपाका अध्यक्ष रवि लामिछाने र अर्का वरिष्ठ नेता अर्थमन्त्री स्वर्णिम वाग्ले दुबै कांग्रेस सभापति गगन थापाभन्दा जेठा छन् । त्यहीकारण राजनीतिक रुपान्तरणलाई उमेरकै दृष्टिले मात्रै मूल्यांकन गर्नु गलत हुन्छ,’ उनले भने, ‘नयाँ मन्त्री वा सांसद चुनावमार्फत उदय हुनुको अर्थ स्थापित पार्टीका दोस्रो र तेस्रो तहका नेताको सान्दर्भिकतामा प्रश्न उठ्नु होइन,’ उनले भने ।
बदलिँदो राजनीतिक परिवेशमा परम्परागत दलभित्रका युवा नेताहरूले पार्टी रुपान्तरणमा अझ ठूलो पहल लिनुपर्ने उनले बताए । यद्यपि, पार्टी संरचनाको तल्लो तहमा रहेका कार्यकर्ताहरूले तत्कालै नेतृत्वको भूमिकामा दाबी गर्न सक्ने सम्भावना कमै रहेको पनि स्विकारे ।
मुख्य दलहरूमध्ये कांग्रेसले जेन-जी आन्दोलनपछि विशेष महाधिवेशनमार्फत नयाँ कार्यसमिति गठन गर्यो । अहिले गगन थापाले यस पार्टी हाँकिरहेका छन् । तर, एमाले र नेकपा जस्ता दलमा भने अझै पनि पुरानै नेतृत्व छ ।
उमेर समूहको हेरफेरभन्दा पनि नेपाललाई सही र व्यवहारिक राजनीति चाहिएको एमाले नेता मल्लको भनाइ छ । उनी पार्टी नेतृत्व सही दिशामा हुँदा आफुहरू सधैं नेतृत्वको पक्षमा लागेको र गलत बाटोमा लाग्न खोज्दा रुपान्तरणको प्रश्न उठाएको बताउँछन् ।
