कांग्रेसको ‘जरा अभियान’ के हो ?

आगामी १ बैशाखदेखि एक महिनासम्म सञ्चालन हुने ‘जरा अभियान’अन्तर्गत क्रियाशील सदस्यता अद्यावधिक, नयाँ सदस्यता वितरण, सांगठनिक गतिविधि तथा नागरिक संवाद कार्यक्रम हुनेछन् ।

चैत्र २२, २०८२

कुलचन्द्र न्यौपाने

What is Congress's 'Zara Campaign'?

What you should know

काठमाडौं — कांग्रेसले औपचारिक रूपमा पार्टीको १५औं महाधिवेशन प्रक्रिया सुरु गरेको छ । महाधिवेशनको तयारीसँगै संगठनलाई सुदृढ, सशक्त र प्रभावकारी बनाउने उद्देश्यले पार्टीले ‘एक महिने जरा अभियान’ सञ्चालन गर्ने भएको छ । अभियानका लागि ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाइएको छ ।

आगामी २०८३ वैशाख १ गतेदेखि एक महिनासम्म सञ्चालन हुने ‘जरा अभियान’अन्तर्गत क्रियाशील सदस्यता अद्यावधिक, नयाँ सदस्यता वितरण, सांगठनिक गतिविधि तथा नागरिक संवाद कार्यक्रम सञ्चालन गरिनेछ ।

महामन्त्री प्रदीप पौडेलका अनुसार अभियानको मूल उद्देश्य पार्टीको क्रियाशील सदस्यता प्रणालीलाई व्यवस्थित र वैज्ञानिक बनाउनु हो । यससँगै संगठन सुदृढीकरणलाई पनि अभियानसँग जोडिने छ ।

गत २७ देखि ३० पुससम्म काठमाडौंको भृकुटीमण्डपमा सम्पन्न विशेष महाधिवेशनले स्थानीय, प्रदेश र संघीय संसदका उम्मेदवार छनोट प्राइमरी निर्वाचनमार्फत गर्ने नीति पारित गरेको थियो ।

सोही निर्णय कार्यान्वयनका लागि पहिचान खुल्ने गरी सम्पूर्ण सदस्यताको पुनः अद्यावधिक गर्ने अभियान वैशाखभर सञ्चालन गरिने भएको हो । यसअघि रहेका सदस्यता नवीकरण प्रक्रिया खारेज गरी केन्द्रीय कार्यसमितिले नयाँ प्रणालीमार्फत अद्यावधिक गर्न लागेको हो ।

के हो जरा अभियान ?

कांग्रेसले सार्वजनिक गरेको कार्यतालिकाअनुसार २१ चैतदेखि मसान्तसम्म क्रियाशील सदस्यता वडा तहसम्म पुर्‍याउने र प्रतिनिधि तोक्ने काम भइसकेको छ । सोहीअनुसार शनिबार ७७ जिल्लाका प्रतिनिधि तोकिएको र उनीहरूको कार्यक्षेत्र निर्धारण गर्दै निर्देशिका तयार पारिएको महामन्त्री पौडेलले बताए । प्रतिनिधिहरू जिल्ला जाने क्रम सुरु भइसकेको छ ।

उनका अनुसार १ वैशाखदेखि मसान्तसम्म क्रियाशील सदस्यता अभियान सञ्चालन हुनेछ । जिल्लामा खटिएका केन्द्रीय प्रतिनिधिलाई सदस्यता अद्यावधिकको प्राविधिक प्रक्रियाबारे प्रशिक्षण दिइएको छ । केन्द्र र स्थानीय तहबाट अतिरिक्त प्राविधिक टोलीसमेत परिचालन गरिनेछ ।

एक महिनासम्म सञ्चालन हुने यस अभियानलाई कांग्रेसले ‘जरा अभियान’ नाम दिएको छ । पौडेलका अनुसार यसको अर्थ पार्टीलाई पुनः आधार तहसम्म पुर्‍याउने अभियान हो ।

‘जरा भनेको रुखको आधार हो । अब जरामै गएर पानी र मल हाल्नुपर्छ । केन्द्र र सदरमुकामबाट गाउँ र टोलसम्म पुग्नुपर्छ भन्ने यसको मर्म हो,’ उनले भने, ‘सदस्यता अद्यावधिक गर्न पनि सदस्यता लिएको स्थानमा जानुपर्छ, अन्यथा अद्यावधिक हुँदैन ।’

कांग्रेसका हाल ८ लाख ६३ हजार क्रियाशील सदस्य छन् । तीमध्ये करिब एक लाख सदस्यको फोन नम्बर अभिलेखमा छैन भने धेरै नम्बर गलत वा दोहोरिएका छन् । अब अद्यावधिकका क्रममा सम्बन्धित स्थानमै पुगेर फोटो खिच्नुपर्ने र मोबाइल नम्बर अनिवार्य राखिएको छ ।

यस व्यवस्थाअनुसार पूर्वसभापति शेरबहादुर देउवाले सदस्यता अद्यावधिक गर्न डडेलधुरा नै जानुपर्नेछ । नेता शेखर कोइरालाले मोरङ र सभापति गगनकुमार थापाले आफ्नो निर्वाचन क्षेत्र काठमाडौंमै प्रक्रिया पूरा गर्नुपर्ने व्यवस्था गरिएको छ ।

अद्यावधिक प्रक्रियामा बैंकिङ प्रणालीजस्तै ‘ओटीपी’ को व्यवस्था गरिएको छ । ओटीपी प्रमाणीकरणपछि मात्रै सदस्यताको डिजिटल आईडी मोबाइलमा प्राप्त हुनेछ । चाहनेले केन्द्रीय कार्यालयबाट भौतिक कार्ड पनि लिन सक्नेछन् ।

कांग्रेसले आधुनिक सदस्यता प्रणाली आगामी निर्वाचनमा उम्मेदवार छनोटका लागि गरिने प्राइमरी निर्वाचनलाई लक्षित गरेर विकास गर्न लागेको जनाएको छ ।

‘अहिलेसम्म सदस्यता प्रणाली व्यक्तिकेन्द्रित भयो, संस्थाकै पक्षमा उभिने संरचना बन्न सकेन,’ पौडेलले भने, ‘धेरै सदस्यले सार्वजनिक रूपमा आफू कांग्रेस सदस्य भएको पहिचानसमेत खुलाएका छैनन् । त्यसैले सार्वजनिक पहिचानसहित सक्रिय सदस्यता प्रणाली बनाउन खोजेका हौं ।’

उनका अनुसार साढे ८ लाख सदस्यतामध्ये करिब ५० हजारको फोटोसमेत अभिलेखमा छैन । अब डिजिटल अभिलेखसहित सदस्यता अद्यावधिक गरिने भएकाले सदस्यता वितरण र नवीकरणमा विवादको सम्भावना कम हुने विश्वास पार्टीको छ ।

नयाँ व्यवस्थाअनुसार सदस्यता आईडी नलिनेले महाधिवेशनमा सहभागी हुन पाउने छैनन् । ‘अद्यावधिक गर्न चाहने सबैलाई अवसर हुन्छ । तर, व्यक्ति आफैं सक्रिय नभए सदस्यता स्वतः निष्क्रिय हुन्छ,’ पौडेलले भने, ‘सदस्य संख्या घटे पनि सक्रिय र पहिचान खुल्ने सदस्यता चाहिएको हो ।’

अभियान अवधिका नयाँ सदस्यता पनि वितरण

अभियान अवधिमा पुरानो सदस्यताको अद्यावधिकसँगै नयाँ सदस्यता वितरण पनि हुनेछ । नयाँ सदस्यता वडा र क्षेत्रीय कार्यसमितिले वितरण गर्नेछन् भने पुरानो सदस्यता अद्यावधिकको जिम्मा जिल्लालाई दिइएको छ । केन्द्रबाट खटिएका प्रतिनिधिले सहजीकरण गर्नेछन् ।

अभियानका क्रममा निर्वाचन समीक्षा, नागरिक तहसँग संवाद, भ्रातृ संस्थाको अवस्था अध्ययन, स्थानीय जनप्रतिनिधिसँग अन्तरक्रिया तथा आगामी बजेट निर्माणमा पार्टीको भूमिकाबारे छलफलसमेत गरिनेछ ।

पार्टी संगठनलाई आधार तहसम्म पुनः सक्रिय बनाउने लक्ष्यसहित सञ्चालन गरिने यही कार्यक्रमलाई कांग्रेसले ‘जरा अभियान’ नाम दिएको हो ।

कुलचन्द्र उनी कान्तिपुरका राजनीतिक संवाददाता हुन् । उनी संसदिय मामिला र दलहरुको भूमिकाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully