थापाको अभिव्यक्ति पार्टीको नीति र मान्यता विपरीत: एमाले उपाध्यक्ष पौडेल

एमाले उपाध्यक्ष विष्णु पौडेलले भनेका छन्- भोलि हुने नेकपा एमालेको केन्द्रीय सचिवालय बैठकमा गम्भीरतापूर्वक छलफल हुने र उचित निर्णय हुने अपेक्षा गरेको छु ।

चैत्र १९, २०८२

कान्तिपुर संवाददाता

Thapa's statement goes against party's policy and beliefs: UML Vice President Poudel

काठमाडौं — एमाले उपाध्यक्ष विष्णु पौडेलले संसदीय दलका नेता रामबहादुर थापाले आज संसद्को बैठकमा राखेको धारणा पार्टीको स्थापित नीति र मान्यता विपरित भएको बताएका छन् ।

थापाले बिहीबार संसद्को बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी विजयी हुनुलाई 'विभिन्न शक्तिको चलखेल' भन्ने आरोप लगाएका थिए । उनको यो भनाइप्रति पौडेलले आपत्ति जनाएका हुन् ।

‘प्रतिनिधिसभाको आजको बैठकमा नेकपा एमाले दल नेताको हैसयितले रामबहादुर थापाले व्यक्त गर्नुभएको विचार पार्टीका स्थापति नीति र मान्यता विपरीत छन्,’ पौडलले फेसबुक पेजमा लेखेका छन्, ‘यस सम्बन्धमा भोलि हुने नेकपा एमालेको केन्द्रीय सचिवालयको बैठकमा गम्भीरतापूर्वक छलफल हुने र उचित निर्णय हुने अपेक्षा गरेको छु ।’

संसद्‍मा थापाले रास्वपाको विजयमा नेपाली सेनासहित विभिन्न 'दृश्य-अदृश्य’ शक्तिको निर्णायक भूमिका रहेको आरोप लगाएका थिए । 

प्रतिनिधिसभाको आजको बैठकमा उनले मुख्यतः सेना, ब्युरोक्रेसी, सुशीला सरकार, कार्की आयोग, बारबार फाउन्डेनजस्ता संस्था र पात्रको निर्णायक भूमिका रहेको आरोप लगाएका थिए । 'यो जादूमय विजयमा ककसले निर्णायक भूमिका निर्वाह गरे असंख्य तथ्यले स्पष्ट पार्छन्,’ उनले भने, 'अदृश्य शक्तिहरू टीओबी, एआई, अल्गोरिदम, गोयबल्सहरू जसले राष्ट्रियता, लोकतन्त्र, गणतन्त्र, संघीयता, शान्ति र समृद्धिका नायकहरूलाई खुँखार खलनायक र हत्याराका रूपमा स्थापित गरे । देश जलाउने र आफ्नो राष्ट्रिय पहिचान मेटाउने खलपात्रलाई महानायक बनाए ।’

कान्तिपुर

Link copied successfully