०८० चैत २८ गते उपाध्यक्षमा निर्वाचित राष्ट्रिय सभा सदस्य विमला घिमिरेको पदावधि गत फागुन २० मा सकिएपछि उक्त पदमा निर्वाचन हुन लागेको हो ।
काठमाडौँ — राष्ट्रिय सभाको उपाध्यक्ष पदको निर्वाचन चैत २३ गते सोमबार हुने भएको छ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले बिहीबारको बैठकमा निर्वाचनको मिति तोकेका हुन् ।
अध्यक्ष दाहालले राष्ट्रिय सभा नियमावली, २०७५ को नियम ८ बमोजिम उपाध्यक्ष पदको निर्वाचनका लागि चैत २३ गतेको दिन तय गरिएको जानकारी दिए । उनले सङ्घीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेलाई निर्वाचन कार्यक्रम सम्बन्धी सूचना प्रकाशित गर्न निर्देशन समेत दिएका थिए ।
०८० चैत २८ गते उपाध्यक्षमा निर्वाचित राष्ट्रिय सभा सदस्य विमला घिमिरेको पदावधि गत फागुन २० मा सकिएपछि उक्त पदमा निर्वाचन हुन लागेको हो ।
यस्तै, राष्ट्रिय सभाका विषयगत समितिका रिक्त सभापतिहरूको निर्वाचनका लागि चैत २४ गते मंगलबारको मिति तोकिएको छ । नियमावलीको नियम १५० बमोजिम रिक्त सभापतिहरूको निर्वाचनका लागि अध्यक्ष दाहालले राष्ट्रिय सभाका सचिव तुलबहादुर पाण्डेलाई निर्वाचन कार्यक्रमको सूचना प्रकाशित गर्न निर्देशन दिएका छन् । राष्ट्रिय सभाको अर्को बैठक २०८२ साल चैत्र २२ गते आइतबार अपराह्न १२ बजेर १५ मिनेटमा बस्ने गरी स्थगित भएको छ ।
