अर्जुननरसिंह केसी र पद्‍मा अर्याललाई सांसदको हैसियतले काम गर्न नदिन माग गर्दै सर्वोच्चमा रिट 

रिटमा केसी र अर्याललाई सांसदको हैसियतमा कुनै पनि काम गर्न नदिनु भनि रोक्न अन्तरिम आदेश माग गरिएको छ ।

चैत्र १८, २०८२

कान्तिपुर संवाददाता

Writ petition filed in Supreme Court demanding that Arjun Narsingh KC and Padma Aryal not be allowed to work as MPs

What you should know

काठमाडौं — प्रतिनिधिसभाको जेष्ठ सदस्य एवं कांग्रेसका सांसद अर्जुननरसिंह केसी र एमालेकी सांसद पद्‌मा अर्यालविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । 

सामाजिक न्यायका अभियन्ता खजान्ती महत्तोले उनीहरूलाई सांसद बनाउने निर्णय बदर हुनुपर्ने दाबी गर्दै १७ चैतमा रिट दायर गरेका हुन् । उक्त रिट बुधबार सुनुवाईका लागि पेसी तोकिएको छ । रिट निवेदक महत्तोले केसी र अर्यालको नियुक्तीबाट संविधानको उल्लंघन साथै सर्वोच्च अदालतका फैसलाहरू विपरित भएको दाबी गरिएको छ । 

उनीहरू पटकपटक अवसर पाएको र विगतमा पनि राज्यशक्तिको उपभोग गरेका व्यक्तिहरू भएकाे रिटमा उल्लेख छ । यस्ता व्यक्तिहरू समानुपातिक प्रणालीबाट नियुक्त भएकाले बदर हुनुपर्ने जिकीर रिटमा छ। 

उनीहरूलाई सांसद बनाउनु भनेको संविधानको धारा ४२ को व्यवस्थाविपरित हुने दाबी समेत गरिएको छ । 

यसअघि सर्वोच्च अदालतबाट बालकृष्ण न्यौपानेविरुद्ध संघीय संसद्, गणेश पञ्जियारविरुद्ध चिकित्सा शिक्षा आयोग र खजान्ती महत्तोविरुद्ध नेपाल सरकारसमेतको मुद्दामा गरिएको व्याख्याविपरित उनीहरूलाई प्रमुख २ राजनीतिक दल कांग्रेस र एमालेले सांसद बनाएको दावी रिटमा छ ।

न्यौपानेको मुद्दामा संवैधानिक इजलासले एकपटक अवसर पाएकाहरूलाई समानुपातिक प्रमाणीमार्फत पुन: अवसर नदिन र त्यसका लागि कानुन नै निर्माण गर्न भनेको थियो । पञ्जियारको मुद्दामा 'तरमारा' वर्गको व्याख्या गर्दै पटकपटक एउटै र पहुँचमा हुन सक्नेले अवसर पाउन नहुने भनिएको थियो ।

महत्तोको रिटमा समाजिक न्यायसम्वन्धी हक कार्यान्वयन गरी समानुपातिक प्रतिनिधित्वमा पिँधमा रहेका वर्गलाई अवसर दिन भनिएको थियो । त्यस्तै, रिटमा संविधानको धारा ४२ मा आर्थिक, सामाजिक वा शैक्षिक दृष्टिले पछाडि परेका समानुपातिक समावेशी नीतिका आधारमा राज्यको निकायमा सहभागिताको हक हुने छ भनिएको तर सांसद बनाउँदा पटकपटक लाभ लिएका र यसअघि नै मन्त्री र सांसद भएकाहरूलाई बनाएको दाबी रिटमा गरिएको छ । 

रिटमा केसी र अर्याललाई सांसदको हैसियतमा कुनै पनि काम गर्न नदिनु भनि रोक्न अन्तरिम आदेश माग गरिएको छ । रिटमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, संघीय संसद, निर्वाचन आयोग, कांग्रेस, एमाले, केसी र अर्याललाई समेत विपक्षी बनाइएको छ ।

कान्तिपुर

Link copied successfully