ओली पक्राउविरुद्ध एमालेले घोषणा गर्‍यो चरणबद्ध आन्दोलन

जेन-जी आन्दोलन प्रकरणमा ओली पक्राउ परेपछि एमालेले चैत २५ देखि वैशाख १२ सम्म विभिन्न तहमा विरोध प्रदर्शन, सभा र भेला आयोजना गर्ने भएको छ।

चैत्र १७, २०८२

कान्तिपुर संवाददाता

UML announces phased movement against Oli's arrest

काठमाडौँ — अध्यक्ष केपी शर्मा ओली पक्राउविरुद्ध एमालेले चरणबद्ध आन्दोलन घोषणा गरेको छ । जेन-जी आन्दोलनमा मानवीय क्षति हुनुमा तत्कालीन प्रधानमन्त्रीको हैसियतले लापर्बाही गरेको भन्दै जाँचुबुझ आयोगले कारबाहीका लागि सिफारिस गरेपछि शनिबार ओलीलाई पक्राउ गरिएको थियो ।

मंगलबार बसेको एमाले सचिवालय बैठकले आन्दोलन घोषणा गरेको हो । ‘प्रतिशोधपूर्ण र गैरकानुनी गिरफ्तारीविरुद्ध पार्टी जनसंगठन, संसद् तथा नागरिक क्षेत्रलगायत सम्भव सबै ठाउँबाट कानुनी र राजनीतिक प्रतिवादलाई देशव्यापी रूपले निरन्तरता दिने निर्णय बैठकले गरेको छ,’ महासचिव पोखरेलले भने । 

चैत २५ गतेसम्म सबै जिल्ला कमिटीको आयोजनामा जिल्लास्तरमा बृहत् कार्यकर्ता भेला र चैत २८ गते सम्पूर्ण पालिकास्तरमा विरोध प्रदर्शन, २०८३ वैशाख ३, वैशाख ७ गते प्रदेशस्तरीय विरोध प्रदर्शन र वैशाख १२ गते राजधानी काठमाडौंमा विरोध प्रदर्शन तथा सभा आयोजना गर्ने निर्णय गरेको पोखरेलले जानकारी दिए ।

कान्तिपुर

Link copied successfully