जिल्ला समन्वय समिति खारेजीको सिफारिस

भूमिका कम रहेका जिससले राज्यको आर्थिक दायित्व बढाएको भन्दै यो संरचना खारेज गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले तयार गरेको सुशासन मार्गचित्रको सिफारिस

चैत्र १७, २०८२

राजेश मिश्र

Recommendation to abolish the District Coordination Committee

What you should know

काठमाडौँ — एक सरकारी अध्ययनले प्रशासनिक खर्च कटौतीका लागि जिल्ला समन्वय समितिलाई खारेजी गर्न सिफारिस गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले तयार गरेको सुशासन मार्गचित्रले त्यस्तो सिफारिस गरेको हो ।

२०७२ मा जारी भएको संविधानले ७७ वटै जिल्लामा जिल्ला समन्वय समिति(जिसस) को व्यवस्था गरेको छ । संविधानको धारा २२० मा जिल्लाभित्रका गाउँपालिका र नगरपालिकाहरूबीच समन्वय गर्न जिल्ला समन्वय समिति समिति रहने भनिएको छ ।

एकजना प्रमुख, एकजना उपप्रमुख, कम्तीमा तीन जना महिला र कम्तीमा एक जना दलित वा अल्पसंख्यकसहित बढीमा ९ सदस्यीय जिसस रहने संवैधानिक प्रावधान छ । जिल्लाभित्रका गाउँ कार्यपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगर कार्यकापिलाका प्रमुख र उपप्रमुख रहने जिल्ला सभाबाट जिससका पदाधिकारी निर्वाचित हुन्छन् ।

जिल्ला भित्रका गाउँपालिका र नगरपालिकाबीचको समन्वय गर्ने, विकास तथा निर्माणसम्बन्धी कार्यमा सन्तुलन कायम गर्न सोको अनुगमन गर्ने, जिल्लामा रहने संघीय  र प्रदेश सरकारी कार्यालय र गाउँपालिका र नगरपालिकाबीच समन्वय गर्ने जिम्मेवारी संविधानमै निर्धारित छ ।

सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले देशको सुशासन मार्गचित्र तयार गर्न प्रधानमन्त्री कार्यालयका सचिव गोविन्दबहादुर कार्कीको संयोजकत्वमा १३ सदस्यीय समिति गठन गरेको थियो । तत्कालिन प्रधानमन्त्री कार्कीले १४ पुसमा गठन गरेको समितिले तयार पारेको प्रतिवेदनमा संरचनागत सुधारसम्बन्धी दिइएको सुझावमा जिसस खारेजीको गर्नुपर्ने भनिएको छ  ।

जिससका प्रमुख तथा उपप्रमुखले मासिक तलब भत्ता तथा सवारी साधनसहितका अन्य सुविधा प्राप्त गर्छन् । प्रमुखले निजी सचिव राख्न पाउने सुविधा छ । प्रमुख, उपप्रमुख वा सदस्यहरूले पाउने मासिक सुविधा प्रदेश कानुनले तोकेअनुसार हुन्छ ।

त्यस्तै, जिल्ला समन्वय अधिकारीको जिम्मेवारीमा उपसचिव रहने व्यवस्था छ । त्यबाहेक जिससमा शाखा अधिकृत–१, नायब सुब्बा–१, लेखापाल–१, खरिदार–१, कार्यालय सहयोगी–३ र सवारी चालक–३ जनाको दरबन्दी तोकिएको छ ।

०७२ मा नयाँ संविधान आउनुपूर्व प्रत्येक जिल्लामा जिल्ला विकास समिति थियो । जिल्लाको विकास निर्माण, बजेट निर्माणदेखि त्यसको कार्यान्वनमा जिविसको भूमिका थियो । देश संघीयतामा गएपछि प्रदेश र अधिकार सम्पन्न पालिकाहरूको चेपुवामा जिसस परेको छ । समन्वयबाहेक खासै भूमिका जिससले पाएको छैन । संविधानले जिससभन्दा गाउँपालिका र नगरपालिकालाई अधिकारसम्पन्न बनाएको छ । त्यस्तो स्थितिमा पालिकाहरूले पनि जिससको सम्वन्वय वा अनुगमनलाई स्वीकारेको देखिँदैन ।

पालिकासँग स्रोत सधानमा पहुँच र कार्यकारी अधिकार भएकाले राजनीतिक दलको चासो पनि जिससतिर भएको देखिँदैन । भूमिका कम रहेका जिससले राज्यको आर्थिक दायित्व बढाएकाले यस संरचनाको खारेजीको आवाज पहिले पनि उठेको हो । तर, संवैधानिक प्रावधानअनुसार जिससहरू गठन हुने भएकाले यसको खारेजी वा यसको स्वरूप परिवर्तनका लागि संविधानमै संशोधन आवश्यक रहेको अध्ययनले निष्कर्ष निकालेको हो ।

राजेश दुई दशकभन्दा बढी समयदेखि पत्रकारितामा सक्रिय मिश्र कान्तिपुर दैनिकका संवाददाता हुन्। उनी राजनीति, कुटनीति, निर्वाचन प्रणाली र संघीयताका बिषयमा लेख्छन् ।

Link copied successfully