सोमबार नवनिर्वाचित सांसदहरुलाई बधाई दिन आयोजित कार्यक्रममा उनले पार्टीको इतिहास, आदर्श र जनताको हितलाई केन्द्रमा राखेर संसद्मा आफ्नो भूमिका निर्वाह गर्न आग्रह गरे ।
काठमाडौँ — नेपाली कांग्रेसका निवर्तमान पूर्वउपसभापति पूर्णबहादुर खड्काले निर्वाचनपछि संसद्मा कांग्रेसको उपस्थिति न्यून भएपनि प्रभावकारी भूमिका निर्वाह गर्न सांसदहरुलाई आग्रह गरेका छन् ।
सोमबार नवनिर्वाचित सांसदहरुलाई बधाई दिन आयोजित कार्यक्रममा उनले पार्टीको इतिहास, आदर्श र जनताको हितलाई केन्द्रमा राखेर संसद्मा आफ्नो भूमिका निर्वाह गर्न आग्रह गरे । उहाँले संविधान संशोधनको मुद्दा उठेकोले संसद्मा प्रवेश गर्न सक्ने बताए । उनले पार्टीका सांसदहरूलाई राष्ट्रियता, स्वाभिमान र संविधानका मौलिक अधिकारमा कुनै सम्झौता नगर्न समेत आग्रह गरे । संविधान संशोधनको विषय आफूहरुले पनि उठाएको भएपनि त्यसमा प्रगति हुन नसकेको उनको भनाइ थियो ।
'संसद्मा संविधान संशोधनको विषय पनि प्रवेश गर्ने तयारीमा छ, हुन त हामीले पनि यो भन्दा अगाडिको सरकार निर्माण गर्दा संविधान संशोधनको मूल मुद्दा बनाएर अगाडि लैजाने सहमति गरेका थियौँ, तर त्यो दिशामा हामी अगाडि पुग्न सकेनौँ,' उनले भने, 'अहिले पनि ती कुराहरु अगाडि आउनेछ । त्यसमा हामीले हाम्रो आदर्श, सिद्धान्त, हाम्रो मूल्य मान्यता, हाम्रो देशको राष्ट्रियता, हाम्रो स्वाभिमान र हाम्रो संविधानका मूलभूत अधिकारहरु जो नेपाली जनतालाई सार्वभौम बनाउने र अधिकारसम्पन्न बनाउने विषयमा केन्द्रित छन् । ती मूल विषयमा सम्झौता नगरिकन हामीले आजसम्मको अनुभवको आधारमा संविधान संशोधन प्रक्रिया अगाडि बढ्दा त्यतिवेला कांग्रेसको तर्फबाट संसदको बाहिर र भित्र संयुक्त रुपमा हामी तपाईहरुसँग रहनेछौँ । तपाईँहरुले पार्टीको विचार, ईतिहास र आर्दशलाई केन्द्रमा राखेर, राष्ट्र र जनताको हितलाई केन्द्रमा राखेर आफ्नो सबै भूमिका निर्वाह गर्नुहुनेछ ।'
