कांग्रेसमा समानान्तर गतिविधि गर्ने नेतामाथि कारबाही तयारी

पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले केन्द्रीय कार्यसमितिको बैठक भन्दै मंगलबार र बुधबार नेताहरूलाई बोलाए, जिल्ला सभापतिहरूको भेला पनि गर्ने तयारी

चैत्र १६, २०८२

कुलचन्द्र न्यौपाने

Action is being prepared against leaders involved in parallel activities in Congress.

What you should know

काठमाडौँ — कांग्रेसले समानान्तर गतिविधि थालेका देउवा पक्षका नेतालाई अनुशासनको कारबाही गर्ने तयारी थालेको छ । सभापति गगन थापाले सोमबार राखेको पदाधिकारी बैठकले समानान्तर गतिविधिको नेतृत्व लिएका नेतामाथि कारबाहीको प्रक्रिया अघि बढाउनुपर्ने निष्कर्ष निकालेको छ ।

निर्वाचनमा मतसमेत नहाली १३ फागुनमै सिंगापुर गएका पूर्वसभापति शेरबहादुर देउवाले त्यतैबाट गुट चलाउन थालेको संस्थापन पक्षको आरोप छ । पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले ‘केन्द्रीय कार्यसमिति’ को बैठक भन्दै मंगलबार र बुधबारका लागि देउवापक्षीय नेताहरूलाई बोलाएका छन् । १४ औं महाधिवेशनबाट निर्वाचित देउवा नेतृत्वको कार्यसमितिमा रहेका नेताहरूलाई बैठकमा बोलाइएको हो । त्यसपछि जिल्ला सभापतिहरूको भेला बोलाउने खड्काको तयारी छ । एक नेताका अनुसार १९ चैतमा जिल्ला सभापतिहरूको भेला हुने सम्भावना छ ।

एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस नेतासमेत रहेका पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेपछि खड्काले कार्यवाहक सभापतिको हैसियतमा पार्टीको ‘लेटरहेड’ प्रयोग गरी विज्ञप्ति निकालेपछि आन्तरिक विवाद सतहमा आएको हो ।

खड्काले सोमबार धुम्बाराहीस्थित होटल स्मार्टमा प्रतिनिधिसभा र राष्ट्रिय सभाका नवनिर्वाचित सांसदसँग भेटघाट कार्यक्रम राखेका थिए । नेता शेखर कोइराला र उनीपक्षीय नेताहरूको समेत त्यस कार्यक्रममा उपस्थिति थियो । कांग्रेस संस्थापनले केन्द्रीय कार्यालय सानेपामा शनिबार एकदिवसीय ‘संसदीय सञ्चेतना’ कार्यक्रम गरेको थियो ।

प्रतिनिधिसभामा कांग्रेसका प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ २० गरी ३८ सांसद छन् । राष्ट्रिय सभामा ११ माघमा निर्वाचित भएका कांग्रेसका ९ सांसद हुन् । खड्काले धुम्बाराहीमा नवनिर्वाचित सबैलाई बोलाए पनि देउवा र कोइराला पक्षमा रहेका प्रतिनिधसिभाका ११ र राष्ट्रिय सभाका ४ गरी १५ सांसदको मात्रै उपस्थिति थियो ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्यहरू रुक्मणि कोइराला, गंगालक्ष्मी अवाल, सीता थपलिया, विष्णु खड्का, रीना उप्रेती केसी, निनु कर्ण, हरिनादेवी कामी, गीता सेन्दाङ, टेकबहादुर गुरुङ, सुशीला ढकाललगायत थिए । राष्ट्रिय सभाका भने जगत तिमिल्सेना, खम्मबहादुर खाती, रञ्जित कर्ण र चन्द्र केसी उपस्थित थिए ।

सबै समानान्तर कार्यक्रम रोकेर पार्टी एकताका लागि दुवै पक्ष तयार हुनुपर्छ, निर्वाचनबाट हारेर पार्टी कमजोर भएका बेला यस्तो विवाद तन्काउनु हुन्न:रञ्जित कर्ण, कोइराला पक्षधर राष्ट्रिय सभाका सांसद जगत तिमिल्सेनाले प्रधानमन्त्री वालेन्द्र शाहले सोमबार नै कोशी र कर्णाली प्रदेशका सांसदसँग छुट्टाछुट्टै बैठक राखेका कारण पनि उपस्थित सांसदको संख्या कम भएको तर्क गरे । कोइरालानिकट राष्ट्रिय सभा सांसद रञ्जित कर्णले खड्काले बोलाएको बैठक अनौपचारिकतामा मात्रै सीमित रहेको बताए । ‘टीका लगाउने, माला लगाउने र शुभकामना दिने मात्रै भयो, पार्टीको आन्तरिक विषयमा कुनै कुरा भएन,’ उनले भने ।

पार्टीमा समानान्तर शक्ति संघर्ष चलिरहेका बेला सिंगापुर गएका शेरबहादुर देउवा भने फर्कने टुंगो लागेको छैन । उनका प्रमुख स्वकीय सचिव भानु देउवाका अनुसार देउवा दम्पती हाल हङकङमा छन् ।

‘बिहीबारको स्वास्थ्य परीक्षणपछि फर्कने दिन तय हुन्छ,’ केही दिनअघि सिंगापुरबाटै फर्केका भानुले भने, ‘भाउजू (आरजु राणा) को भने दुवै घुँडाको अपरेसन गर्नुपर्नेछ । त्यसको मिति तय भइसकेको छैन ।’

पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेकी आरजु राणा देउवा भारत हुँदै सिंगापुर पुगेकी हुन् । तर, देउवानिकट नेताहरूका अनुसार नेपालको पछिल्लो राजनीतिक घटनाक्रमका कारण देउवा दम्पती अझै केही दिन सिंगापुरतिरै बस्न सक्छन् । ‘तर, पार्टीको आन्तरिक राजनीतिका विषयमा त्यतैबाट निरन्तर संवाद भइरहेको छ,’ देउवा पक्षका एक नेताले भने ।

विधिको शासनका लागि लडेका नेताहरूले नै संवैधानिक निकायका निर्णय र राजनीतिक दलसम्बन्धी कानुनको विपरीत हिँड्न खोज्नु दुर्भाग्यपूर्ण हो:प्रदीप पौडेल, महामन्त्री महामन्त्री प्रदीप पौडेलले विधिको शासनका लागि लडेका नेताहरूले नै संवैधानिक निकायका निर्णय र राजनीतिक दलसम्बन्धी कानुनको विपरीत हिँड्न खोज्नु दुर्भाग्यपूर्ण रहेको बताए । कानुनअनुसार एउटा संवैधानिक निकाय निर्वाचन आयोगले दिएको निर्णयलाई मन नपरे पनि मान्नुपर्ने उनको भनाइ छ । ‘पार्टी एउटा विधिमा अडिएको हुन्छ । राजनीतिक दलले राज्यको दलसम्बन्धी कानुनको मान्यता, राज्य संरचनाको निर्णयलाई मान्नुपर्ने हुन्छ । हाम्रा नेता त विधिको शासन र लोकतन्त्रका लागि लामो समय लडेर आएका हुन्,’ उनले भने, ‘लोकतन्त्रका लागि लडेको सार्थकता पुष्टि गर्न पनि कानुनलाई मान्नुपर्छ ।’ महामन्त्री पौडेलले देउवा पक्षको मंगलबार र बुधबारको बैठकको प्रतिक्रियाले कसरी अघि बढ्ने भन्नेबारे तय हुने बताए ।

कांग्रेसले तारामान गुरुङको नेतृत्वमा रहेको केन्द्रीय अनुशासन समितिको बैठक बुधबारका लागि बोलाएको छ । पार्टीका एक पदाधिकारीका अनुसार समानान्तर गतिविधि चलाउने नेतालाई स्पष्टीकरण सोध्ने निर्णय उक्त बैठकमा हुन सक्छ । ‘स्पष्टीकरण सोधेर सिधै कारबाही गरौं भन्ने एक थरी मत छ, यसले संवादको बाटो अवरुद्ध हुने भएकाले अहिल्यै त्यो बाटो लिन हुन्न भन्ने पनि छ,’ ती पदाधिकारीले भने ।

ओली र लेखक पक्राउ प्रकरणलाई हेर्ने दृष्टिकोणमै देउवा समूह र संस्थापन पक्षबीचको बुझाइ फरक देखिएको छ । देउवा पक्षले ओली–लेखक पक्राउलाई राजनीतिक प्रतिशोधको संज्ञा दिएको छ । त्यसको कानुनी र राजनीतिक प्रतिवाद गर्ने खड्काद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

कांग्रेस प्रवक्ता देवराज चालिसेले जारी गरेको विज्ञप्तिमा भने ओली र लेखक पक्राउमा नरमपना देखिन्छ । गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले गरेको सिफारिसअनुसार सरकारले अघि बढाएको कारबाहीमा पार्टीले विरोध गरेको छैन । २३ भदौको घटनामा मात्रै सीमित नभएर २४ भदौको आगलागी र विध्वंसको समेत निष्पक्ष अनुसन्धान गरेर प्रक्रियासम्मत कारबाही अघि बढाइनुपर्ने केन्द्रीय कार्यसमितिको माग छ ।

कोइरालानिकट नेता कर्णले सबै समानान्तर कार्यक्रम रोकेर पार्टी एकताका लागि दुवै पक्ष तयार हुनुपर्ने अन्यथा कांग्रेस अझै कमजोर हुने बताए । उनले गगन थापालाई पार्टीको वैधानिक सभापति मानेरै एकतामा जोडिनुपर्ने बताए । ‘विशेष महाधिवेशनबाट गगन थापा पार्टी सभापति भइसके । त्यसलाई निर्वाचन आयोगले मान्यता दिइसक्यो । थापाकै हस्ताक्षरबाट पार्टीका वरिष्ठ नेताहरूले निर्वाचन लडे । त्यसैले थापा नै वैधानिक सभापति हुन्,’ कर्णले भने, ‘निर्वाचनबाट हारेर पार्टी कमजोर भएका बेला यस्तो विवाद तन्काउनु हुन्न । संस्थापन पक्ष दुई कदम पछि हटेर भए पनि विशेष महाधिवेशनको पक्षमा नरहेका वरिष्ठ नेताहरूलाई सम्बोधन हुने गरी पार्टी एकतामा जानुपर्छ । एकताका साथ नियमित महाधिवेशनमा पुग्नुपर्छ ।’

मुद्दा हालिसकेपछि आयोगको निर्णय मान्नुपर्छ भन्ने हुँदैन, अदालतले निर्णय नगरुन्जेल समानान्तर गतिविधि हुन्छ, कारबाही गरे भोग्न तयार छौं: जितजंग बस्नेत, देउवा पक्षधर देउवा पक्षले विशेष महाधिवेशनबाट आएको केन्द्रीय कार्यसमितिलाई अस्वीकार गर्दै आएको छ । तर त्यही कार्यसमितिका सभापति थापाले हस्ताक्षर गरेको टिकटबाट नेता शेखर कोइराला, पूर्वपदाधिकारीहरू बिमलेन्द्र निधि, प्रकाशशरण महत, महेन्द्र यादव, महालक्ष्मी उपाध्याय ‘डिना’, किशोरसिंह राठोर, एनपी साउदलगायत देउवा–कोइराला समूहका ३२ नेताले चुनाव लडेका थिए । त्यति बेला चुनाव लडेका नेताहरूसमेत अहिले खड्काले बोलाएको भेलामा सहभागी हुने गरेका छन् ।

नेता कर्ण सभापति थापाको हस्ताक्षरबाट चुनाव लडिसकेपछि अवैधानिक भनेर बस्न नहुने तर्क गर्छन् । देउवापक्षीय नेता जितजंग बस्नेत भने विशेष महाधिवेशनबाट आएको केन्द्रीय कार्यसमितिलाई स्वीकार गर्न नसकिने बताउँछन् । उनले अदालतले निर्णय नगरुन्जेल पार्टीभित्र समानान्तर गतिविधि हुने बताए । ‘निर्वाचन आयोगको निर्णयविरुद्ध अदालतमा मुद्दा विचाराधीन रहेकाले विशेष महाधिवेशनबाट आएको केन्द्रीय कार्यसमितिलाई हामीले मान्यता दिएका छैनौं, मुद्दा हालिसकेपछि आयोगको निर्णय मान्नुपर्छ भन्ने हुँदैन,’ उनले भने, ‘बरु, यति गहन विषयमा अदालतले चाँडै निर्णय दिनुपर्छ ।’ थापा नेतृत्वको समितिले अनुशासनको कारबाही गरे भोग्न तयार रहेको पनि बस्नेतले बताए ।

कुलचन्द्र उनी कान्तिपुरका राजनीतिक संवाददाता हुन् । उनी संसदिय मामिला र दलहरुको भूमिकाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully