तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काले देउवा पक्षका नेतालाई मंगलबार बैठकमा बोलाएपछि संस्थापन पक्षले भोलिपल्ट बुधबार अनुशासन समितिको बैठक बोलाएको हो ।
What you should know
काठमाडौँ — कांग्रेस पूर्वसभापति शेरबहादुर देउवा पक्षले आगामी मंगलबार समूहको बैठक बोलाएको छ । बैठकमा तत्कालीन केन्द्रीय कार्यसमितिमा रहेका देउवा पक्षीय पदाधिकारी तथा सदस्यहरूलाई बोलाइएको छ । देउवा पक्षीय नेता रामहरि खतिवडाका अनुसार टेलिफोनबाट बैठकमा उपस्थित हुन भनिएको छ ।
तत्कालीन कार्यबाहक सभापति पूर्णबहादुर खड्काले बोलाएको बैठकमा पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओली, कांग्रेसका नेता एवं पूर्वमन्त्री रमेश लेखक र अर्का पूर्वमन्त्री दीपक खड्का पक्राउ र २१ फागुनमा सम्पन्न निर्वाचनमा भएको हारको समीक्षा गर्ने उल्लेख छ ।
ओली र लेखक पक्राउको विषयमा पार्टी संस्थापन र देउवा पक्षले अलग-अलग विज्ञप्तिमार्फत धारणा सार्वजनिक गरेका थिए । संस्थापन पक्षले गत २३ र २४ भदौका दुवै घटनाका दोषीउपर विधि र पक्रियासम्मत तरीकाले हुने कारबाहीमा पार्टीको साथ रहने विज्ञप्तिमा उल्लेख छ । यस्तै, देउवा पक्षले ओली र लेखक पक्राउ राजनीतिक प्रतिशोध भन्दै त्यसको प्रतिवाद गर्ने जनाएको छ ।
देउवा पक्षले समानान्तर गतिविधि गर्न थालेपछि कांग्रेस संस्थापन पक्षले बुधबार केन्द्रीय अनुशासन समितिको बैठक बोलाएको छ । देउवा पक्षको बैठकको भोलिपल्टै अर्थात बुधबार दिउँसो १ बजे बस्ने बैठकमा देउवा पक्षबाट भएको गतिविधि र निर्वाचनमा भएको अन्तर्घात बारे छलफल केन्द्रित हुने उल्लेख छ ।
‘समाननान्तर गतिविधि चलाएर निरन्तर पार्टी हित विपरित लाग्ने नेताहरूमाथि समेत अनुशासनको कारबाही प्रक्रियाअघि बढाउन बैठक बोलाएको हो,’ पार्टी केन्द्रीय कार्यसमितिका एक पदाधिकारीले भने । कसलाई र कस्तो कारवाही गर्ने भन्नेबारे अनुशासन समितिमा विस्तृत छलफल गरेपछि तय हुने उनले बताए ।
पार्टी केन्द्रीय कार्यसमितिले १६-१९ असोजमा काठमाडौंमा १५औं महाधिवेशन गर्ने निर्णय लिइसकेको अवस्थामा देउवा पक्ष अदालतको फैसला नआउँदा प्रक्रियामा सहभागी नहुने बताउँदै आएको छ । विशेष महाधिवेशबाट आएको केन्द्रीय कार्यसमितिलाई निर्वाचन आयोगले मान्यता दिने निर्णयविरुद्ध पूर्वसभापति देउवा र तत्कालीन कार्यबाहक सभापति खड्काले अदालतमा रिट दायर गरेका छन् । उक्त रिटको पेशी आगामी २२ चैतमा तोकिएको छ ।
देउवामाथि सिंगापुरबाटै समूह चलाएको आरोप
देउवा पक्षीय नेता खतिवडाले चुनौतिपूर्ण घडीमा पार्टीभित्र समानान्तर गतिविधि नभएर एकताका लागि पहल गर्नुपर्ने बताए । ‘राष्ट्रिय राजनीतिमै देखिएको चुनौतीलाई सामना गरेर जान एक हुनुबाहेक अर्को विकल्प छैन । त्यसका लागि कहाँ कसले त्याग गर्नुपर्ने हो, गर्नुपर्छ,’ उनले भने, ‘एकता हुन सकेन भने कांग्रेस अझै कमजोर भएर जान्छ ।’
पूर्वसभापति देउवा सिंगापुरबाटै आफ्नो समूह चलाउन थालेका छन् । उनी निर्वाचन अघि १३ फागुनमा सिंगापुर गएका थिए । १० फागनुमै भारत गएकी पूर्वपराष्ट्रमन्त्री एवं देउवापत्नी आरजु राणा देउवा पनि सिंगापुरमै छन् ।
केही दिन अघि उनीहरू हङकहङ गएका थिए । हङकङबाट नेपाल फर्कने कार्यक्रम रहे पनि अझै केही दिन दम्पति उतै बस्ने योजना रहेको उनी निकट एक नेताले बताए । ‘शेरबहादुर दाईले गत बिहीबार वा शुक्रबार आउने मनस्थिति बनाइरहनु भएको थियो । तर, सरकारले एकाएक नेताहरूलाई गिरफ्तार गर्न थालेपछि उहाँ आईहाल्न हच्किनु भएको छ,’ देउवा निकट ती नेताले भने,‘सम्भवतः अब तत्काल नआउन सक्नुहुन्छ ।’
