जेन–जी आन्दोलनमा दमन गरेको भन्दै पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन् । एमाले सडक प्रदर्शनमा उत्रिएको छ । अब के होला ? ekantipur.com हेर्दै गर्नुहोला ।
एमाले अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा सडक संघर्ष गर्ने सचिवालय बैठकको निर्णयसँगै कार्यकर्ताहरु प्रदर्शनमा उत्रिएका छन् । दिउँसो ३ बजेदेखि माइतीघरमा भेला भएका एमालेमा विभिन्न जनसंगठनमा आबद्ध कार्यकर्ताहरुले प्रदर्शन जारी राखेका छन् । माइतीघरदेखि बबरमहल-बिजुलीबजार क्षेत्र यतिबेला तनावग्रस्त बनेको छ । कार्यकर्ताले ओलीको रिहाइको माग गर्दै गृहमन्त्रीको राजीनामा मागेका छन् । सडकका डिभाइडर तोडफोड गर्दै टायर बालेर प्रदर्शन गरेका कारण सडकमा सवारीसाधन ठप्प छ । टायर र डिभाइड जम्मा पारेर कार्यकर्ताले जलाउँदा प्रहरीले त्यसलाई रोक्ने प्रयास गरेको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा सडक संघर्षमा उत्रिएका एमाले कार्यकर्ताको प्रदर्शनका कारण अहिले बबरमहल क्षेत्र तनावग्रस्त भएको छ । उनीहरुले सडकका डिभाइडर तोडफोड गर्दै अघि बढेका छन् भने प्रहरीले रोक्ने प्रयास गरिरहेको छ । उनीहरुले डिभाइडर भेला पारेर जलाएका छन् ।
भदौ २३-२४ को घटनाको निष्पक्ष र न्यायिक छानबिनका लागि भन्दै सर्वोच्च अदालतका बहालवाला न्यायाधीशको अध्यक्षतामा उच्चस्तरीय छानबिन आयोग गठन गर्न एमालेले माग गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको पक्राउपछि आज बिहान केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकका निर्णयबारे जानकारी दिँदै महासचिव शंकर पोखरेलले पक्राउको विरोधमा आजैदेखि प्रतिवाद सुरु हुने बताए ।
एमाले अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा पार्टीले कानुनी तथा राजनीतिक रुपमा प्रतिवाद गर्ने भएको छ । आज बिहान पार्टी मुख्यालय च्यासलमा बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो ।प्रत्येक जिल्ला सदरमुकाममा आज अपराह्न ३ बजे जनसंगठनहरूको तर्फबाट विरोध प्रदर्शन गर्ने, भोलि १२ बजे जिल्ला पार्टी कमिटीको आयोजनामा प्रदर्शनसहित प्रमुख जिल्ला अधिकारी कार्यालयमा विरोधपत्र बुझाउने भएको छ । यस्तै, लोकतन्त्र र कानुनी राज्यका पक्षधर सबै दलसँग संवाद र सहकार्य तथा नागरिक समाज र आम जनसमुदायसँग सहकार्य गर्ने बैठकले निर्णय गरेको पार्टी सचिव महेश बस्नेतले जानकारी गराए ।
नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको पक्राउविरुद्ध नेता कार्यकर्ताहरु सडकमा उत्रिएका छन् । यता पार्टी कार्यालय च्यासलमा सचिवालय बैठक चलिरहँदा काठमाडौं जिल्ला कमिटीको आयोजनामा चाबहिल चोकबाट प्रदर्शन सुरु भएको छ । जेन–जी आन्दोलनमा दमन गरिएको भन्दै गौरीबहादुर कार्की आयोगले कारबाहीका लागि गरेको सिफारिस अनुसार सरकारले शनिबार बिहानै अध्यक्ष ओलीलाई निवासबाटै नियन्त्रणमा लिएको छ । यस्तै पूर्व गृहमन्त्री रमेश लेखकलाई पनि पक्राउ गरिएको छ ।
नेकपा एमालेको सचिवालय बैठक पार्टी कार्यालय च्यासलमा सुरु भएको छ । अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि एमालेले त्यसको प्रतिवादका लागि योजना बनाउन सचिवालय बैठक बोलाएको हो । बैठकका लागि बिहान साढे ८ बजे नै नेताहरु पार्टी कार्यालय पुगिसकेका थिए । एमालेले सरकारको उक्त कदमविरुद्ध प्रतिवाद गर्ने जनाएको छ । कसरी अगाडि जाने भन्ने विषयमा छलफल भइरहेको एमाले सचिवालय स्रोतले जनाएको छ ।
जेन–जी आन्दोलन दबाएको आरोपमा पक्राउ परेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकमाथि अनुसन्धान सुरु हुनेछ।
त्यसका लागि प्रहरीले सर्वप्रथम अदालतबाट अनुमति लिनुपर्ने हुन्छ, तर आज सार्वजनिक बिदा भएकाले आइतबार मात्रै अदालतमा पेस गरिनेछ।
अदालतमा पेस गर्नुअघि आज उनीहरूलाई न्यायिक हिरासतमा राखिनेछ।
न्यायिक हिरासतमा प्रहरीले २३ र २४ को घटनाबारे सोधपुछ र बयान गर्नेछ। उनीहरूमाथि कार्की नेतृत्वको आयोगले दिएको प्रतिवेदनलाई आधार मानेर बयान गरिनेछ।
त्यही बयानका आधारमा जिल्ला सरकारी वकिल हुँदै जिल्ला अदालतमा कार्की आयोगले सिफारिस गरेको अभियोग वा थप अभयोगमा उनीहरूविरुद्ध मुद्दा दर्ता हुनेछ।
नेकपा एमालेका महासचिव शंकर पोखरेलले जेन–आन्दोनमा दमन गरेको आरोपमा कार्की आयोगको सिफारिसमा पक्राउ परेका पूर्व प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई तत्काल रिहा गर्न माग गरेका छन् । केही बेरअघि सामाजिक सञ्जालमा पक्राउको विरोध गर्दै उनले सरकारको यो कदम पूर्वाग्रह र प्रतिशोधपूर्ण रहेको आरोप लगाएका छन् । साथै उनले यो प्रतिशको मूल्य धेरै महँगो पर्ने चेतावनीसमेत दिएका छन् । उनले भनेका छन्, ‘पूर्वाग्रह र प्रतिशोधको मूल्य धेरै महँगो हुन्छ। जिम्मेवार बन, अविलम्ब रिहा गर !’
जेन–आन्दोलनमा प्रदर्शनकारीविरुद्ध दमन गरेको विषयमा गौरीबहादुर कार्की आयोगले कारबाही सिफारिस गरेका आधारमा पक्राउ परेका पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखेकलाई स्वास्थ्य परीक्षणका लागि लगिँदैछ । प्रहरी परिसरका एक जना अधिकारीले दुवै जनालाई मेडिकल टेस्टका लागि लैजान लागिएको जानकारी दिए । अनुसन्धान सुरु गर्नुअघि अनिवार्य रुपमा स्वास्थ्य परीक्षण गराउनुपर्ने कानुनी व्यवस्ता रहेको छ । दुवै जनालाई प्रहरीले शनिबार बिहानै निवासबाट पक्राउ गरेको थियो ।
जेन–जी आन्दोलनका बेला प्रधानमन्त्री रहेका केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकमाथि प्रहरीले ज्यानसम्बन्धी कसुरमा अनुसन्धान सुरु गरेको छ ।
गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले उनीहरुलाई लापरबाहीपूर्ण र हेलचेक्र्याईपूर्ण क्रियाकलाप र व्यवहार गरेका कारण मानवीय क्षति भएको भन्दै आयोगले फौजदारी कसुरमा अनुसन्धान गर्न सिफारिस गरेको थियो ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले त्यो सिफारिस कार्यान्वयन गर्ने निर्णय गरेको थियो र बेलुकीबाटै कार्यान्वयन गर्न गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरी प्रमुख दानबहादुर कार्की र सशस्त्र प्रहरी प्रमुख राजु अर्यालसँग कुराकानी थालेका थिए । उनीहरुले पक्राउ गर्नुअघि कानुनी प्रक्रिया पूरा गर्नुपर्ने सुझाएका थिए । त्यसपछि मन्त्रालयले नै ओली र लेखकविरुद्ध जाहेरी दिएको थियो ।
जाहेरी अनुसार ज्यानसम्बन्धी कसुरमा अनुसन्धान गर्न तत्काल पक्राउ गर्नुपर्ने भन्दै प्रहरीले जरुरी पूर्जी तयार गरेको थियो । त्यसपछि ओली र लेखक पक्राउ परेका हुन् ।
वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरिएकोविरुद्ध सर्वोच्च अदालत जाने बताएका छन् । जेन–जी आन्दोलनबारे सत्यतथ्य बुझ्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वले दिएको प्रतिवेदन कार्यान्वयन गर्ने क्रममा प्रहरीले आज बिहान ओली र लेखकलाई पक्राउ गरेको छ । पक्राउ पर्नु पहिले ओलीले वरिष्ठ अधिवक्ता भट्टराई लगायतका कानुनव्यवसायीसँग छलफल गरेका थिए । ‘उहाँ (ओली)ले कानुनी लडाइँ लड्ने हो, तयारी गर्नुस् भन्नुभएको छ,’ भट्टराईले कान्तिपुरसँग भने, ‘भ्याएसम्म भोलि नै ओली र लेखकको तर्फबाट बन्दीप्रत्यक्षीकरणको मुद्दा लिएर सर्वोच्च अदालत जान्छौं ।’कार्की आयोगले लापरafही र हेलचेक्राइंका कारण जेन–जी आन्दोलनक्रममा मानिसहरूको मृत्यु भएको भन्दै त्यसमा तत्कालीन प्रधानमन्त्री ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक र नेपाल प्रहरीका तत्कालीन महानिरीक्षक चन्द्रकुबेर खापुङविरुद्ध अनुसन्धान गरी अभियोजन गर्न सिफारिस गरेको थियो । त्यस्तै तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी, सशस्त्र महानिरीक्षक राजु अर्याल, तत्कालीन राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा र काठमाडौंका तत्कालीन सीडीओ छविलाल रिजालविरुद्ध हेलचक्य्राइँअन्तर्गत फौजदारी कसुरमा अनुसन्धान गर्न सिफारिस गरिएको छ ।









