बालेनलाई संसदीय दलको नेता बनाउन रास्वपा केन्द्रीय समिति बैठक बस्दै

सभापति रवि लामिछानेले अध्यक्षता गर्ने बैठकमा वरिष्ठ नेता बालेन्द्र शाह पनि उपस्थित हुनेछन्  ।

चैत्र १२, २०८२

कान्तिपुर संवाददाता

RSVP central committee meeting to make Balen parliamentary party leader

काठमाडौँ — प्रतिनिधिसभा निर्वाचनमा झन्डै दुईतिहाइ सिट जितेपछि रास्वपाको केन्द्रीय समिति बैठक पहिलो पटक आज बस्दै छ ।

संसदीय दलको नेता र प्रधानमन्त्रीमा वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) लाई औपचारिक रूपमा अगाडि बढाउने निर्णय लिन रास्वपाले दिउँसो ४ बजे केन्द्रीय समिति बैठक बोलाएको हो  । केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने केन्द्रीय समितिको बैठकको अध्यक्षता सभापति रवि लामिछानेले गर्नेछन् । बैठकमा वरिष्ठ नेता शाह पनि उपस्थित रहनेछन् । रास्वपाको सचिवालय र केन्द्रीय समितिका यसअघिका बैठकमा शाह सहभागी भएका छैनन् । 

रास्वपाले केन्द्रीय समितिबाट संसदीय दलको नेता र प्रधानमन्त्रीमा शाहलाई पठाउने निर्णय गर्नेछ । पार्टी विधानको संसदीय दलको नेता निर्वाचन गर्ने व्यवस्थालाई रास्वपा र शाहबीच १३ पुसमा भएको राजनीतिक सहमतिले ‘ओभररुल’ गरेको निष्कर्ष निकालेको रास्वपा केन्द्रीय समितिले शाहलाई संसदीय दलको नेता चयन गर्न निर्देशन दिने भएको हो । केन्द्रीय समितिले राजनीतिक निर्णय अनुमोदन गरेको तथा रास्वपा विधानको बाधा अड्काउ फुकाउको प्रावधानमा टेकेर शाहलाई संसदीय दलको नेतामा अगाडि बढाउन लागेको हो ।

केन्द्रीय समिति बैठकले शाहलाई दलको नेता चयन गर्न निर्देशन गरेलगत्तै बिहीबार नै केन्द्रीय कार्यालयमै संसदीय दलको बैठक बस्ने र निर्णय लिने रास्वपा महामन्त्री कवीन्द्र बुर्लाकोटीले जनाए । 

केन्द्रीय समिति बैठकले शाहलाई दलको नेता चयन गर्न निर्देशन गरेलगत्तै बिहीबार नै केन्द्रीय कार्यालयमै संसदीय दलको बैठक बस्ने र निर्णय लिने रास्वपा महामन्त्री कवीन्द्र बुर्लाकोटीले जनाए ।रास्वपा विधानमा संसदीय दलको नेता चयन गर्न निर्वाचनको व्यवस्था गरिएको छ ।

केन्द्रीय समिति बैठकले पार्टीका विधिसम्मत रूपमा वरिष्ठ नेतालाई प्रधानमन्त्रीमा अगाडि बढाइने रास्वपा नेता भूपदेव शाहले जनाए । ‘संसदीय दलको नेता र प्रधानमन्त्रीमा वरिष्ठ नेतालाई अगाडि बढाउने एजेन्डा केन्द्रीय समितिमा पार्टीले विधिसम्मत निर्णय गर्नेछ । यसले पार्टीमा राम्रो संस्कारको पनि विकास हुन्छ भनेर बैठक बोलाइएको हो,’ पार्टीका प्रस्तावित सहमहामन्त्री शाहले भने, ‘प्रधानमन्त्रीमा वरिष्ठ नेताले १३ चैतमा शपथ लिँदै गर्दा पार्टीका तर्फबाट कुनै पनि बाधा नहुने गरी बाधा अड्काउ फुकाउ गर्ने निर्णय गरिनेछ । केन्द्रीय समितिबाट नै प्रधानमन्त्री पदमा वरिष्ठ नेतालाई पठाउने निर्णय गरिनेछ ।’ 

कान्तिपुर

Link copied successfully