विधानको ‘बाधा अड्काउ फुकाउ’ मा टेकेर शाहलाई संसदीय दलको नेता बनाउँदै रास्वपा

केन्द्रीय समिति बैठकले शाहलाई दलको नेता चयन गर्न निर्देशन गरेलगत्तै बिहीबार नै केन्द्रीय कार्यालयमा संसदीय दलको बैठक बस्ने र निर्णय लिने

चैत्र १२, २०८२

जयसिंह महरा

RSP makes Shah the leader of the parliamentary party by relying on the 'removal of obstacles' of the constitution

What you should know

काठमाडौँ — संसदीय दलको नेता र प्रधानमन्त्रीमा वरिष्ठ नेता बालेन्द्र शाहलाई औपचारिक रूपमा अगाडि बढाउने निर्णय लिन रास्वपाले केन्द्रीय समिति बैठक बोलाएको छ । प्रतिनिधिसभा निर्वाचनमा झन्डै दुईतिहाइ सिट जितेपछि रास्वपाको केन्द्रीय समिति बैठक पहिलो पटक बस्न लागेको हो । 

बिहीबार ४ बजे केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने केन्द्रीय समितिको बैठकको अध्यक्षता सभापति रवि लामिछानेले गर्नेछन् । बैठकमा वरिष्ठ नेता शाह पनि उपस्थित रहनेछन् । रास्वपाको सचिवालय र केन्द्रीय समितिका यसअघिका बैठकमा शाह सहभागी भएका छैनन् । 

रास्वपाले केन्द्रीय समितिबाट संसदीय दलको नेता र प्रधानमन्त्रीमा शाहलाई पठाउने निर्णय गर्नेछ । पार्टी विधानको संसदीय दलको नेता निर्वाचन गर्ने व्यवस्थालाई रास्वपा र शाहबीच १३ पुसमा भएको राजनीतिक सहमतिले ‘ओभररुल’ गरेको निष्कर्ष निकालेको रास्वपा केन्द्रीय समितिले शाहलाई संसदीय दलको नेता चयन गर्न निर्देशन दिने भएको हो । केन्द्रीय समितिले राजनीतिक निर्णय अनुमोदन गरेको तथा रास्वपा विधानको बाधा अड्काउ फुकाउको प्रावधानमा टेकेर शाहलाई संसदीय दलको नेतामा अगाडि बढाउन लागेको हो ।

केन्द्रीय समिति बैठकले शाहलाई दलको नेता चयन गर्न निर्देशन गरेलगत्तै बिहीबार नै केन्द्रीय कार्यालयमै संसदीय दलको बैठक बस्ने र निर्णय लिने रास्वपा महामन्त्री कवीन्द्र बुर्लाकोटीले जनाए । 

केन्द्रीय समिति बैठकले शाहलाई दलको नेता चयन गर्न निर्देशन गरेलगत्तै बिहीबार नै केन्द्रीय कार्यालयमै संसदीय दलको बैठक बस्ने र निर्णय लिने रास्वपा महामन्त्री कवीन्द्र बुर्लाकोटीले जनाए ।रास्वपा विधानमा संसदीय दलको नेता चयन गर्न निर्वाचनको व्यवस्था गरिएको छ । रास्वपा विधानको धारा ६६ (८) मा पार्टीका साधारण सदस्यले संसदीय दलको नेता चुन्ने व्यवस्था छ । ‘संघीय निर्वाचनअगावै पार्टीका तर्फबाट संघीय निर्वाचनका लागि समानुपातिक र प्रत्यक्षतर्फ छनोट भएका उम्मेदवारमध्ये इच्छुक उम्मेदवारहरूबीच प्रतिनिधिसभा संसदीय दलको नेता छनोटका लागि निर्वाचन हुनेछ । (दल नेताको) निर्वाचनमा पार्टीका सम्पूर्ण साधारण सदस्य मतदाता हुन पाउनेछन्,’ विधानको धारा ६६ (८ क) मा भनिएको छ । 

 निर्वाचनमा खसेको मतको ५० प्रतिशत कटाउने उम्मेदवार संसदीय दलको नेता हुने व्यवस्था रास्वपा विधानमा छ । कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत कटाउन नसके सबैभन्दा बढी मत ल्याउने दुई उम्मेदवारबीच पुनः निर्वाचन हुने व्यवस्था छ । पार्टीले सरकारको नेतृत्व लिए संसदीय दलको नेता प्रधानमन्त्री हुने व्यवस्था पनि विधानमा छ । तर अभ्यासमा भने अर्कै हुन लागेको छ । 

रास्वपामा तत्कालीन काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह एकतामा गएका थिए । एकताका क्रममा रास्वपा र शाहबीच १३ पुसमा गरिएको सहमतिमै संसदीय दलको नेता र पार्टीबाट भावी प्रधानमन्त्रीको घोषणा गरिएको थियो । ‘राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सभापति रवि लामिछाने रहने र आसन्न प्रतिनिधिसभाको निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह हुने,’ सातबुँदे सहमतिको बुँदा ४ मा उल्लेख छ । 

तत्कालका लागि विधानको बाधा अड्काउ फुकाउको व्यवस्थामा टेकेर पनि निर्णय गर्न सकिने रास्वपाका नेताहरूले बताएका छन् । विधानको दफा ८० मा बाधा अड्काउ फुकाउको व्यवस्था छ । ‘यस विधान लागू गर्ने क्रममा कुनै बाधा अड्काउ परे त्यस्तो बाधा अड्काउ फुकाउने अधिकार केन्द्रीय समितिलाई हुनेछ,’ विधानको दफा ८० मा लेखिएको छ ।

संसदीय दलको नेता चयन गर्न गरिएको सहमतिलाई पार्टी केन्द्रीय समितिले यसअघि नै अनुमोदन गरिसकेकाले अहिले विधानमा रहेको संसदीय दलको नेता चयन गर्ने व्यवस्थाले केही समस्या नल्याउने रास्वपा नेताहरू बताउँछन् । यस विषयमा उनीहरूले कानुनका जानकारसँग पनि परामर्श गरेका थिए । १३ पुसमा भएको सहमतिअनुसार नै अगाडि बढिने महामन्त्री बुर्लाकोटीले बताए । 

‘संसदीय दलको नेता र प्रधानमन्त्री शाह बन्ने जुन राजनीतिक सहमति भयो, त्यसलाई केन्द्रीय समितिले यसअघि नै अनुमोदन गरिसकेको छ । अब बस्ने केन्द्रीय समिति बैठकले पार्टीका तर्फबाट संसदीय दलको नेतामा सोही सहमतिअनुसार गर्न संसदीय दललाई निर्देशन गर्छ,’ बुर्लाकोटीले भने, ‘राजनीतिक सहमतिले नै अगाडि बढ्न हामीलाई पर्याप्त बाटो देखाएकाले विधान संशोधनको चक्करमा जाँदैनौं ।’

दलको नेता र प्रधानमन्त्री शाहलाई बनाउने भनी राजनीतिक सम्झौताले नै परिस्थिति निर्माण गरिसकेकाले अहिले विधान संशोधन गर्न आवश्यक नभएको रास्वपा सांसद सोबिता गौतमको तर्क छ । ‘पार्टीमा अहिलेको परिस्थिति राजनीतिक सम्झौतापछि निर्माण भएको हो । राजनीतिक सहमति भएको विषयमा पार्टीले राजनीतिक प्रकृतिले निर्णय लिन्छ । सहमतिका पक्षमा सबै नेता एकठाउँमा आइसकेपछि र अबको प्रधानमन्त्रीको उम्मेदवार शाह हो भनिसकेको अवस्थामा केन्द्रीय समिति र संसदीय दलको बैठक बसेर अनुमोदन गरेर अगाडि बढ्छ,’ उनले भनिन्, ‘पार्टी विधान आवश्यकताका आधारमा संशोधन हुन्छ । पार्टी संसदीय दलको नेता चयन गर्न विधानले समस्या नपार्ने भएकाले भविष्यमा संशोधन गरिनेछ ।’

यस पटक पनि विधानको व्यवस्था प्रयोगमा आउने सम्भावना नरहेकाले संशोधन गर्ने कि नगर्ने भन्नेबारे पार्टीभित्र छलफल भइरहेको थियो ।पार्टी विधानलाई भविष्यमा बस्ने केन्द्रीय समिति बैठकबाट व्यावहारिक बनाउँदै लैजाने पनि महामन्त्री बुर्लाकोटीले बताए । ‘आगामी दिनमा विधान संशोधन गर्दा यो व्यवस्थालाई पनि व्यावहारिक बनाएर जानुपर्छ । यस पटकका लागि राजनीतिक सहमति नै ओभररुल गर्छ,’ उनले भने । 

केन्द्रीय समिति बैठकले पार्टीका विधिसम्मत रूपमा वरिष्ठ नेतालाई प्रधानमन्त्रीमा अगाडि बढाइने रास्वपा नेता भूपदेव शाहले जनाए । ‘संसदीय दलको नेता र प्रधानमन्त्रीमा वरिष्ठ नेतालाई अगाडि बढाउने एजेन्डा केन्द्रीय समितिमा पार्टीले विधिसम्मत निर्णय गर्नेछ । यसले पार्टीमा राम्रो संस्कारको पनि विकास हुन्छ भनेर बैठक बोलाइएको हो,’ पार्टीका प्रस्तावित सहमहामन्त्री शाहले भने, ‘प्रधानमन्त्रीमा वरिष्ठ नेताले १३ चैतमा शपथ लिँदै गर्दा पार्टीका तर्फबाट कुनै पनि बाधा नहुने गरी बाधा अड्काउ फुकाउ गर्ने निर्णय गरिनेछ । केन्द्रीय समितिबाट नै प्रधानमन्त्री पदमा वरिष्ठ नेतालाई पठाउने निर्णय गरिनेछ ।’ 

रास्वपाले विधानमा रहेको संसदीय दलको नेता चयन गर्ने व्यवस्था २०७९ को निर्वाचनपछि पनि कार्यान्वयन गर्न सकेको थिएन । त्यति बेला संसदीय दलको नेतामा पार्टी सभापति लामिछानेलाई सांसदहरूले सर्वसम्मत चयन गरेका थिए । यस पटक पनि विधानको व्यवस्था प्रयोगमा आउने सम्भावना नरहेकाले संशोधन गर्ने कि नगर्ने भन्नेबारे पार्टीभित्र छलफल भइरहेको थियो । 

रास्वपाको विधानको संसदीय दल नेताको निर्वाचन गर्ने व्यवस्था राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को व्यवस्थासँग बाझिएको छ । ऐनको दफा २५ मा संसदीय दलको नेता निर्वाचन गर्नेसम्बन्धी व्यवस्था छ । ‘सम्बन्धित दलको निर्देशनबमोजिम संघीय संसद् वा प्रदेशसभाको संसदीय दलका सदस्यले आफूमध्ये एक जना संसदीय दलको नेता निर्वाचित गर्नेछन्,’ ऐनको प्रावधान छ । सांसदहरूले मात्रै संसदीय दलको नेता चयन गर्नुपर्ने नेपालको मौजुदा कानुन हो । रास्वपाको विधानमा भने चुनाव पहिल्यै साधारण सदस्यसमेतले भोट हालेर संसदीय दलको नेता निर्वाचित गर्नुपर्ने व्यवस्था छ । 

तय भयो प्रधानमन्त्रीमा शाहको शपथ साइत 

प्रधानमन्त्रीमा शाहलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ गराउनेछन् । शपथ ग्रहण कार्यक्रममा ७ वटा शंखनाद, १ सय ८ जना बटुकबाट स्वस्तिवाचन र १६ जना बौद्ध भिक्षुबाट अष्टमंगल पाठ गर्ने कार्यक्रम छ ।प्रधानमन्त्रीमा रास्वपा वरिष्ठ नेता शाहले शुक्रबार शपथ ग्रहण गर्ने भएका छन् । प्रधानमन्त्रीको शपथका लागि रास्वपाले राष्ट्रपति कार्यालयसँग मिलेर अनौपचारिक तयारी गरिरहेको छ । शपथको औपचारिक जानकारीका लागि राष्ट्रपति कार्यालयले बिहीबार नै सूचना जारी गर्ने भएको छ । प्रधानमन्त्रीमा शाहको शपथ शुक्रबार १२ बजेर ३४ मिनेटमा गर्ने साइत जुरेको रास्वपा महामन्त्री बुर्लाकोटीले जनाए ।  

प्रधानमन्त्रीमा शाहलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ गराउनेछन् । शपथ ग्रहण कार्यक्रममा ७ वटा शंखनाद, १ सय ८ जना बटुकबाट स्वस्तिवाचन र १६ जना बौद्ध भिक्षुबाट अष्टमंगल पाठ गर्ने कार्यक्रम छ । 

प्रधानमन्त्री शाहको शपथ ग्रहण कार्यक्रमको तयारी सुरु गरिसकिएको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले पुष्टि गरे । ‘शुक्रबार शपथ गराउन अनौपचारिक तयारी भइरहेको छ । शपथ ग्रहणका क्रममा स्वस्तिवाचनलगायत व्यवस्था गर्नुपर्छ भनिएको छ । त्यसैअनुसार हामीले बटुकलाई संलग्न गराउने तयारी गर्दै छौं । बौद्ध भिक्षु ल्याउने तयारीबारे पनि छलफल भएको छ,’ शाक्यले भने ।

शपथ ग्रहण गरेर शाह पद बहाली गर्न करिब २ः१५ बजेतिर सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय प्रवेश गर्ने समय तय भएको महामन्त्री बुर्लाकोटीले बताए ।

जयसिंह महरा विगत १० वर्षदेखि पत्रकारिता गरिरहेका छन् । उनी संसदीय मामिलासँगै राजनीतिक घटनाक्रमका समाचार लेख्छन् ।

Link copied successfully