१०८ बटुकबाट स्वस्ति शान्ति वाचन र १६ जना बौद्ध भिक्षुद्वारा अष्टमंगल पाठ गराइने
काठमाडौँ — रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहले शुक्रबार दिउँसो १२:३४ बजे प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ लिने भएका छन् । रास्वपा नेताका अनुसार प्रधानमन्त्रीको शपथको साइत त्यतिबेलालाई जुरेको हो ।
राष्ट्रपति भवन, शीतल निवासमा हुने शपथ ग्रहणमा ७ वटा शंखनाद हुनेछ । त्यस्तै १०८ जना बटुकबाट स्वस्ति शान्ति वाचन र १६ जना बौद्ध भिक्षुद्वारा अष्टमंगल पाठ गराइने कार्यक्रम रहेको रास्वपाले जनाएको छ ।
त्यसअघि बिहीबार सांसदहरूले पद तथा गोपनीयताको शपथ लिने छन् । बुधबार प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शपथ लिइसकेका छन् । केसीले नै अन्य सदस्यलाई शपथ खुवाउनेछन् ।
फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा रास्वपा १८२ सिटसहित सबैभन्दा ठूलो दल बनेको छ । रास्वपाले चुनावअघि नै वरिष्ठ नेता शाहलाई प्रधानमन्त्री बनाउने उद्घोष गरेको थियो ।
