सिंहदरबारमा ६ दलका संसदीय कार्यालय तयार

कांग्रेस र एमालेलाई भने साबिककै संसदीय दलका कार्यालयमा निरन्तरता दिइएको छ ।

चैत्र ९, २०८२

कान्तिपुर संवाददाता

Parliamentary offices of 6 parties ready at Singha Durbar

काठमाडौं — संघीय संसद् सिंहदरबारभित्रबाटै सञ्चालन हुने तयारीसँगै नवनिर्वाचित ६ राष्ट्रिय दलका संसदीय कार्यालयहरू व्यवस्थापन अन्तिम चरणमा पुगेका छन् ।

दलहरूको सांसद संख्या र पदाधिकारीको आवश्यकताअनुसार कक्षहरू छुट्याइएको छ भने अधिकांश स्थानमा रङ्गरोगन, कार्पेट र फर्निचर जडानको काम सम्पन्न भइसकेको छ । यसपटक बहुमतसहित उदाएको रास्वपालाई भने सबैभन्दा ठूलो कक्ष दिइएको छ । सचिवालय भवन नम्बर २ मा व्यवस्थित गरिएको रास्वपाको संसदीय दलको कक्षमा १८० कुर्सीसहितको बैठक हल राखिएको छ ।

पूर्ववत् प्रयोगमा रहेका कार्पेट, पर्दा र अधिकांश फर्निचर नै पुनः प्रयोग गरिएको छ । थोरै नयाँ थपिएका छन् । खर्च कटौतीलाई प्राथमिकता दिने दलको धारणाअनुसार रास्वपाका महामन्त्री एवं नवनिर्वाचित सांसद कबिन्द्र बुर्लाकोटीले नयाँ खरिद नगरी उपलब्ध सामग्रीबाटै व्यवस्थापनका लागि गरेको आग्रहअनुसार व्यवस्थापन गरिएको कर्मचारी बताउँछन् ।

बैठक हलसँगै पदाधिकारीका लागि थप ५ कक्षसमेत तयार पारिएको छ ।

यसअघि रास्वपाले प्रयोग गर्दै आएको भवनमा भने अन्य दलहरूको कार्यालय व्यवस्थापन गरिएको छ । नेकपा, श्रम संस्कृति पार्टी र राप्रपाका संसदीय दलका कक्षहरू त्यही भवनमा तयार गरिएको छ । ती कक्षहरूमा रङ्गरोगन सम्पन्न भइसकेको छ भने कार्पेट र फर्निचर जडानको काम जारी छ ।

कांग्रेस र एमालेलाई भने साबिककै संसदीय दलका कार्यालयमा निरन्तरता दिइएको छ । सांसद सङ्ख्या र पदाधिकारीका आधारमा कोठा विभाजन गरिएका छन् । सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार यो व्यवस्था अल्पकालीन भए पनि संसद् सञ्चालन सुरु हुने समयसम्म सबै दलका संसदीय कार्यालय पूर्ण रूपमा तयार भइसक्नेछन् । 

कान्तिपुर

Link copied successfully