बैठकमा सहभागी नेता मिन विश्वकर्माका अनुसार निर्वाचन समीक्षा र समसामयिक विषयमा छलफल गर्नका लागि यथाशिघ्र देउवा पक्षमा रहेका तत्कालीन केन्द्रीय कार्यसमितिको बैठक बोलाउने निर्णय भएको छ ।
काठमाडौँ — कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माको अध्यक्षतामा सानेपामा बैठक चलिरहँदा तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काको निवासमा बसेको देउवा पक्षको भेलाले पनि निर्वाचनको समीक्षा र समसामयिक विषयमा छलफल गर्न बैठक बोलाउने निर्णय गरेको छ ।
बैठकमा सहभागी नेता मिन विश्वकर्माका अनुसार निर्वाचन समीक्षा र समसामयिक विषयमा छलफल गर्नका लागि यथाशिघ्र देउवा पक्षमा रहेका तत्कालीन केन्द्रीय कार्यसमितिको बैठक बोलाउने निर्णय भएको छ ।
सर्वोच्चको फैसला अगाडि कांग्रेसभित्र एकताको आधार कमजोर भएको विश्कर्माले बताए । देउवा पक्षले पनि पार्टीको हारमा कारणहरुमाथि छलफल गर्न बैठक बोलाउन लागेको हो । यता शुक्रबारदेखि चलेको कांग्रेस बैठकले निर्वाचन पार्टीले निर्वाचन हार्नुमा विशेष महाविधेशन र त्यसपछि आएको नेतृत्वको कारणले नभएर त्यसअघि थुप्रिएका बेथितिको मुख्य कारण रहेको औंल्याएको छ । उपसभापति शर्माले निर्वाचनमा पार्टीले अपेक्षा अनुसार नतिजा प्राप्त गर्न नसक्नुका विभिन्न कारणहरु केलाउँदै २७ बुँदाको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कांग्रेसले निर्वाचनमा हार्नुमा विशेष महाधिवेशन अगाडिको नेतृत्वलाई मुख्य जिम्मेवार ठर्याएकोमा असन्तुष्ट देउवा पक्षले पनि आफ्नो तर्फबाट समीक्षाका लागि बैठक बोलाउन लागेको हो । विश्वकर्माका अनुसार देउवा समूहका रहेका विभिन्न नेताहरुसँगको परामर्शपछि चाँडै नै बैठक बोलाइने छ ।
सर्वोच्चको फैसला अगाडि पार्टी एकताको आधार निर्माण नहुने अवस्था बनेको विश्कर्माले बताए । ‘पार्टी एकता कमजोर पक्षले गर्ने हो, अहिले कमजोर हुन कुनै पनि पक्ष तयार देखिएको छैन । त्यसैले अदालतको फैसला अगाडि समानान्तर गतिविधि हुने देखिन्छ,’ उनले भने, ‘अदालतको फैसला आइसकेपछि भने सबैले मान्नुपर्ने हुन्छ ।’
निर्वाचन आयोगले विशेष महाधिवेशनबाट चयन भएको केन्द्रीय कार्यसमितिलाई मान्यता दिने निर्णय गरेकामा विरोधमा पूर्वसभपाति शेरबहादुर देउवा र तत्कालीन कार्यवाहक सभापति खड्काले अदालतमा रिट हालेका छन् । उक्त मुद्दाको आगामी चैत २२ गते तारेख तोकिएको छ ।
बैठकमा नेता शेखर कोइराला, विमलेन्द्र निधि, प्रकाशशरण महत, बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की, धनराज गुरुङ, शशांक कोइराला, जीवन परियार, बद्री पाण्डे, दीपक गिरी, रमेश लेखकसहितको उपस्थित थियो । बैठकमा उपस्थितमध्ये कोइराला, निधि, महत, कार्की, गिरीले सभापति थापाको हस्ताक्षरबाट टिकट लिएर चुनाव लडेका थिए ।
कांग्रेस सभापति शेरबहादुर देउवा पनि सिंगापुरबाट चाँडै फर्कने तयारीमा छन् । देउवाको सचिवालयले जारी गरेको विज्ञप्ती अनुसार देउवा दम्पती अहिले सिंगापुरबाट हङकङ गएका छन् । हङकङमा थप स्वास्थ्य उपचार गरेपछि नेपाल फर्कने कार्यक्रम रहेको जनाइएको छ । देउवा दम्पती भोटसमेत नहाली विदेशिएका थिए । देउवा १३ फागुनमा सिंगापुर गएका थिए । त्यसअघि १० फागुनमा श्रीमती आरजु राणा देउवा भारत गएकी थिइन् । भारतबाट उनी सिधै सिंगापुर गएकी हुन् ।
