१३ चैतमा बालेन्द्र सरकार, १५ मन्त्रालय बनाउने समझदारी

संसदीय दलको नेतामा शाहलाई चयन गर्न रास्वपाको विधान, संशोधन गर्ने निर्णय, मन्त्रीहरू टुंगो लगाउने जिम्मा सभापति लामिछाने र वरिष्ठ नेता शाहलाई, मन्त्रीहरूको शपथ पनि १३ चैतमै

चैत्र ६, २०८२

जयसिंह महरा

Balendra government to form 15 ministries on Chaitra 13

काठमाडौँ — नवनिर्वाचित सांसदले शपथ लिएको भोलिपल्ट १३ चैतमा रास्वपा वरिष्ठ नेता बालेन्द्र शाहले राष्ट्रपतिसमक्ष शपथ लिएर प्रधानमन्त्रीको कार्यभार सम्हाल्ने भएका छन् । रास्वपाका शीर्ष नेताबीच बालेन्द्र सरकारमा बढीमा १५ मन्त्रालय रहने समझदारी बनेको छ ।

उनीहरूबीच बिहीबार भएको बैठकमा प्रधानमन्त्रीको शपथ र मन्त्रिपरिषद् गठनबारे छलफल भएको हो । सभापति रवि लामिछाने, वरिष्ठ नेता शाह, उपसभापतिद्वय डीपी अर्याल र स्वर्णिम वाग्ले सहभागी बैठकमा प्रधानमन्त्रीको शपथसँगै सरकारका सुरुवाती चरणका प्राथमिकताबारे परामर्श भएको छ ।

 प्रतिनिधिसभामा झन्डै दुई तिहाइको सुविधाजनक बहुमत प्राप्त भएकाले सांसदको शपथ लिएपछि मात्र प्रधानमन्त्री पदको शपथ लिने टुंगो नेताहरूले लगाएका हुन् । सांसदको शपथ १२ चैतमा हुने तय भएपछि रास्वपाका शीर्ष नेताबीच प्रधानमन्त्रीको शपथ भोलिपल्ट लिने र सोही दिन मन्त्रिपरिषद्मा सहभागी हुने मन्त्रीलाई पनि शपथ लिन लगाउने समझदारी बनेको छ । 

निर्वाचन आयोगले समानुपातिक प्रणालीबाट निर्वाचित प्रतिनिधिसभा सदस्यलाई बिहीबार प्रमाणपत्र वितरण गरेको छ । बिहीबार नै आयोगले प्रतिनिधिसभा निर्वाचनको प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएर त्यसको जानकारी संघीय संसद् सचिवालयलाई दिएको छ । त्यससँगै नयाँ सरकार गठनको बाटो खुलेकाले रास्वपाका नेताहरू सरकार गठनको गृहकार्यमा जुटेका हुन् ।

सांसदको शपथ, संसदीय दलको कार्यालय र सांसदलाई अभिमुखीकरणका विषयमा संसद् सचिवालयले ६ राजनीतिक दलहरू रास्वपा, कांग्रेस, एमाले, नेकपा, श्रम संस्कृति र राप्रपाका प्रतिनिधिलाई बोलाएर बिहीबार दिउँसो छलफल गरेको थियो । संसद् सचिवालयले सांसदको शपथ मिति तय गरेपछि रास्वपाका शीर्ष नेताले बैठक बसेर प्रधानमन्त्री पदमा पार्टी वरिष्ठ नेता शाहले कहिले शपथ लिने भन्ने मिति प्रस्ताव गरेका हुन् । उक्त मितिमा प्रधानमन्त्रीको शपथ गराउने प्रबन्ध गर्ने प्रस्ताव राष्ट्रपति कार्यालयमा पठाउने तयारी भएको रास्वपाका नेताहरूले बताएका छन् । 

रास्वपा महामन्त्री कवीन्द्र बुर्लाकोटीले प्रधानमन्त्री पदको शपथ सम्बन्धमा राष्ट्रपति कार्यालय र प्रधानमन्त्री कार्यालयसँग परामर्श भएको जानकारी दिए । ‘प्रधानमन्त्रीको शपथ १३ चैतमा प्रस्ताव तय भएको छ, यो विषयमा राष्ट्रपति कार्यालय र प्रधानमन्त्री कार्यालयमा परामर्श गरेरै मिति पठाइएको छ । मन्त्रीहरूको शपथ पनि सोही दिन गर्ने तयारी छ,’ बुर्लाकोटीले कान्तिपुरसँग भने ।

 प्रतिनिधिसभाका नवनिर्वाचित सांसदको शपथ १२ चैत दिउँसो २ बजे तय भएको छ । संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँगको परामर्शपछि सांसदको शपथ मिति तय भएको हो । संसद् सचिवालयले सांसदको शपथका लागि सार्वजनिक सूचना जारी गरिसकेको छ । सांसदको शपथ निर्माणाधीन संसद् भवनको बहुउद्देश्यीय सभाकक्षमा गर्ने प्रबन्ध गरिएको छ । 

सांसदको शपथ, संसदीय दलको कार्यालय र सांसदलाई अभिमुखीकरणका विषयमा संसद् सचिवालयले ६ राजनीतिक दलहरू रास्वपा, कांग्रेस, एमाले, नेकपा, श्रम संस्कृति र राप्रपाका प्रतिनिधिलाई बोलाएर बिहीबार दिउँसो छलफल गरेको थियो । 

रास्वपा शीर्ष नेताहरूको बैठकमा सरकारका सुरुवाती चरणका प्राथमिकतामा के–के विषय रहने भन्नेबारे छलफल भएका छन् । वरिष्ठ नेता शाह सभापति लामिछानेसहितका नेताहरूसँग पछिल्लो समय सरकार गठनलगायतका विषयमा निरन्तर छलफलमा छन् । शाहनिकट स्रोतका अनुसार निर्वाचनको समीक्षासँगै मन्त्रीहरूको छनोट, सरकार गठन भएपछि गर्ने कामको प्राथमिकीकरणलगायत विषयमा निरन्तर छलफल चलिरहेको छ । 

सभापति लामिछानेसहित उपसभापतिद्वय र सांसदहरू भने मंगलबार र बुधबार अभिमुखीकरण तथा परिचयात्मक कार्यक्रममा व्यस्त थिए । त्यो काम सकिएपछि पार्टीका चारै शीर्ष नेता बसेर सरकार गठन लगायतका विषयमा छलफल गरेका हुन् । बैठकमा सहभागी नेताहरूका अनुसार सरकार गठनसँगै ‘सुशासन’ का कदम चाल्ने समझदारी बनेको छ ।

शीर्ष नेताहरूबीचको बैठकमा मन्त्रिपरिषद्मा कति सदस्य सहभागी हुने भन्नेबारे पनि सामान्य छलफल भएको छ । बालेन्द्र सरकारमा बढीमा १५ मन्त्रालय हुने समझदारी बनेको छ । संविधानको धारा ७६ (९) मा मन्त्रिपरिषद्को आकारबारे व्यवस्था गरिएको छ । मन्त्रिपरिषद्को आकारबारे संविधानमा भनिएको छ, ‘राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिसमा संघीय संसद्का सदस्यमध्येबाट समावेशी सिद्धान्तबमोजिम प्रधानमन्त्रीसहित बढीमा २५ जना रहेको मन्त्रिपरिषद् गठन गर्नेछ ।’ मन्त्री भन्नाले उपप्रधानमन्त्री, मन्त्री, राज्यमन्त्री र सहायकमन्त्री सम्झनुपर्ने संविधानको व्यवस्था छ । मन्त्री कसलाई बनाउने र कति जना हुने भन्ने विषयमा सभापति लामिछाने र वरिष्ठ नेता शाहबीच थप छलफल हुने नेताहरूको भनाइ छ ।

सांसद पदको शपथ लिनुपहिले नै केन्द्रीय समितिको बैठक बसेर विधान संशोधन गर्नेबारे पनि शीर्ष नेताहरूबीच छलफल भएको छ । रास्वपा केन्द्रीय समितिको एउटा बैठक बोलाएर विधान संशोधनको विषयमा निर्णय लिइने एक नेताले बताए । रास्वपाले पार्टी विधानमा रहेको संसदीय दलको नेता चयनसम्बन्धी व्यवस्था संशोधन गर्न लागेको हो । 

निर्वाचनमा खसेको मतको ५० प्रतिशत कटाउने उम्मेदवार संसदीय दलको नेता हुने व्यवस्था विधानमा छ । कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत कटाउन नसके सबैभन्दा बढी मत ल्याउने दुई उम्मेदवारबीच पुनः निर्वाचन हुने व्यवस्था विधानमा छ ।संसदीय दलको नेता चयन गर्नेबारे पार्टीको विधानको व्यवस्था राजनीतिक दलसम्बन्धी ऐन, २०७३ सँगसमेत बाझिने भएपछि केन्द्रीय समितिबाट संशोधन गर्न लागिएको हो । राजनीतिक दलसम्बन्धी ऐनको दफा २५ मा संसदीय दलको नेता निर्वाचन गर्ने व्यवस्था छ । ‘सम्बन्धित दलको निर्देशनबमोजिम संघीय संसद् वा प्रदेशसभाको संसदीय दलका सदस्यले आफूमध्येबाट एक जना संसदीय दलको नेता निर्वाचित गर्नेछ,’ ऐनमा भनिएको छ । सांसदले मात्रै संसदीय दलको नेता चयन गर्ने ऐनको व्यवस्थासँग बाझिने गरी रास्वपाको विधानमा पार्टीका साधारण सदस्य पनि संसदीय दलको निर्वाचनमा मतदाता हुने व्यवस्था छ । 

रास्वपाको विधान, २०७९ को धारा ६६ मा संघीय संसद्मा निर्वाचित साधारण सदस्य संसदीय दलको सदस्य रहने गरी प्रतिनिधिसभा संसदीय दल गठन गरिने उल्लेख छ । रास्वपामा संसदीय दलको नेता १, उपनेता १, प्रमुख सचेतक १, सचेतक १ र कोषाध्यक्ष १ जना रहने विधानमा उल्लेख छ । राजनीतिक दलसम्बन्धी ऐनमा भने पार्टीको संसदीय दलमा उपनेता, सचेतक वा सदस्य सचिव दलको नेताले मनोनयन गर्ने भनिएको छ । 

रास्वपा पार्टी विधानको धारा ६६ (८) मा पार्टीका साधारण सदस्यले संसदीय दलको नेता चयन गर्ने व्यवस्था छ । धारा ६६ को उपधारा ८ (क) मा भनिएको छ, ‘संघीय निर्वाचनअगावै पार्टीका तर्फबाट संघीय निर्वाचनका लागि समानुपातिक र प्रत्यक्षतर्फ छनोट भएका उम्मेदवारमध्ये इच्छुक उम्मेदवारबीच प्रतिनिधिसभा संसदीय दलको नेता छनोटका लागि निर्वाचन हुनेछ । (दल नेताको) निर्वाचनमा पार्टीका सम्पूर्ण साधारण सदस्य मतदाता हुनेछन् ।’

निर्वाचनमा खसेको मतको ५० प्रतिशत कटाउने उम्मेदवार संसदीय दलको नेता हुने व्यवस्था विधानमा छ । कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत कटाउन नसके सबैभन्दा बढी मत ल्याउने दुई उम्मेदवारबीच पुनः निर्वाचन हुने व्यवस्था विधानमा छ । पार्टीले सरकारको नेतृत्व लिए संसदीय दलको नेता प्रधानमन्त्री हुने व्यवस्था पनि विधानमा छ । विधानको यो व्यवस्था २०७९ को चुनावपछि कार्यान्वयन भएको थिएन भने यस पटक चुनाव पहिले नै दलको नेतामा बालेन्द्र शाह हुने भनी रास्वपाले घोषणा गरेको थियो ।

 रास्वपा सभापति लामिछाने र काठमाडौं महानगरका तत्कालीन मेयर शाहबीच १३ पुसमा गरिएको सहमतिको बुँदा नं. ४ मा लेखिएको छ, ‘राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सभापति रवि लामिछाने रहने र आसन्न प्रतिनिधिसभाको निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह हुने ।’ शाहलाई संसदीय दलको नेता र प्रधानमन्त्री बनाउने सहमति भइसकेको, विधानको व्यवस्था कार्यान्वयन हुने सम्भावना नरहेकाले संशोधन गरेर अगाडि बढ्ने तयारीमा रास्वपा जुटेको हो । 

प्रतिनिधिसभाको २१ फागुनमा सम्पन्न निर्वाचनमा रास्वपा प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल बनेको छ । २७५ सदस्यीय प्रतिनिधिसभामा रास्वपाले झन्डै दुई तिहाइ अर्थात् १८२ सिट जितेको छ । प्रतिनिधिसभामा दुई तिहाइ बहुमतका लागि १८४ सिट आवश्यक पर्छ । काठमाडौंको मेयरबाट राजीनामा गरेर पार्टी राजनीतिमा होमिएका शाहले संसद्मा एकल बहुमतको सरकारको नेतृत्व १३ चैतबाट गर्न लागेका हुन् । प्रधानमन्त्री पद सम्हाल्ने मिति तय गर्न बसेको रास्वपाको शीर्ष नेतृत्वको बैठकको तस्बिर सार्वजनिक गर्दै उपसभापति वाग्लेले सामाजिक सञ्जालमा लेखेका थिए, ‘राजकाज, आज साँझको छलफल !’

जयसिंह महरा विगत १० वर्षदेखि पत्रकारिता गरिरहेका छन् । उनी संसदीय मामिलासँगै राजनीतिक घटनाक्रमका समाचार लेख्छन् ।

Link copied successfully