नयाँ सरकार गठन चैत १५ आसपास, २ सय ७५ सदस्यीय प्रतिनिधिसभामा सरकार गठन गर्न सामान्य बहुमतका लागि १ सय ३८ जना सांसदको समर्थन चाहिन्छ।
काठमाडौँ — निर्वाचन आयोगले २१ फागुनमा भएको प्रतिनिधिसभा सदस्यको निर्वाचन परिणामसम्बन्धी प्रतिवेदन बिहीबार राष्ट्रपतिलाई बुझाउने भएको छ । यता संसद् सचिवालयले नवनिर्वाचित सांसदको शपथग्रहण कार्यक्रम १२ चैतमा राख्ने तयारी गरेको छ । सांसदको शपथपछि मात्र रास्वपाले संसदीय दलको नेता चुन्ने भएकाले नयाँ सरकार गठनमा समय लाग्ने देखिएको छ ।
आयोगले प्रतिवेदन बुझाउन राष्ट्रपति कार्यालयबाट बिहीबार अपराह्न ४ बजेको समय पाएको हो । त्यसपछि राष्ट्रपतिले निर्वाचन परिणाम प्रतिवेदन संसद् सचिवालयलाई पठाउनुपर्नेछ । राष्ट्रपति कार्यालय र संसद् सचिवालयले प्रतिवेदन प्राप्त गरिसकेपछि मात्र निर्वाचन परिणामले औपचारिकता पाउनेछ । आयोगको प्रतिवेदन राष्ट्रपति कार्यालयमार्फत पाएपछि मात्र संसद् सचिवालयले शपथसम्बन्धी प्रक्रिया अघि बढाउनेछ ।
संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले निर्वाचन परिणामको औपचारिक जानकारी सचिवालयलाई प्राप्त हुनासाथ शपथसम्बन्धी सूचना आह्वान गरिने बताए । उनका अनुसार सबै निर्वाचित सांसदलाई काठमाडौं आउन लाग्ने समय दिएर शपथको मिति तय गरिनेछ । शपथका लागि काठमाडौं आइपुग्न कम्तीमा एक साताको समय राखेर १२ चैतमा शपथग्रहण कार्यक्रम राख्ने गृहकार्य भएको उनले बताए ।
प्रतिनिधिसभा निर्वाचन ऐनले प्रतिनिधिसभाको अध्यक्षता गर्ने व्यक्तिसमक्ष निर्वाचित सांसदले शपथ लिनुपर्ने तोकेको छ । सभामुख र उपसभामुख निर्वाचित नभएको अवस्थामा प्रतिनिधिसभाको अध्यक्षता उपस्थित सदस्यमध्ये उमेरका हिसाबले ज्येष्ठ सदस्यले गर्ने संविधानको धारा ९१(५) मा उल्लेख छ । संसद् सचिवालयले निर्वाचन परिणामको प्रतिवेदन प्राप्त गरिसकेपछि ज्येष्ठ सदस्य पहिचान गर्नेछ । ज्येष्ठ सदस्यले राष्ट्रपतिबाट शपथ लिएपछि उनले निर्वाचित भएर आएका सांसदलाई शपथ गराउनेछन् । नयाँ बन्दै गरेको संसद् भवनमा रहेको बहुउद्देश्यीय हललाई सांसदको शपथग्रहण समारोहका लागि तयार गरिँदै छ ।
२ सय ७५ सदस्यीय प्रतिनिधिसभामा सरकार गठन गर्न सामान्य बहुमतका लागि १ सय ३८ जना सांसदको समर्थन चाहिन्छ । रास्वपा एक्लैको १ सय ८२ सांसद भएकाले उसले सुविधाजनक बहुमत पाएको छ । संविधानको धारा ७६(१) मा राष्ट्रपतिले प्रतिनिधिसभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्ने र निजको अध्यक्षतामा मन्त्रिपरिषद् गठन हुने व्यवस्था छ ।
सरकार निर्माणका लागि रास्वपाले पहिला संसदीय दलको नेता छान्नुपर्छ । पार्टी प्रवक्ता मनीष झाले निर्वाचित सांसदले शपथ लिएपछि मात्र संसदीय दलको नेता छान्ने बताए । ‘पहिला शपथ त्यसपछि मात्र संसदीय दल गठन गर्ने स्वाभाविक प्रक्रिया हो,’ उनले कान्तिपुरसँग भने, ‘संसद्को शपथपछि मात्र सरकार निर्माण प्रक्रिया अघि बढ्नेछ ।’
नयाँ प्रधानमन्त्रीको नियुक्ति तथा सरकार गठनका लागि चैतको दोस्रो सातासम्म कुर्नुपर्ने उनले उल्लेख गरे । रास्वपाले भावी प्रधानमन्त्रीमा बालेन्द्र (बालेन) शाहलाई अगाडि सारेर चुनावमा होमिएको थियो । रास्वपाको विधानमा संसदीय दलको नेता पार्टीका सम्पूर्ण सदस्यहरूको मतदानबाट छानिने प्रावधान छ । विधानको भाग–२१ मा संसदीय दलसम्बन्धी व्यवस्था छ । त्यसको धारा ६६(८) को (क) मा संघीय निर्वाचनअगावै पार्टीका तर्फबाट संघीय निर्वाचनका लागि समानुपातिक र प्रत्यक्षतर्फबाट छनोट भएका उम्मेदवारमध्ये इच्छुक उम्मेदवारबीच प्रतिनिधिसभा संसदीय दलको नेता छनोट हुने भनिएको छ ।
संसदीय दलको नेता छान्न हुने निर्वाचनमा पार्टीका सम्पूर्ण साधारण सदस्य मतदाता हुन पाउने त्यही धाराको (ख) मा भनिएको छ । पार्टीले निर्वाचनपूर्व बालेन शाहलाई भावी प्रधानमन्त्री भने पनि विधानअनुसार संसदीय दलको नेता छान्ने प्रक्रिया पूरा गरेको थिएन । निर्वाचनपूर्व नै प्रस्तावित संसदीय दलको नेता निर्वाचनमा पराजित भएमा वा कुनै कारणवश संसदीय दलको नेताको पद रिक्त भएमा पार्टीका तर्फबाट विजयी इच्छुक उम्मेदवारबीच प्रतिनिधिसभा संसदीय दलको नेता छनोटका लागि निर्वाचन हुने धारा ६६(८) को (च)मा भनिएको छ ।
त्यस निर्वाचनमा पनि पार्टीर्का सम्पूर्ण सदस्य मतदाता हुने विधानको व्यवस्था छ । विधानको त्यो व्यवस्थालाई संशोधन गर्नुपर्ने बहससमेत रास्वपाभित्र उठेको छ । तर, विधानको त्यो व्यवस्था अभ्यासमै नआइसकेको र पहिला रवि लामिछाने पनि सांसदहरूबाटै संसदीय दलका नेता चुनिएकाले विधानले कुनै अप्ठ्यारो नपार्ने तर्क पनि केही नेताहरूले अघि सारेका छन् ।
रास्वपाका केन्द्रीय सदस्य तथा निर्वाचित सांसद शिशिर खनाल पार्टीका सबै सदस्यको मतदानबाट संसदीय दलको नेता छान्ने विधानको व्यवस्था अभ्यासमा नआएको बताउँछन् । ‘पार्टी स्थापनाकालमा विधान बनाउने बेला त्यो प्रावधान राखिएको हो, तर व्यावहारिक भएन । ०७९ को चुनावपछि संसदीय दलको नेता छान्दा पनि त्यो प्रयोगमा आएन,’ उनले कान्तिपुरसँग भने, ‘निर्वाचित भएर आएका सांसदबाटै त्यतिबेला पार्टी सभापति रवि लामिछाने संसदीय दलका नेता चुनिनुभएको हो ।’
संसदीय दलको विधान र कार्यविधि छुट्टै रहेको पनि उनले बताए । चुनावपूर्व नै आगामी प्रधानमन्त्री बालेन शाह हुने र पार्टीको नेतृत्व रवि लामिछानेले गर्ने भन्दै भएको ७ बुँदे सहमतिलाई केन्द्रीय कार्यसमितिले अनुमोदन गरिसकेकाले संसदीय दलको नेता छान्नलाई विधानले कुनै अप्ठ्यारो नपारेको उनको भनाइ छ । १२ चैतमा संसद्हरूको शपथ हुने भएकाले त्यसपछि नयाँ सरकार गठन अघि बढ्ने उनले बताए ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले निर्वाचनको परिणाम प्रतिवेदन राष्ट्रपतिलाई बुझाएसँगै प्रतिनिधिसभा निर्वाचनसँग जोडिएका कार्यक्रम पूरा हुने बताएका छन् । नयाँ सरकार गठन तथा सांसदको शपथ लगायतका कार्यक्रममा राष्ट्रपति कार्यालय, संसद् सचिवालय तथा राजनीतिक दलकै भूमिका रहने उनले उल्लेख गरे ।
समानुपातिक निर्वाचन प्रणालीतर्फबाट निर्वाचित भएका १ सय १० जना सदस्यलाई बिहीबार आयोग परिसरमा प्रमाणपत्र दिने कार्यक्रम छ । प्रत्यक्षबाट निर्वाचित १ सय ६५ जनाले सम्बन्धित निर्वाचन क्षेत्रका निर्वाचन अधिकृतबाटै निर्वाचित प्रमाणपत्र पाइसकेका छन् । समानुपातिक निर्वाचन प्रणालीको निर्वाचन अधिकृत आयोगका सचिव कृृष्णबहादुर राउत छन् । उनैले समानुपातिक सांसदलाई प्रमाणपत्र दिनेछन् ।
प्रतिनिधिसभामा रास्वपाको १ सय ८२, कांग्रेसको ३८, एमालेको २५, नेकपाको १७, श्रम संस्कृतिको ७, राप्रपाको ५ र स्वतन्त्रको १ सिट रहेको छ । रास्वपा प्रवक्ता झाले विगतजस्तो गठबन्धनको सरकार बन्ने परिस्थिति नभएकाले यसपालि हतारो–चटारो नरहेको बताए । ‘हामीसँग सुविधाजनक बहुमत छ, कुनै दललाई फकाउनुपर्ने, कुरा मिलाउनुपर्ने अवस्था छैन,’ उनले भने, ‘त्यही भएर हतारो पनि छैन, नियमसंगत सबै प्रक्रिया पूरा भएपछि सरकार गठनमा प्रवेश गर्नेर्छौं ।’
