रास्वपाको अभिमुखीकरणमा सहभागी सांसद भन्छन्: सदनमा फरक देखिनेछौं

नयाँ र पुनर्निर्वाचित सांसदहरूले अभिमुखीकरण कार्यक्रमले संसदीय अभ्यास, जिम्मेवारी र आचरणबारे स्पष्ट दिशा दिएको प्रतिक्रिया दिएका छन् ।

चैत्र ४, २०८२

विवेक पोख्रेल

MPs participating in RSVP orientation say: We will look different in the House

What you should know

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नवनिर्वाचित सांसदहरूका लागि आयोजना गरेको दुईदिने अभिमुखीकरण कार्यक्रम ‘उपलब्धिमूलक’ भएको सहभागी सांसदहरूले बताएका छन् । नयाँ र पुनर्निर्वाचित सांसदहरूले कार्यक्रमले संसदीय अभ्यास, जिम्मेवारी र आचरणबारे स्पष्ट दिशा दिएको प्रतिक्रिया दिएका हुन् ।

कैलाली-५, बाट विजयी आनन्दबहादुर चन्दले कार्यक्रमलाई ‘सेन्सिटाइजेसन’ का रूपमा उपयोगी भएको बताए । ‘दुई दिनमै सबै कुरा सिकिन्छ भन्ने होइन, तर यसले हामीलाई अध्ययन, अनुसन्धान र तथ्यमा आधारित भएर बोल्नुपर्ने सन्देश दिएको छ,’ उनले भने,‘यो अभिमुखीकरणले हाम्रो चेतना, समझदारी र जिम्मेवारी बढाउन मार्गदर्शन भएको छ । जसको लागि म पार्टीलाई धन्यवाद दिन्छु ।’

समानुपातिकतर्फ निर्वाचित सांसद क्रान्तिशिखा धितालले पनि अभिमुखीकरणले सकारात्मक राजनीतिक संस्कार निर्माणमा ठूलो मद्दत पुगेको बताइन् । ‘अनुभव भएका नेताहरूबाट सिक्ने अवसर मिल्यो । कति कुरा हामीले पढेर वा लेखेर बुझ्न सकिँदैन, धेरै कुरा त अनुभवबाटै सिकिन्छ । राज्यको उच्च तहमा पुगेपछि सिकाइको आवश्यकता अझ बढ्छ, त्यसैले यो कार्यक्रमले व्यक्तिगत रूपमा धेरै फाइदा पुर्‍याएको छ,’ उनले भनिन्,‘अभिमुखीकरणको क्रममा सांसद बन्नु भनेको सार्वजनिक जीवनमा प्रवेश गर्नु भएकाले आचरण र व्यवहारमा ध्यान दिनुपर्ने कुरा पनि सिकाइएको थियो । सबै साथीहरूमा एकदमै सकारात्मक र ऊर्जा भरिएको माहोल सिर्जना गरेको छ ।’ धितालका अनुसार एजेन्डाका विषयमा हल्काफुल्का छलफल भए पनि अभिमुखीकरणमा आफूहरूको आचरण कस्तो हुनुपर्छ भन्ने विषयसँगै साना–साना कुरामा पनि ध्यान दिनुपर्ने भएकाले ती विषयहरू सिकाइको क्रममा प्राथमिकतामा परेका थिए । ‘देश बनाउने र परिवर्तन गर्ने अभियानसँग जोडेर हामी अघि बढेका छौं,’ उनले थपिन्,‘एउटा राजनीतिक संस्कारलाई अन्त्य गरेर अर्कोमा फड्को मार्दा यस्तो अभिमुखीकरण अत्यन्त उपयोगी भएको छ । हामीलाई व्यक्तिगत रुपमा धेरै फाइदा पुगेको छ ।  सबै साथीहरुमा एकदमै पोजिटिभ भाइब्रेन्ट गराएको छ ।’

MPs participating in RSVP orientation say: We will look different in the House

बारा-३ बाट निर्वाचित भएपछि पहिलो पटक प्रतिनिधिसभा सदस्य भएका इन्जिनियर अरविन्द साहले आफ्नो लागि यो कार्यक्रम उपलब्धिमूलक बनेको बताए । ‘निर्वाचन जितेपछि जिम्मेवारी र भूमिका के भन्ने अन्योल थियो । पार्टीलाई हामीले यो विषयमा भन्नुनै परेन अभिमुखीकरणले हामीलाई स्पष्टता दियो,’ उनले भने,‘फरक–फरक पेसा र पृष्ठभूमिबाट आएका सांसदहरूलाई एउटै लक्ष्यमा ‘अलाइन’ गर्न पनि अभिमुखीकरण आवश्यक थियो ।’ 

‘हाम्रो कार्यले जनताको आशालाई निराश बनाउनु हुँदैन । अहिलेको जनताको फ्रस्ट्रेसनलाई सकारात्मक दिशामा लैजान हामीले धेरै काम गर्नु पर्नेछ । हामीले यस्तो काम गर्नुपर्छ कि पब्लिकले औंला नउठाओस्,’ उनले भने,‘प्रदेश र स्थानियतहसँग पनि सहकार्यको भूमिका निभाउँदै र राम्रो राजनीतिक चरित्र निर्माण गर्ने दिशामा अगाडि बढ्नु पर्ने कुरा हामीले यहाँबाट सिक्यौं ।’

चितवन-२ बाट मुस्लिम समुदायबाट समानुपातिकतर्फ निर्वाचित सांसद समिना मियाँले कार्यक्रमले ‘पूर्व तयारीसहित काम गर्नुपर्छ’ भन्ने सन्देश दिएको बताइन् । ‘संसद्‌मा सुसंस्कृत राजनीतिक अभ्यास कसरी गर्ने भन्नेमा स्पष्टता आएको छ,’ उनले भनिन्,‘हामीले अझै केही कुरा सिक्न बाँकी छ, तर यस कार्यक्रमले हामीलाई उपयोगी सिकाइ प्रदान गरेको छ ।’

MPs participating in RSVP orientation say: We will look different in the House

पूर्वसांसद समेत रहेका चितवन-१ बाट निर्वाचित हरि ढकालले अभिमुखीकरण कार्यक्रमले संसदीय अभ्यासमा रास्वपाको प्रभाव अझ बढाउने विश्वास व्यक्त गरे । ‘हामी विभिन्न पेसा र क्षेत्रबाट आएका छौं । केही साथीहरूको लामो संगठनात्मक अभ्यास छ भने केहीलाई त्यो अनुभव कम पनि हुन सक्छ । अघिल्लोपटक २१ जना सांसद हुँदा जसरी आम नागरिकको चासोको विषय हामीले उठायौं, अब १८२ जना पुगेपछि दुई दिनमा सिकेका कुराहरू सदनमा स्पष्ट झल्किनेछन्,’ उनले भने,‘अभिमुखीकरण कार्यक्रमले नीतिनिर्माण, संसदीय अभ्यास, संसदीय गरिमा र बजेट निर्माण जस्ता नीतिगत तहका बारेमा पनि छलफलको अवसर प्रदान भयो ।’

सांसदको पदमा रहेर गर्न हुने र गर्न नहुने काम, सांसदका काम, कर्तव्य र अधिकार तथा पार्टीका नीति र उद्देश्यबारे प्रशिक्षण दिनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना सांसदहरूलाई अभिमुखीकरण कार्यक्रम राखेका थियो । फागुन २१ मा सम्पन्न निर्वाचनबाट प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल बनेको रास्वपाले ललितपुरको होटल रोयल टुलिपमा सांसदहरूका लागि मंगलबार र बुधबार आवासीय अभिमुखीकरण कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा पूर्वसचिवहरूको समेत सेसन राखिएको थियो । अघिल्लो कार्यकालको ३१ महिनाभरिका अनुभवहरू पनि पूर्व सांसदहरुले उक्त समयमा राखेका थिए । 

विवेक विवेक कान्तिपुरका संवाददाता हुन् । उनी सुरक्षा मामिलामा रिपाेर्टिङ गर्छन् । उनी एक दशकदेखि पत्रकारितामा सक्रिय छन् ।

Link copied successfully