ऐतिहासिक जनमतलाई न्याय गर्ने जिम्मेवारीबोध हुनुपर्छ : उपसभापति वाग्ले

'हामी सांसदको भूमिकामा छौं । सांसदहरूको मूल काम के हो र सहायक काम के हुन् भन्ने कुरा बुझ्नुपर्छ । मूल काम कानुन बनाउने र सरकारको कामको समीक्षा, अनुगमन, निगरानी गर्ने हो । हाम्रै एकमना सरकार हुँदा पनि औँला उठाउनुपर्छ ।'

चैत्र ३, २०८२

कान्तिपुर संवाददाता

There must be a sense of responsibility to do justice to historical public opinion: Deputy Chairman Wagle

What you should know

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णिम वाग्लेले पार्टीलाई प्राप्त ऐतिहासिक जनमतलाई न्याय गर्ने जिम्मेवारीबोध हुनुपर्ने बताएका छन् । पार्टीका सबै सांसदहरूले त्यो जिम्मेवारीबोध गरेर अगाडि बढ्नुपर्ने उनले बताएका हुन् । 

ललितपुरमा मंगलबार आयोजित रास्वपाका नवनिर्वाचित सांसदहरूको अभिमूखिकरण तथा परिचयात्मक कार्यक्रमलाई सम्बोधन गर्दै वाग्लेले जिम्मेवारीका साथ अगाडि बढ्नुपर्ने बताएका हुन् । विगतमा जनताले पार्टीहरूलाई ठूलो जनमत दिएको र त्यतिबेला भएका राम्रा काम अगाडि बढाउने र नराम्रा कामबाट पनि सिक्नुपर्ने बताए । 'फागुन २१ क‍ो निर्वाचन ऐतिहासिक रह्यो । त्यो ऐतिहासिक जनमतलाई न्याय गर्ने जिम्मेवारीबोध हामी सबैमा हुनुपर्दछ,' उनले भने ।

सांसदहरूको मूल काम कानुन निर्माण गर्ने बताउँदै उपसभापति वाग्लेले एउटा पार्टीको सरकार गठन भएपनि सांसदले प्रश्न उठाउनुपर्ने धारणा राखेका छन् । 'हामी सांसदको भूमिकामा छौं । सांसदहरूको मूल काम के हो र सहायक काम के हुन् भन्ने कुरा बुझ्नुपर्छ । मूल काम कानुन बनाउने र सरकारको कामको समीक्षा, अनुगमन, निगरानी गर्ने हो । हाम्रै एकमना सरकार हुँदा पनि औँला उठाउनुपर्छ । आफ्ना निर्वाचन क्षेत्रका मुद्दाहरूलाई बुलन्द ढंगले उठाउनुपर्ने हुन्छ ।'

सांसदहरूलाई रुचि र योग्यतानुसार जिम्मेवारी प्राप्त हुने पनि वाग्लेले बताए । अब पार्टीका नेताहरू नीति बहसमा सहभागी हुने र विकास निर्माणमा सहभागी हुनपर्ने उनको भनाइ थियो । पार्टीले अब सरकारमा गएर थिति बसाल्ने बताए । पार्टीको संकल्प पत्र पनि सोहीअनुसारको रहेको उनले बताए । 'प्रणाली बसाल्नुपर्ने छ । बरालिएको, लथालिंग, भताभुंग अर्थराजनीतिलाई सम्हालुनपर्नेछ । नेपाली जनताले त्यो सम्हाल्नुपर्ने गरी पठाएको छ,' उनले भने । रास्वपाले पाएको जनमतले आगामी दिनमा कुनै पनि कुरा बहाना बनाएर उम्किन नमिल्ने वाग्लेको भनाइ थियो । 

कान्तिपुर

Link copied successfully