‘एकेजीबी’को युग सकियो तर अवशेष बोक्दै छन् अर्जुननरसिंह

पार्टीभित्र पुस्तान्तरण र युवा मुद्दा उठाउँदै आएका अर्जुननरसिंह केसी समानुपातिकबाट सांसद बनेपछि आफ्नै नीतिसँग विरोधाभास देखिएका छन् ।

चैत्र ३, २०८२

कुलचन्द्र न्यौपाने

The era of 'AKGB' is over, but Arjun Narsingh is carrying the legacy

What you should know

काठमाडौँ — कांग्रेसका नेता तथा कार्यकर्ताहरू ‘एकेजीबी’ शब्द सुन्नसाथ तत्कालीन समयमा गिरिजाप्रसाद कोइरालाको दबदबापूर्ण युगलाई सम्झिने गर्छन् ।

‘एकेजीबी’ अर्थात् अर्जुननरसिंह केसी, खुमबहादुर खड्का, गोविन्दराज जोशी र विजयकुमार गच्छदार । त्यो समयमा यी चार नेता कोइराला ‘किचन क्याबिनेट’ को मुख्य शक्ति केन्द्र बनेर उदाएका थिए ।

सत्ताको शक्ति–सन्तुलनमा उनीहरूकै भूमिका निर्णायक हुन्थ्यो । ०४८ सालदेखि ०५७ सम्मै पार्टी र सरकार दुवैमा उनीहरूले हालीमुहाली थियो । पार्टी र सरकारका निर्णयदेखि मन्त्रिपरिषद् गठनसम्मका निर्णय उनीहरूकै प्रभावबाट हुन्थ्यो । शक्तिशालीदेखि मालदार मन्त्रालयमा आफ्नो रोजाइ चल्थ्यो । यी सबैको शक्तिको स्रोत थिए–गिरिजाप्रसाद कोइराला ।

समयसँगै त्यो समूह विघटन मात्र भएन, तीन नेताको राजनीतिक अन्त्य सुखद हुन सकेन । गिरिजाप्रसादसँग खड्का र गच्छदारको मनमुटाव बढ्यो । कांग्रेस विभाजनका बेला उनीहरूले गिरिजाप्रसादलाई छाडेर शेरबहादुर देउवाको नेतृत्वमा गठित नेपाली कांग्रेस (प्रजातान्त्रिक) का पुगे ।

गच्छदार ०६२/०६३ को जनआन्दोलनपछि कांग्रेस नै छाडेर उपेन्द्र यादवले नेतृत्वको तत्कालीन मधेशी जनअधिकार फोरमतिर लागे । ०७४ को निर्वाचनको मुखमा मात्रै उनी पुनः कांग्रेस फर्केका हुन् ।

खड्का र जोशी ०५९ सालदेखि नै भ्रष्टाचार मुद्दामा तानिए । खड्का मुद्दा प्रमाणित भएर जेल गए, निस्किएपछि कांग्रेसमा सक्रिय भए । तर, गुमेको पुरानो शक्ति फर्केन । ०७४ चैत १६ गते उनको निधन भयो । भ्रष्टाचार मुद्दासँगै जोशीको राजनीति यात्रामा ब्रेक लाग्यो । उनको शक्ति पनि खुम्चियो । पछिल्लो कालखण्ड गच्छदार पनि भ्रष्टाचारबाट चोखो रहेनन् । उनीमाथि ललिता निवास जग्गा प्रकरणको मुद्दा छ र अहिले सर्वोच्च अदालतमा विचाराधीन छ ।

मुद्दा खेप्दै गरेका गच्छदारले यस पटक पनि पार्टीबाट टिकट भने लिएरै छाडे । तर, चुनाव जित्न सकेनन् । ०४८ सालदेखि निरन्तर सत्तामा रहेका गच्छदार संविधानसभाको आठ वर्षको अवधिमा त सत्ता टिकाउने र बदल्ने मुख्य खेलाडी नै थिए । ०७९ चुनाव हारेदेखि उनको शक्ति खुम्चिँदै गएको हो । यस पटकको हार पनि अब उनी पनि राजनीतिबाट किनारा लागेका छन् ।

‘एकेजीबी’ मध्येका केसी मात्रै त्यस्तो नेता हुन्, जसले संसदीय यात्रालाई ७२ वर्षको उमेरमा पनि निरन्तर कायम राख्न सफल भएका छन् । पार्टीभित्र पुस्तान्तरण र युवा मुद्दा उठाउँदै आएका केसी समानुपातिकबाट सांसद बनेपछि आफ्नै नीतिसँग विरोधाभास देखिएका छन् ।

०३८ सालको राष्ट्रिय पञ्चायतकालीन अवधिदेखि उनी निरन्तर राजनीतिमा सक्रिय छन् । ०३८ सालमा राष्ट्रिय पञ्चायतबाट चुनाव जितेर उबेलै राज्यमन्त्री भइसकेका थिए । बहुदल आउनु केही समयअघि मात्रै कांग्रेस पसेका केसी ०४८ सालदेखि नै सत्ता र शक्तिको केन्द्रमा छन् । यस पटक समानुपातिक प्रणालीबाट पुनः संसद् छिर्ने अवसर पाएका छन् । लोकतान्त्रिक आन्दोलनदेखि पार्टभित्र विधि, पद्धति र संस्थागत मान्यताको पक्षमा सशक्त भूमिका निर्वाह पनि गरेका छन् । विगतमा आफैँले पार्टीभित्र पुस्तान्तरणको आवश्यकता औँल्याएका थिए । तत्कालीन सभापति शेरबहादुर देउवाको नेतृत्वमाथि उनले सार्वजनिक रूपमा धेरै पटक प्रश्न उठाए । नेतृत्व हस्तान्तरणका लागि दबाब दिए । तर, व्यवहारमा भने आफैँले त्यहीँ पुस्तान्तरणको मार्ग अवरुद्ध पारेर संसद् छिरे । यसै कारण पनि उनले लिएको सिद्धान्त र व्यवहारकाबीच ठूलो खाडल भेटिन्छ ।

संविधान निर्माणका बेला दलित, महिला र पिछडिएका वर्गको नीति निर्माण तहमा प्रतिनिधित्व सुनिश्चित गराउन समानुपातिक निर्वाचन प्रणाली राखिएको थियो । सिद्धान्तत: समानुपातिक प्रणालीको मर्म केसी जस्ता बारम्बार अवसर पाइरहेका र सत्ताको केन्द्रमा रहेका व्यक्तिका लागि होइन । त्यसमा पनि ७२ वर्षको उमेरमा समानुपातिकबाट संसद्‌मा प्रवेश गर्नु आफैँमा विचारणीय विषय हो ।

समानुपातिकतर्फका उम्मेदवारको सूची तत्कालीन सभापति शेरबहादुर देउवा नेतृत्वकै केन्द्रीय कार्यसमितिले पठाएको हो । सूची पठाउँदा देउवा र गगन थापाबीच आन्तरिक शक्ति संघर्ष चरम चुलिएको अवस्था थियो । केसीको सांसद हुने मोहले थापासमेत विवादमा तानिए । केसी थापाका आफ्नै ससुरा हुन् ।

पार्टीभित्र नीति र नेतृत्व परिवर्तनको मुद्दा उठाएर थापा देउवासँग जुधिरहेका थिए । राजनीतिका सबै मूल्यमान्यता शिरमा राखेर देउवासँग संघर्षमा भिडिरहेका बेला ससुरा भने चौतर्फी आलोचनाका बीचमा पनि समानुपातिकबाट सांसद बन्ने मोह छाडेनन् । भाइ जगदीश्वरनरसिंह केसीलाई प्रत्यक्षमा बाटो खोल्दिएर आफू समानुपातिकतर्फ खस आर्यको एक नम्बर सूचीमा बसे । ससुरालाई समानुपातिक सूचीमा राखेको भनेर थापामाथि चौतर्फी प्रश्न उठ्यो । थापाले सार्वजनिक रूपमा जवाफ नै दिनुपर्‍यो ।

‘अर्जुननरसिंह केसीलाई मेरो प्रयासमा समानुपातिक सूचीमा राखिएको भन्ने हल्ला फैलाइएको रहेछ । म स्पष्ट पार्न चाहन्छु, यो मेरो चाहना विपरीत हो । मेरो अनुरोध र हर सम्भव प्रयास विपरीतको निर्णय हो’ पुस १५ गते थापाले सामाजिक सञ्जालमा प्रस्ट पार्दै थापाले लेखका थिए ।

समानुपातिक सूचीमा बस्दा थापा महामन्त्रीको हैसियतमा थिए । अहिले सभापति छन् । देउवाको पालामा सूचीमा बसे पनि सांसद निर्वाचित हुँदा भने थापा (ज्वाइँ) भएकै मौका पर्‍यो । अहिले केसीलाई समानुपातिकबाट सांसद बनाएकोमा थापामाथि नै चौतर्फी हमला भएको छ । ‘केसी आफैँले चाहेको भए खस आर्यबाट महिला मात्रै पठाएर अरू समूहमा थप व्यक्ति पनि चयन गर्न सकिन्थ्यो, तर उहाँ आफैँले नछाड्दा सभापतिमाथि नै आलोचनाको विषय बन्यो,’ केन्द्रीय कार्यसमितिका एक पदाधिकारी भन्छन्,‘एकेजीबीको युग त सकियो तर केसीले त्यो युगको अवशेष अझै बोकिरहेका छन् ।’ 

कुलचन्द्र उनी कान्तिपुरका राजनीतिक संवाददाता हुन् । उनी संसदिय मामिला र दलहरुको भूमिकाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully