३ प्रतिशत थ्रेसहोल्ड कटाएका ६ दललाई सिट बाँडफाँट [सूचीसहित]

आयोगले ५ चैतमा निर्वाचनको सम्पूर्ण परिणाम समेटिएको प्रतिवेदन राष्ट्रपतिलाई बुझाउने तयारी गरेको छ । त्यसपछि सरकार गठनको बाटो खुल्नेछ ।

चैत्र ३, २०८२

राजेश मिश्र

Seat distribution to 6 parties that crossed the 3 percent threshold [with list]

काठमाडौँ — निर्वाचन आयोगले प्रतिनिधिसभामा समानुपातिक निर्वाचन प्रणालीबाट छानिएका १ सय १० जनाको नाम सोमबार घोषणा गरेको छ । यससँगै २१ फागुनमा भएको प्रतिनिधिसभा निर्वाचनका सबै २ सय ७५ सिटको नतिजा आएको छ । 

मतदान सकिएको ११ दिन पछाडि प्रतिनिधिसभाको सम्पूर्ण नतिजा आएको हो । प्रत्यक्षतर्फ १ सय ६५ सिटको गणना सकिएर २५ फागुनमा नतिजा आइसकेको थियो । निर्वाचन आयोगका सचिव कृष्णबहादुर राउतले विगतका वर्षहरूको तुलनामा यस पटक धेरै छिटो नतिजा निकाल्न सफल भएको बताए । समानुपातिकतर्फ कानुनले तोकेको प्रक्रियाले पनि केही समय लिएको उनको भनाइ छ ।

समानुपातिकतर्फको गणना २८ फागुनमा सकिएको थियो । आयोगले ३ प्रतिशतको थ्रेसहोल्ड कटाएका ६ राजनीतिक दललाई सिटको बाँडफाँट गरेको थियो । समानुपातिकतर्फ सिट जित्न सफल भएका दलहरूलाई बन्दसूचीबाट क्रम तथा समावेशी समूह र महिलाको संख्या मिलाएर नाम पठाउन आयोगले तीन दिनको समय दिएको थियो । दलहरूले आइतबार नाम बुझाएका थिए । त्यो नामावलीमा त्रुटि नदेखिएकाले नतिजा अझ छिटो निकाल्न सकिएको राउतले बताए ।

समानुपातिकतर्फ ३ प्रतिशत मतको ‘थ्रेस होल्ड’ कटाएर रास्वपाले ५७, कांग्रेसले २०, एमालेले १६, नेकपाले ९, श्रम संस्कृति र राप्रपाले ४–४ सिट पाएका छन् । रास्वपाबाट ४८ महिला र ९ पुरुष, कांग्रेसबाट १५ महिला र ५ पुरुष, एमालेबाट १० महिला र ६ पुरुष, नेकपाबाट ४ महिला र ५ पुरुष, श्रम संस्कृतिबाट ३ महिला र १ पुरुष तथा राप्रपाबाट २ महिला र २ पुरुष निर्वाचित भएका छन् । 

दलका तर्फबाट संघीय संसद्मा प्रतिनिधित्व गर्ने कुल सदस्य संख्याको ३३ प्रतिशत महिलाको प्रतिनिधित्व हुने गरी समानुपातिक निर्वाचन प्रणालीतर्फबाट महिला सदस्य निर्वाचित गर्नुपर्ने संवैधानिक व्यवस्था छ । त्यही व्यवस्थाका कारण समानुपातिकको १ सय १० सिटमा ८२ महिला निर्वाचित भएका छन् । प्रत्यक्षतर्फ रास्वपाबाट १३ र कांग्रेसबाट १ महिला निर्वाचित भएका थिए । अबको प्रतिनिधिसभामा ९६ महिलाको उपस्थिति सुनिश्चित भएको छ । 

२ सय ७५ सदस्यीय प्रतिनिधिसभामा प्रत्यक्ष र समानुपातिकसमेत गरी रास्वपाका १८२, कांग्रेसका ३८, एमालेका २५, नेकपाका १७, श्रम संस्कृतिका ७ र राप्रपाका ५ जना सदस्य हुनेछन् । त्यस्तै, स्वतन्त्रबाट जितेका १ जनाको प्रतिनिधित्व पनि हुनेछ । सरकार गठनका लागि प्रतिनिधिसभामा १ सय ३८ सिट आवश्यक पर्छ । रास्वपाले एकल बहुमत ल्याएको छ । दुईतिहाइका लागि चाहिने १ सय ८४ सिटमा उसको २ सिट मात्रै कम छ । 

आयोगले ५ चैतमा निर्वाचनको सम्पूर्ण परिणाम समेटिएको प्रतिवेदन राष्ट्रपतिलाई बुझाउने तयारी गरेको छ । त्यसपछि सरकार गठनको बाटो खुल्नेछ । आयोगका सचिव राउतले ५ चैतमै समानुपातिकतर्फबाट निर्वाचित भएका १ सय १० जनालाई प्रमाणपत्र वितरण गरिसकेपछि प्रतिवेदन राष्ट्रपतिसमक्ष बुझाइने बताए ।  

राष्ट्रपतिले उक्त प्रतिवेदनलाई संसद् सचिवालयमा पठाएपछि सांसदहरूको शपथग्रहणलगायत कार्यक्रम हुनेछ । त्योसँगै राष्ट्रपतिले सरकार गठनको प्रक्रिया पनि थाल्नेछन् । संविधानको धारा ७६(१) मा राष्ट्रपतिले प्रतिनिधिसभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्ने र निजको अध्यक्षतामा मन्त्रिपरिषद्को गठन हुने व्यवस्था छ । चुनावबाट रास्वपाले स्पष्ट बहुमत पाएकाले राष्ट्रपतिले रास्वपाका संसदीय दलका नेतालाई प्रधानमन्त्री नियुक्त गर्नेछन् । यहीबीचमा रास्वपाले आफ्नो संसदीय दलको नेता छान्नुपर्नेछ । 

प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले ३० दिनभित्र संघीय संसद्को अधिवेशन आह्वान गर्नुपर्ने संवैधानिक व्यवस्था छ । संविधानको धारा ८८ मा संघीय संसद्को प्रत्येक सदनका सदस्यले सदन वा त्यसको कुनै समितिको बैठकमा पहिलो पटक भाग लिनुअघि संघीय कानुनबमोजिम शपथ लिनुपर्ने भनिएको छ । 

सदन वा समितिको बैठकमा भाग लिनुपूर्व शपथ लिनुपर्ने भनिएकाले सांसदको शपथ नहुँदैमा त्यसले सरकार गठनको बाटोलाई नछेक्ने संघीय 

संसद्का एक अधिकारीले बताए । संविधान तथा कानुनले प्रधानमन्त्रीमा नियुक्ति सांसदको शपथ लिएपछि मात्रै हुने नभनेको ती अधिकारीले उल्लेख गरे । प्रतिनिधिसभामा निर्वाचितमध्येका ज्येष्ठ सदस्यले राष्ट्रपतिबाट तथा ज्येष्ठ सदस्यले बाँकी सदस्यलाई शपथ गराउनुपर्ने कानुनी व्यवस्था छ ।

राजेश दुई दशकभन्दा बढी समयदेखि पत्रकारितामा सक्रिय मिश्र कान्तिपुर दैनिकका संवाददाता हुन्। उनी राजनीति, कुटनीति, निर्वाचन प्रणाली र संघीयताका बिषयमा लेख्छन् ।

Link copied successfully