माओ मोह त्यागे पनि माओवादी आधार क्षेत्रले नेकपालाई जोगायो

पूर्वमाओवादी नेतृत्वप्रति अगाध माया, विश्वास र भरोसा छ । जनधार र संगठन बलियो छ । यो व्यवस्था ल्याउने जनयुद्धको आधार क्षेत्र हो । त्यसैले यो निर्वाचनमा जिताए : नेकपा नेता वर्षमान पुन

चैत्र २, २०८२

गंगा बीसी

Even after Mao's disillusionment, the Maoist base area protected the NCP.

What you should know

काठमाडौँ — नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले प्रतिनिधिसभाको प्रत्यक्ष निर्वाचनमा जितेका ८ सिटमध्ये ५ वटा माओवादीको आधार क्षेत्रबाट जितेको छ । रुकुम पूर्व र पश्चिम, सल्यान, कालीकोट र रोल्पा माओवादी सशस्त्र युद्धका आधार क्षेत्र हुन् ।

२०५२ फागुन १ मा ती क्षेत्रबाट सशस्त्र युद्ध सुरु गरी २०५७ पुसमा समानान्तर सरकार गठन गरेको थियो । उसले शान्ति प्रक्रियामा आउनु अघिसम्म समानान्तर सरकारको रूपमा ‘जनसत्ता’ चलाएको थियो । कात्तिक तेस्रो साता एकीकृत समाजवादीसँग पार्टी एकता गरी माओवादीले नाम र विचारधारामा माओवाद त्यागे पनि ती क्षेत्रका मतदाताले आफ्नो विरासत जोगाएका छन् ।

पार्टीको नाम परिवर्तन गरी नेपाली कम्युनिस्ट पार्टी राख्यो । तर, माओ मोह छाडेपछि पनि यो निर्वाचनमा माओवादी आधार इलाकाले नेकपालाई जोगाएको छ । माओवादीप्रति मोह भएका मतदाताले दाहाल नेतृत्वलाई रोजे ।

नेकपा संयोजक पुष्पकमल दाहालले माओ मोह छाडेपछि नेत्रविक्रम चन्दले पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी (माओवादी) राखेर माओवादलाई बोके, तर निर्वाचनमा उनका एक जना उम्मेदवारले पनि चुनाव जितेनन् । चन्द आफैं उम्मेदवार भएनन् । माओवादी कालीकोटका उम्मेदवार एवं प्रवक्ता खड्गबहादुर विश्वकर्माबाहेक अरू उम्मेदवार प्रतिस्पर्धामा आएनन् ।

कालीकोटमा माओवादी पूर्वलडाकु कमान्डर महेन्द्रबहादुर शाही विजयी बने । विश्वकर्मा तेस्रो स्थानमा रहे । कालीकोटका मतदाताले माओवाद छाडे पनि मूलधारलाई रोजे । माओवादीमा रहँदा विश्वकर्मा वरिष्ठ नेता थिए । ०६९ मा माओवादीबाट अलग भएपछि विश्वकर्मा नेत्रविक्रम चन्दले गठन गरेका पार्टीतिर लागेका थिए ।

माओवादी त्याग गरी प्रगतिशील लोकतान्त्रिक पार्टी गठन गरेका पूर्वउपमहासचिव जनार्दन शर्मा रुकुम पश्चिमबाट पराजित भए । माओवादी शान्तिपूर्ण राजनीतिमा आएपछि प्रभावशाली नेताको रूपमा रहँदै आएका उनी ०६४ देखि ०७९ सम्म अपराजित थिए । रुकुमको समग्र विकासमा उनको योगदान महत्त्वपूर्ण छ । यस पटक रुकुम पश्चिमबाट शर्माले मूलधार छाडेकै कारण पराजित हुनुपर्‍यो । उनले राजनीतिमा डोर्‍याएका गोपाल शर्माले सजिलै चुनाव जिते । शर्मा तेस्रो स्थानमा पुगे । कांग्रेसका राजु केसी गोपालका निकटतम प्रतिस्पर्धी रहे ।

यो निर्वाचनमा नेकपा संयोजक दाहालले सम्भावित परिणामको सुइँको पाएर रुकुम पूर्व रोजे । माओवादीको आधार इलाका रुकुम पूर्वबाट उम्मेदवार भएपछि जित्ने पक्का भएकाले उनी त्यतै हानिए । उनले सहजै चुनाव पनि जिते । एमालेका उनका समकक्षी नेताहरू केपी शर्मा ओली, ईश्वर पोखरेललगायतको संसद् छिर्ने ढोका बन्द भयो । पूर्वप्रधानमन्त्री दाहाल संसद्‌मा एक्लो हुनेछन् । जुन संसद्‌मा पूर्वप्रधानमन्त्रीहरु कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा सहसंयोजक माधवकुमार नेपाल हुने छैनन् । यस पटक संसद्‌मा राजनीतिक पुस्ताका हिसाबले दाहाल ‘डाँडामाथिको एक्लो सल्लो’ हुनेछन् ।

माओवादी आधार इलाकाले दाहाललाई मात्र होइन, उनका डेपुटी कमान्डर, डिभिजन कमान्डर हेडक्वार्टरमा बसेर काम गरेका व्यक्तिले चुनाव जितेका छन् ।

पूर्वउपमहासचिव वर्षमान पुनले पनि यस पटक माओवादीको विरासत जोगाएका छन् । ०६४ देखि माओवादीले निरन्तर जित्दै आएको रोल्पामा पुनले भारी मतान्तरले चुनाव जिते । पुन दाहालका विश्वासिला सल्लाहकार हुन् । सशस्त्र युद्धमा उनी माओवादी लडाकुका डेपुटी कमान्डर थिए । पुन अर्थ, ऊर्जा र शान्तिमन्त्री भइसकेका छन् ।

कालीकोटबाट चुनाव जितेका महेन्द्रबहादुर शाही माओवादी लडाकुका डिभिजन कमान्डर थिए । कुनै बेला जनार्दन शर्मा निकट दाहाल र शर्माबीच द्वन्द्व बढेपछि संस्थापन पक्षतिर लागेका थिए ।

सल्यानबाट चुनाव जितेका रमेशकुमार मल्ल करिब दुई वर्ष संयोजक दाहाल स्वकीय सचिव भएका थिए । अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष समेत रहेका मल्ल पहिलो पटक उम्मेदवार भएर चुनाव जिते ।

माओवादीले २०५२ मा रुकुम, रोल्पा, सिन्धुलीलगायतका जिल्लाबाट सुरु गरेको थियो । २०७२ मा संविधानमा रुकुमलाई टुक्र्याएर पूर्व र पश्चिम बनाइएको थियो । यस पटक माओवादी प्रभाव भए पनि सिन्धुलीमा चुनाव जित्न सकेन ।

सिन्धुपाल्चोक-२ का जितेका युवराज दुलाल पूर्वलडाकु कमान्डर हुन् । २०६३ मा दाहाल सार्वजनिक भएपछि उनी दाहालको सुरक्षा गर्ने टिम प्रमुख थिए । सिन्धुपाल्चोक पनि माओवादीको प्रभाव भएको क्षेत्र हो ।

रुकुम पश्चिमका उम्मेदवार भएका जनार्दन शर्मा र गोपाल शर्मा माओवादीमा रहँदा ‘गुरु-चेला’ को सम्बन्ध थियो । तर, जनार्दनले मूलधार छाड्दा गोपालले उनलाई पराजित गरे ।

नेकपाले यस पटक धनुषा-१ मा पनि चुनाव जितेको छ । मधेश प्रदेशबाट एक सिटमा मातृकाप्रसाद यादवले जितेका छन् । रास्वपाका उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज भएपछि यादवलाई जितेका हुन् ।

डोल्पाबाट पूर्व एकीकृत समाजवादीका उम्मेदवार धनबहादुर बुढाले जिते । पूर्व समाजवादीबाट जित्ने उनी एक्ला नेता हुन् ।

नेकपालाई माओवादी आधार इलाकाले कसरी जोगायो ? नेकपा वरिष्ठ नेता वर्षमान पुनले संघीय लोकतान्त्रिक गणतन्त्रका लागि लडेका जनता, नेतृत्व भएकाले मतदाताले जिताएको बताए । ‘पूर्वमाओवादी नेतृत्वप्रति अगाध माया, विश्वास र भरोसा छ । जनधार र संगठन बलियो छ,’ उनले भने, ‘यो व्यवस्था ल्याउने जनयुद्धको आधार क्षेत्र हो । त्यसैले यो निर्वाचनमा जिताए ।’ उनले ती क्षेत्रमा नेकपा (माओवादी) ले पालिकामा जितेको र राम्रो काम गरेकाले विश्वास गरेको बताए ।

‘हाम्रो रुकुम, रोल्पा, सल्यानलगायत जिल्लामा गर्विलो इतिहास छ । त्यो इतिहासलाई जनताले भुलेका छैनन्’ उनले भने, ‘त्यसैले आफ्ना उम्मेदवारलाई जिताए ।’

नेकपा रुकुम पूर्वकी इन्चार्ज कमला रोकाले माओवादीको आधार क्षेत्रमा 'जनयुद्ध'को विरासतलाई बिर्सन नसक्ने भएकाले यो निर्वाचनमा जोगाएको बताइन् । ‘जनयुद्धमा त्याग, तपस्या र बलिदान दिएको आधार क्षेत्र हो । जनयुद्धको इतिहास आफैंमा निकै प्यारो छ त्यहाँ,’ उनले भनिन्, ‘जनयुद्धको थालनी मात्र होइन, शान्ति प्रक्रियाको आधार इलाका पनि हो । त्यसैले हामीले सजिलै जित्यौँ ।’

गंगा

Link copied successfully