समानुपातिकको नाम एमालेले छान्यो, अन्य ५ दलको बाँकी

‘क्लस्टर’ मिलाएर बन्दसूचीअनुसार निर्वाचित हुनेको नाम पठाउन आयोगले दिएको ३ दिने म्याद आज सकिँदै

चैत्र १, २०८२

राजेश मिश्र

UML chooses the name of the proportional representation, the rest are from 5 other parties

काठमाडौँ — मानुपातिक निर्वाचन प्रणालीतर्फको ११० सिटका लागि निर्वाचित हुने सांसदको नाम तीन दिनभित्र बुझाउन निर्वाचन आयोगले दलहरूलाई दिएको म्याद आइतबार सकिँदै छ । समानुपातिक प्राप्त ३ प्रतिशत मतको ‘थ्रेसहोल्ड’ कटाएर रास्वपाले ५७, कांग्रेसले २०, एमालेले १६, नेकपाले ९, श्रम संस्कृतिले ४ र राप्रपाले ४ सिट पाएको उल्लेख गर्दै ‘क्लस्टर’ मिलाएर बन्दसूचीअनुसार निर्वाचित हुनेको नाम पठाउन आयोगले बिहीबार दलहरूलाई पत्र पठाएको थियो । 

एमालेले १६ जना समानुपातिक सांसदको टुंगो लगाउँदै शनिबार नाम सार्वजनिक गरे पनि बाँकी दलहरूले आइतबार निर्णय गरी आयोगमा पेस गर्दै छन् । कानुनले निर्धारण गरेको समावेशी समूह मिलाउनुपर्ने तथा बन्दसूचीमा पेस गरिएको नामको क्रमसमेत मिच्न नपाइने कानुनी प्रबन्ध छ । दलहरूले कानुनको त्यही सीमाभित्र रहेर निर्वाचित हुने नाम आयोगलाई बुझाउनुपर्नेछ । 

प्रतिनिधिसभा निर्वाचन ऐनको दफा ६०(६) मा दलले प्राप्त गरेको सिट संख्याका आधारमा तोकिएको प्रतिशतमा दलित, आदिवासी जनजाति, खसआर्य, मधेशी, थारू तथा मुस्लिमको प्रतिनिधित्व हुने गरी बन्दसूचीमा नाम समावेश भएको क्रमअनुसार आयोगमा सूची बुझाउनुपर्ने भनिएको छ । नाम बुझाउँदा दलले दलित (१३.८ प्रतिशत), आदिवासी जनजाति (२८.७ प्रतिशत), खसआर्य (३१.२ प्रतिशत), मधेशी (१५.३ प्रतिशत), थारू (६.६ प्रतिशत) र मुस्लिम (४.४ प्रतिशत) नाम बुझाउनुपर्छ । 

समावेशी सूचीबाट छनोट गरिएका नाममा कम्तीमा ४.३ प्रतिशत व्यक्ति पिछडिएको क्षेत्रबाट हुनुपर्नेछ ।

दलका तर्फबाट संसद्मा प्रतिनिधित्व गर्ने कुल सदस्य संख्याको ३३ प्रतिशत महिलाको प्रतिनिधित्व अनिवार्य हुनुपर्ने संवैधानिक व्यवस्था नै छ । त्यसअनुसार संसद्भित्रको सबैभन्दा ठूलो दल रास्वपाले समानुपातिकबाट उल्लेख्य संख्यामा महिला उम्मेदवारको सिफारिस गर्नुपर्ने देखिन्छ । राष्ट्रिय सभामा रास्वपाको उपस्थिति छैन । प्रतिनिधिसभामा प्रत्यक्षतर्फ १२५ र समानुपातिकतर्फ ५७ गरी उसले १८२ सिट जितेको छ । कुल सिटको एकतिहाइ महिलाको प्रतिनिधित्व गराउनुपर्ने बाध्यकारी स्थितिका कारण रास्वपाबाट प्रतिनिधिसभामा ६१ जना महिला सांसद हुनुपर्छ । १३ जना प्रत्यक्षबाट निर्वाचित भएका छन् । बाँकी ४८ जनाको नाम समानुपातिक सूचीबाट उसले चयन गर्नुपर्छ । 

पार्टी प्रवक्ता मनीष झाले कानुनले तोकेको समावेशी समूह र महिलाको प्रतिनिधित्व हुने गरी बन्दसूचीबाट नाम छनोट गरिने बताए । त्यसका लागि आवश्यक गृहकार्य भइरहेको उनले जानकारी दिए । नाम टुंग्याउन आइतबार १० बजे पार्टीको सचिवालय बैठक बोलाइएको छ । सचिवालय बैठकले गरेको निर्णयलाई केन्द्रीय समितिबाट अनुमोदन गरेर समानुपातिकबाट निर्वाचित हुनेहरूको नाम आयोगमा पठाइने उनले जानकारी दिए । समानुपातिकबाट ५७ सिट जितेको रास्वपाले आदिवासी जनजाति–१६, खसआर्य–१८, थारू–४, दलित–८, मधेशी–९ र मुस्लिमबाट २ जनाको नाम पठाउनुपर्नेछ । 

समानुपातिकतर्फ कांग्रेसले २० सिट जितेको छ । उसले आदिवासी जनजाति–६, खसआर्य–६, थारू–१, दलित–३, मधेशी–३ र मुस्लिमबाट १ जना छान्नुपर्ने देखिन्छ । राष्ट्रिय सभामा कांग्रेसका २४ सदस्य छन् । प्रतिनिधिसभामा प्रत्यक्षका १८ र समानुपातिकका २० गरी ३८ सदस्य पुग्दै छन् । यसरी संघीय संसद्मा उसको प्रतिनिधित्व ६२ हुनेछ । संघीय संसद्मा रहेका कुल सदस्यको एकतिहाइ महिला हुनुपर्ने संवैधानिक प्रावधानअनुसार कांग्रेसबाट दुवै सभामा गरेर २१ जना महिलाको प्रतिनिधित्व हुनुपर्ने देखिएको छ । कांग्रेसबाट राष्ट्रिय सभामा ५ जना महिलाको प्रतिनिधित्व कायम छ । प्रतिनिधिसभामा प्रत्यक्षबाट १ जना महिलाले चुनाव जितेकी छन् । समानुपातिकबाट कांग्रेसले २० मध्ये १५ जना महिलाको नाम पठाउनुपर्नेछ । 

कांग्रेस प्रवक्ता देवराज चालिसेले बन्दसूचीबाट नाम पठाउने विषयमा छलफल भइरहेको बताए । पार्टीको संसदीय बोर्डको बैठकबाट र केन्द्रीय कार्यसम्पादन समितिबाट निर्णय गरेर आइतबार नाम आयोगलाई पठाइने उनले जानकारी दिए ।

यस्तै एमालेले केन्द्रीय सचिवालय बैठकबाट शनिबार १० जना महिलासहित १६ जना समानुपातिक सांसदको नाम टुंगो लगाएको हो । राष्ट्रिय सभा र प्रतिनिधिसभामा गरेर एमालेको कुल प्रतिनिधित्व ३५ जनाको हुनेछ । त्यसको एकतिहाइ अर्थात् कम्तीमा १२ जना महिलाको प्रतिनिधित्व एमालेले गराउनुपर्छ । राष्ट्रिय सभामा ७ जना महिला रहेकाले समानुपातिकबाट ५ जना महिलाको नाम पठाउँदा हुनेमा पार्टीले १० जना महिलाको नाम पठाएको छ । पार्टीका उपमहासचिव लेखराज भट्टले नयाँ, युवा तथा महिलालाई प्राथमिकता दिएर निर्वाचित हुनेको सूची पार्टीले तयार पारेको बताए ।

एमालेबाट जनजातितर्फ महिलामा भूमिका सुब्बा र गंगादेवी श्रेष्ठ, पुरुषमा रामबहादुर थापा मगर र कुलभक्त शाक्य समानुपातिक सांसदमा छानिएका छन् । खसआर्यतर्फ महिलामा पद्मा अर्याल, टुकाभद्रा हमाल, एसुदाकुमारी बराल (पिछडिएको क्षेत्र), पुरुषमा गुरुप्रसाद बराल, पुष्पराज कँडेलको नाम छ । थारू समुदायबाट कुपाराम राना (पुरुष) छानिएका छन् । दलिततर्फ महिला विष्णुमाया विके, नीता घटानीको नाम छ । मधेशीमा महिला रिङला यादव, यशोधाकुमारी यादव र पुरुषतर्फ चन्देश्वर मण्डलको नाम परेको छ । मुस्लिम महिलाबाट साजिदा सिद्दिकीको नाम छ । उपमहासचिव भट्टले छनोट गरिएका नामहरू आइतबार आयोगमा बुझाइने बताए ।

विभिन्न २५ वटा कम्युनिस्ट घटक मिलेर बनेको नेकपाले समानुपातिकतर्फ ९ सिट पाएको छ । प्रत्यक्षतर्फ ८ सिट जितेको छ । पार्टी नेता देव गुरुङले पहिल्यै बन्दसूची बुझाइएको र त्यसबाट नियमानुसार नाम छान्न नेताहरूबीच गृहकार्य भएको बताए । पार्टी संयोजक पुष्पकमल दाहाल र सहसंयोजक माधवकुमार नेपालले यस विषयमा छलफल गरेर नाम टुंग्याउने उनको भनाइ छ । 

राप्रपाले समानुपातिकमा पाएको ४ सिटमा नाम छान्न आइतबार कार्यसम्पादन समितिको बैठक बोलाएको छ । संसद्मा पहिलो पटक प्रवेश गर्दै गरेको श्रम संस्कृतिले समानुपातिकबाट ४ सिट पाएको छ । प्रत्यक्षमा उसले ३ सिट जितेको छ । समानुपातिकमा कम्तीमा ३ जना महिलासहित ४ जनाको नाम पार्टीले पठाउनुपर्नेछ । सिट कम र आकांक्षी धेरै देखिएपछि पार्टीभित्र दबाब बढेको छ । महासचिव आरेन राईले आइतबार पार्टी पदाधिकारी बैठक बसेर नाम टुंग्याइने जानकारी दिए ।

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार समानुपातिकतर्फ मत प्रतिशतका आधारमा सिट पाएका ६ राजनीतिक दललाई सिटअनुसार बन्दसूचीबाट समावेशी समूह मिलाएर तीन दिनभित्र नाम पेस गर्न दिइएको अवधि आइतबार सकिँदै छ । ‘दलले दिएका नामहरू बन्दसूचीमा रहे/नरहेकोदेखि समावेशी समूहअनुसारको संख्या, बन्दसूचीको क्रम मिले/नमिले तथा संविधानअनुसार महिलाको प्रतिनिधित्व भए/नभएको सबै विषयको छानबिन गरिनेछ,’ उनले भने, ‘छानबिन गर्दा केही त्रुटि देखिए सम्बन्धित दललाई सच्याउन लगाइनेछ, त्यसपछि मात्र निर्वाचितको नाम सार्वजनिक गरिनेछ ।’ समानुपातिकतर्फ निर्वाचितलाई प्रमाणपत्र दिइसकेपछि मात्र निर्वाचनको सम्पूर्ण परिणामको प्रतिवेदन आयोगले राष्ट्रपतिसमक्ष बुझाउने उनले बताए । त्यसपछि नयाँ सरकार गठनको बाटो खुल्नेछ ।

राजेश दुई दशकभन्दा बढी समयदेखि पत्रकारितामा सक्रिय मिश्र कान्तिपुर दैनिकका संवाददाता हुन्। उनी राजनीति, कुटनीति, निर्वाचन प्रणाली र संघीयताका बिषयमा लेख्छन् ।

Link copied successfully