समानुपातिक सांसद चयन र विधान निर्वाचित हुने उम्मेदवारको नाम र संसदीय दलको नेता निर्वाचनसम्बन्धी विधानको व्यवस्था संशोधनको सिफारिस सचिवालय बैठकले गर्ने, त्यसमा केन्द्रीय समितिले निर्णय गर्ने
काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक प्रणालीबाट निर्वाचित हुने उम्मेदवार चयन, विधान संशोधनलगायत विषयमा छलफल गर्न सचिवालय बैठक बोलाएको छ । पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहबीच छलफल भएपछि शनिबारका लागि सचिवालय बैठक बोलाइएको हो ।
सचिवालय बैठकलगत्तै केन्द्रीय समिति बैठक बोलाएर समानुपातिकबाट सांसद हुनेहरूको सूची टुंगो लगाउने र संसदीय दलको नेता निर्वाचनसम्बन्धी व्यवस्था विधानमा संशोधन गर्ने रास्वपाको तयारी छ । रास्वपाले समानुपातिकमा ५७ सिट प्राप्त गरेको छ । समानुपातिक निर्वाचन प्रणालीबाट सांसद बन्नेहरूको सूची आइतबारसम्म पेस गर्न दलहरूलाई निर्वाचन आयोगले बिहीबार पत्र लेखेको थियो ।
सचिवालय बैठकको समय र स्थान भने तय भइनसकेको रास्वपा प्रवक्ता मनीष झाले बताए । ‘पार्टी सभापतिको निर्देशनअनुसार सचिवालयको बैठक शनिबार बस्ने भएको छ । बैठकको समय र स्थान सभापतिको स्वास्थ्य अवस्थालाई ख्याल गरेर तय गरिनेछ,’ उनले भने । रास्वपा सभापति लामिछाने चिकित्सकको सल्लाहबमोजिम ‘बेड रेस्ट’ मा छन् । झाका अनुसार सचिवालय बैठकले समानुपातिक प्रणालीबाट निर्वाचित हुने उम्मेदवारहरूको नाम सिफारिस गरिनेछ ।
सचिवालय बैठक बोलाउनुअघि सभापति लामिछाने र वरिष्ठ नेता शाहबीच छलफल भएको थियो । वरिष्ठ नेता शाहले सभापति लामिछानेलाई बिहीबार घरै पुगेर भेटेका थिए । पार्टीका सम्बन्धमा दुवै नेताबीच निरन्तर छलफल भइरहेको रास्वपा सहप्रवक्ता प्रतिभा रावलले जानकारी दिइन् । उनले भनिन्, ‘पार्टी सभापति र वरिष्ठ नेताबीच भेटघाट नियमित भइरहेको छ ।’
रास्वपा वरिष्ठ नेता शाहलाई भावी प्रधानमन्त्री घोषणा गरेर निर्वाचनमा गएको थियो । प्रतिनिधिसभा निर्वाचनमा रास्वपाले १ सय ८२ सिट जितेको छ । प्रतिनिधिसभामा झन्डै दुईतिहाइ सिट जितेको रास्वपाका सभापति लामिछाने र वरिष्ठ नेता शाह प्रत्यक्ष भेटेर र फोनमार्फत संवादमा रहेको उनीहरू निकटका नेताले बताएका छन् । प्रवक्ता झाले भने, ‘सभापति लामिछाने र वरिष्ठ नेता शाहले आगामी प्रक्रियाबारे छलफल गर्नुभएको छ, उहाँहरूबीच अनौपचारिक छलफल भइरहेको छ ।’
नेताहरूका अनुसार लामिछाने र शाहबीच बिहीबार बिहान करिब २ घण्टा छलफल भएको थियो । त्यस क्रममा संसदीय दलको नेता चयनको प्रक्रिया, सरकार गठनको प्रक्रिया, सरकार गठन भएपछि मन्त्रिपरिषद् बिस्तारलगायत विषयमा छलफल भएको थियो । मन्त्री र अन्य नियुक्तिका सम्बन्धमा सार्वजनिक सञ्चारमाध्यममा आइरहेका विषयबारे पनि उनीहरूबीच कुराकानी भएको ती नेताले बताएका छन् ।
रास्वपाले पार्टी विधानको धारा ६६ मा रहेको संसदीय दलका नेताको निर्वाचनसम्बन्धी प्रावधान संशोधन गर्न लागेको छ । विधानको धारा ६६ (८) मा पार्टीका साधारण सदस्यले संसदीय दलको नेता चयन गर्ने व्यवस्था छ । धारा ६६ को उपधारा ८ (क) मा भनिएको छ, ‘संघीय निर्वाचनअगावै पार्टीका तर्फबाट संघीय निर्वाचनका लागि समानुपातिक र प्रत्यक्षतर्फ छनोट भएका उम्मेदवारमध्ये इच्छुक उम्मेदवारहरूबीच प्रतिनिधिसभा संसदीय दलको नेता छनोटका लागि निर्वाचन हुनेछ । (दल नेताको) निर्वाचनमा पार्टीका सम्पूर्ण साधारण सदस्यहरू मतदाता हुन पाउनेछन् ।’
रास्वपाका सांसद मात्र नभई साधारण सदस्य पनि संसदीय दलका नेताको निर्वाचनमा मतदाता हुन पाउने व्यवस्था राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा २५ सँग बाझिएकाले पनि विधान संशोधन गर्न लागिएको हो । ऐनमा लेखिएको छ, ‘सम्बन्धित दलको निर्देशनबमोजिम संघीय संसद् वा प्रदेशसभाको संसदीय दलका सदस्यले आफूमध्येबाट एक जना संसदीय दलको नेता निर्वाचित गर्नेछ ।’
विधान संशोधन गरेसँगै रास्वपाले वरिष्ठ नेता शाहलाई संसदीय दलको नेता निर्वाचित गर्नेछ । त्यसपछि राष्ट्रपति रामचन्द्र पौडैलले उनलाई प्रधानमन्त्री नियुक्ति गर्नेछन् । प्रतिनिधिसभामा रास्वपाको एकल बहुमत रहेकाले उक्त दलका नेतालाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्ति गर्नेछन् । संविधानको धारा ७६ (१) मा ‘राष्ट्रपतिले प्रतिनिधिसभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्नेछ र निजको अध्यक्षतामा मन्त्रिपरिषद्को गठन हुनेछ’ भन्ने उल्लेख छ ।
