मतदानअघि सिंगापुर गएका देउवा अझै फर्केनन्, आरजु भारतमै रहिन्, चुनावी प्रचारमा पूर्वपदाधिकारीहरू पूर्णबहादुर खड्का, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, शशांक कोइराला पनि देखिएनन्
काठमाडौँ — प्रतिनिधिसभा निर्वाचनमा कमजोर नतिजा हात परेपछि कांग्रेस सभापति गगन थापामाथि पूर्वसभापति शेरबहादुर देउवा पक्षका केही नेताले नैतिकताको प्रश्न उठाइरहेका बेला देउवा र उनको समूहका केही शीर्ष नेतामाथि आफ्नै पार्टीका उम्मेदवारलाई असहयोग गरेको आरोप लागेको छ । देउवाको राजनीतिक प्रभाव रहेको सुदूरपश्चिम प्रदेशमै सबैभन्दा बढी अन्तर्घात भएको नेताहरू बताउँछन् ।
प्रतिनिधिसभा सदस्य निर्वाचनमा टिकट नपाएपछि देउवा आफ्नै गृह जिल्ला डडेलधुरामा भोट हाल्न गएनन् । कांग्रेसका उम्मेदवारलाई जिताउन कुनै पनि माध्यमबाट उनले सन्देशसमेत प्रवाह गरेका थिएनन् । उनी १३ फागुनमै प्रमुख स्वकीय सचिव भानु देउवालाई लिएर सिंगापुर गएका थिए । उनी फर्किएका छैनन् ।
पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेकी देउवा पत्नी आरजु राणासमेत चुनावी प्रचारमा कतै गइनन् । औपचारिकताका लागि समेत कुनै माध्यमबाट भोट मागिनन् । राणा १० फागुनमै दिल्ली गएकी थिइन्, उनी अहिले पनि उतै छिन् । विगतमा देउवा दम्पतीले नै डडेलधुराको गन्यापधुरा मतदान केन्द्रबाट मत हाल्ने गर्थे र यस पटक पनि उनीहरूको नाम त्यहीँ थियो ।
देउवाले पार्टीभित्रको अर्को पक्षलाई मात्रै होइन, आफ्नै समूहका नेतालाई पनि चुनाव जिताउन सहयोग नगरेको गुनासो छ । १६ निर्वाचन क्षेत्र रहेको सुदूरपश्चिममा देउवा पक्षका ६ जनाले टिकट पाएका थिए । अछाम–१ का भरतकुमार स्वाँर, अछाम–२ का पुष्पबहादुर शाह, डडेलधुराका नैनसिंह महर, कैलाली–१ का जनकराज चौधरी, कञ्चनपुर–२ का एनपी साउद, कञ्चनपुर–३ का हरि बोहरा देउवानिकट उम्मेदवार थिए । उनीहरूमध्ये स्वाँर मात्र विजयी भए ।
कांग्रेसले सुदूरपश्चिममा अछाम–१ बाहेक बाजुरा र डोटीमा मात्र चुनाव जित्यो । २०७९ को निर्वाचनमा यस क्षेत्रबाट कांग्रेसले ८ सिट जितेको थियो । २०४८ देखि देउवाले लगातार जित्दै आएको डडेलधुरा नै यसपालि कांग्रेसले गुमायो ।
जीवनभर देउवा भनेर राजनीतिमा होमिएका नेताहरू नै अहिले उनको असहयोगले चुनाव हारेको भन्दै असन्तुष्ट छन् । विशेष महाधिवेशनअघि नै तत्कालीन सभापति देउवाले समानुपातिक सूची निर्वाचन आयोगमा बुझाइसकेका थिए । त्यसपछि भएको विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिले प्रत्यक्षतर्फ देउवा पक्षका ३५ जनालाई टिकट दिएको थियो ।
देउवानिकट नेताहरू विमलेन्द्र निधि, प्रकाशशरण महत, विजयकुमार गच्छदार, ज्ञानेन्द्रबहादुर कार्की, महेन्द्र यादव, शंकर भण्डारी, अजय चौरासिया, रमेश रिजाल, किशोरसिंह राठौरलगायत चुनावी मैदानमा थिए । देउवालाई दुई पटक कांग्रेसको सभापति र पाँच पटक प्रधानमन्त्री बनाउन उनीहरूको महत्त्वपूर्ण भूमिका थियो । चुनावमा उनीहरूका लागि समेत देउवाले शुभेच्छा व्यक्त नगरेको चर्चा कांग्रेसभित्र व्याप्त छ । देउवालाई पार्टीको उम्मेदवारको पक्षमा मत मागेर अपिल गरिदिन धेरै नेताहरूले अनुरोध गरेका थिए ।
सुदूरपश्चिमका अधिकांश कांग्रेस उम्मेदवार देउवा आए चुनाव जितिने विश्वासमा थिए, प्रचार सामग्रीमा देउवाको फोटो राखेर उनीहरूले मत मागेका थिए तर देउवाले कसैका लागि मत मागिदिएनन्। सुदूरपश्चिमका अधिकांश कांग्रेस उम्मेदवार देउवा आए चुनाव जितिने विश्वासमा थिए । प्रचार सामग्रीमा देउवाको फोटो राखेर उनीहरूले मत मागेका थिए । बैतडीमा उम्मेदवार रहेका चतुरबहादुर चन्दले पूर्वसभापति देउवाको पूरै असहयोग भएको दाबी गरे ।
‘एक नम्बरमा बैतडी, त्यसपछि डडेलधुरा अनि सुदूरपश्चिमका अरू जिल्लामा आफ्नै उम्मेदवार हराउन लागियो । पूर्वसभापतिकै निर्देशनमा सयौं मानिस परिचालित भए । सिंगापुर जानुअघि र सिंगापुरबाट समेत फोन वार्ता भए,’ उनले भने, ‘सुदूरपश्चिममा सबैलाई हराएपछि मात्रै शेरबहादुर देउवाको अस्तित्व बच्छ, नत्र समाप्त हुन्छ भन्ने सन्देश यत्रतत्र व्याप्त भयो । त्यसको असर भोटमा पर्यो ।’
चन्दका अनुसार कांग्रेस उम्मेदवार हराउन लाग्ने तीन जनालाई चुनावकै बीचमा पार्टीले कारबाही सिफारिस गरेको थियो । कारबाही सिफारिस पर्नेमा महासमिति सदस्य उत्तरबहादुर ऐर, जिल्ला कार्यसमिति सदस्य वीरेन्द्र ऐर र किसान महासंघका अध्यक्ष भवनदेव भट्ट थिए । ‘प्रमाणसहित पुष्टि भएका तीन जनामाथि २० दिन अगाडि नै कारबाहीको सिफारिस भएको हो, चुनाव हराउन प्रयोग गरिएका डोटेली भाषाका अडियोहरू पनि अनुसन्धान गरेका छौं । थप व्यक्तिलाई पनि कारबाहीको सिफारिस गरिन्छ,’ उनले भने ।
चुनावमा पार्टी र उम्मेदवारका लागि मत माग्नुको साटो सुटुक्क विदेश गएको भन्दै देउवामाथि कांग्रेसका एक पदाधिकारीले नैतिकताको प्रश्न उठाएका छन् । ‘सभापति थापाको नैतिकतामाथि प्रश्न उठाएर राजीनामा दिनुपर्छ भन्ने नेताहरूले एक पटक पूर्वसभापतिसहितका शीर्ष नेताहरूमाथि पनि नैतिकताको प्रश्न किन उठाउनुभएको छैन ?’ उनी भन्छन्, ‘जुन पार्टी र भूगोलले पाँच/पाँच पटक प्रधानमन्त्री बनायो, अहिले आफूले टिकट नपाउनासाथ त्यही भूमिमा गएर एक पटक पार्टीका लागि मत नमाग्नु र भोट हाल्ने बेलामा सुटुक्क विदेश जानु कति नैतिक हुन्छ ?’
कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले केन्द्रीय कार्यसमिति बैठक बोलाएर निर्वाचनको समीक्षा गरिने भएकाले अहिल्यै केही नबोल्ने जनाए । प्रवक्ता देवराज चालिसेले पार्टीका उम्मेदवारलाई जिताउन उच्च तहकै नेताहरू नलाग्नुमा पनि नैतिकताको प्रश्न रहेको बताउँछन् । ‘कुनै नेता भोट हाल्न पनि गएनन्, कोही गएर पनि अन्तरआत्माले सहयोग गरेनन् । जिल्लाबाट त्यसबारे रिपोर्ट आउँछ अनि मात्रै थप बोल्न ठीक होला,’ उनले भने ।
देउवा यस पटक पनि डडेलधुराबाट उम्मेदवार हुन खोजेका थिए । मनोनयनको अघिल्लो दिन ५ माघको रातिसम्म उनले टिकटका लागि सभापति गगन थापासँग आग्रह गरेका थिए । विशेष महाधिवेशनबाट निर्वाचित पदाधिकारी भने विगतमा उनकै नेतृत्वमा भएको शासकीय बेथिति र जेन–जी आन्दोलनका कारण देउवालाई उम्मेदवार बनाउन नहुने निष्कर्षमा पुगे । आफूले टिकट नपाउने भएपछि देउवाले ५ माघको राति साढे १२ बजे आफू चुनाव नलड्ने घोषणा गरे । डडेलधुरामा नेविसंघका पूर्वअध्यक्ष नैनसिंह महरले टिकट पाए । उनी देउवाकै विश्वासपात्र हुन् ।
निर्वाचन प्रचारकै बीचमा महर दुई पटक काठमाडौं आए, भानु देउवामार्फत पटक–पटक फोन गरेर पूर्वसभापति देउवालाई बोलाए । तर उनी गएनन् । ‘अहिले आफू नहुनासाथ सहयोग नगर्ने कुरा कुन नैतिकताले दिन्छ,’ उनीनिकटकै एक नेताले भने, ‘चुनाव हारेको जिम्मेवारी लिन गगनमाथि प्रश्न उठाउनेहरूले अब शेरबहादुर देउवामाथि किन प्रश्न नउठाउने ?’
निर्वाचनमा कांग्रेस हार्नुमा आन्तरिक कारण पनि रहेको ती नेताको भनाइ छ । ‘अन्तरघात कस–कसले गरेका हुन् भन्नेबारेमा जिल्ला र क्षेत्रीय समितिहरूले रिपोर्ट बनाउलान्,’ उनी भन्छन् ।
डडेलधुराका एक कांग्रेस नेताका अनुसार जिल्लामा सयभन्दा बढी देउवा परिवारकै मतदाता छन् । उनीहरूमध्ये अधिकांशले यसपालि मतदान गरेनन् । ‘तिनै महर जीवनभर देउवाको प्रचारमा खटिए । उनलाई जिताउन गर्नुपर्ने सबै काम गरे तर अहिले उनलाई देउवाले शुभकामना पनि दिएनन्,’ ती नेताले भने ।
यस पटक चुनावमा पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्का, पूर्वपदाधिकारीहरू कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, शशांक कोइराला कोही देखिएनन् । २०७०, २०७४ र २०७९ का निर्वाचनमा नवलपरासी (बर्दघाट सुस्ता पूर्व)–१ बाट चुनाव जित्दै आएका शशांकले यस पटक टिकट नपाउनासाथ कांग्रेसलाई मत मागेनन् । यस पटक उनको ठाउँमा बालकृष्ण घिमिरे उम्मेदवार थिए । शशांकले तीन पटक चुनावी प्रतिस्पर्धा गर्दा भने घिमिरेलगायतका थुप्रै कांग्रेसका कार्यकर्ता दिनरात खटिएका थिए ।
अर्का नेता प्रकाशमान सिंहले प्रतिस्पर्धा गर्दै आएको काठमाडौं–१ मा प्रवल थापाले टिकट पाएका थिए । थापाले कैयौं पटक बिन्ती गर्दासमेत सिंह घरबाट ननिस्किएको कांग्रेस नेताहरू बताउँछन् । अर्का नेता कृष्णप्रसाद सिटौला सात पटक चुनावी प्रतिस्पर्धा गरिसकेका नेता हुन् । यस पटक उनी राष्ट्रिय सभामा कांग्रेसका संसदीय दलका नेता छन् । उनी यस पटक चुनावी प्रचारमा खटिएनन्, उम्मेदवारहरूलाई सार्वजनिक रूपमा शुभकामनासमेत बाँडेनन् । उनी प्रतिस्पर्धा गर्दै आएको झापा–३ मा यस पटक राजेन्द्रकुमार घिमिरे उम्मेदवार थिए ।
पूर्वकार्यवाहक सभापति खड्का भने निर्वाचनको मौन अवधि सुरु भएपछि मात्रै गृह जिल्ला सुर्खेत पुगेका थिए । त्यसअघिदेखि नै उनलाई प्रचारमा आइदिन सुर्खेतका धेरै कांग्रेस नेताहरूले अनुरोध गरेका थिए । उनी चुनाव लड्दै आएको सुर्खेत–१ मा यस पटक भाइ विष्णु खड्का उम्मेदवार थिए । आफ्नै भाइ उम्मेदवार हुँदासमेत उनी प्रचारमा गएनन् । उनले १७ फागुनमा भने सामाजिक सञ्जालमार्फत देशभरिका मतदान केन्द्रमा गई कांग्रेसको चुनाव चिह्नमा स्वस्तिक छाप लगाउन आग्रह गरेका थिए ।
निर्वाचनपछि सोमबार खड्काले अर्को सन्देश जारी गर्दै अस्वाभाविक महत्त्वाकांक्षा, आवेग र आग्रहबाट मुक्त भएर पार्टीको व्यापक–बृहत् एकताका लागि निष्ठा र समर्पण भावका साथ अगाडि बढ्नुपर्ने सबैको नैतिक कर्तव्य र जिम्मेवारी रहेको भन्दै सम्झाएका छन् । ‘हाम्रा अगाडि खडा भएको हिमालयन चुनौतीको सामना गर्ने यही नै उपयुक्त बाटो हो,’ उनले भनेका छन् ।
देउवानिकट नेता जितजंग बस्नेत विशेष महाधिवेशनको औचित्व समाप्त भएको तर्क गर्दै अब चाँडै नियमित महाधिवेशन गर्नुपर्ने बताउँछन् । निर्वाचनको मुखमा विशेष महाधिवेशन गरेकाले नै समस्या आएको उनको दाबी छ । ‘निर्वाचन आइसकेको छ, त्यसपछि नै नियमित महाधिवेशन गरौं भनिएको हो तर चुनाव अगाडि नै विशेष महाधिवेशनका नाममा भेला गरियो र सेटिङमा पार्टी कब्जा गरियो,’ उनी भन्छन्, ‘सभापतिले राजीनामा गर्ने वा नगर्ने विषय उनको स्वविवेकमा रहने नैतिकताको विषय हो । तर सेटिङमा पार्टी कब्जा गरिएकाले समस्या आएको हो ।’
प्रवक्ता चालिसे निर्वाचनको हारपछि सम्हालिएर पार्टीलाई पुनर्निर्माण गर्ने बेला धेरै विवाद निकाल्न नहुने बताउँछन् । ‘अब जुट्नुपर्ने, खट्नुपर्ने बेला हो, घर झगडा गर्ने, पार्टीलाई फेरि विवादमा पार्ने काम अब गर्नु हुन्न । संयमित र विवेकले काम गर्नुपर्छ । मनोबल उच्च बनाउनुपर्छ,’ उनी भन्छन् ।
