धेरै मतान्तरको विजयले जिम्मेवारी बोध गराएको छ : डा. थापा

उनले भने, ‘धेरै मतको मतान्तरको गहिराइमा आम जनताको मप्रति लुकेको आशा, भरोसा र जिम्मेवारीको दायित्व छन् । यो जिम्मेवारी पूरा गर्न योजनाका साथ अगाडि बढ्ने योजना बनाएको छु ।’

फाल्गुन २७, २०८२

माधव ढुंगाना

भैरहवा — रुपन्देही ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित डा.लेखजंग थापाले फराकिलो मतान्तरले भएको आफ्नो विजयले जनताप्रति जिम्मेवारीको बोध गराएको बताएका छन् ।

निर्वाचित भएपछि स्थानीय सञ्चारकर्मीहरूसँग पहिलो पटक बुधवार भैरहवामा भेटघाट गर्दै उनले आफू निर्वाचित भएपछि विकास निर्माणका कार्य र समाजमा आमूल सुधारका लागि सबैसँग सहकार्य गरेर अघि बढ्ने बताए ।

रास्वपाबाट निर्वाचित डा.थापा अहिलेको निर्वाचनमा सबैभन्दा धेरै मतान्तरले निर्वाचित हुने प्रतिनिधिसभा सदस्य हुन् । ५८ हजार ८१४ मत ल्याई निर्वाचित भएका थापाले निकटतम् प्रतिस्पर्धीसँग ५० हजार ३७९ मतान्तरले विजयी भएका हुन् ।

‘मेरो विजयमा भएको सबैभन्दा धेरै मतान्तरले मलाई जनताप्रतिको जिम्मेवारीलाई बोध गराएको महसुस गराएको छ,’ उनले भने, ‘धेरै मतको मतान्तरको गहिराइमा आम जनताको मप्रति लुकेको आशा, भरोसा र जिम्मेवारीको दायित्व छन् । यो जिम्मेवारी पूरा गर्न योजनाका साथ अगाडि बढ्ने योजना बनाएको छु ।’

समाजमा आमूल सुधार गरी राम्रो नेपाल, समृद्ध नेपाल बनाउन विकास सहितको भ्रष्टाचारमुक्त र सुशासन आवश्यक रहेको उनले जनाए । 

माधव ढुंगाना कान्तिपुरका भैरहवा संवाददाता हुन् ।

Link copied successfully