सुरुवाती चरणबाटै उम्मेदवारहरुको मतान्तर कम रहेकाले गणनास्थलमा रहेका दलका प्रतिनिधि बीच बेलाबेला हुने विवादले पनि समय लम्ब्याइरहेको छ ।
पाँचथर — इलाम–१ मा गणना सुरु भएको चौथो दिनसम्म पनि परिणाम सार्वजनिक भएको छैन । ६३ हजार ६ सय ९५ जनाले मतदान गरेको यो क्षेत्रको गणना किन ढिलो ? सर्वत्र चासो भइरहेको छ ।
इलामका अग्रज पत्रकार सटेन्द्र जबेगूका अनुसार यहाँ राजनैतिक दलको सहमतिका आधारमा एक–एक बुथका मत पालौपालो गणना गरिँदैछ । गणनास्थल साँघुरो छ भने जनशक्ति पनि सीमित मात्रै खटाइएको छ । ‘प्रत्येक बाकसका मत पालौपालो खन्याएर सर्टिङ गर्न समय लाग्ने गरेकाले पनि ढिलो भइरहेको देखिन्छ,’ उनले भने ।
त्यहाँ सुरुवाती चरणबाटै उम्मेदवारहरुको मतान्तर कम रहेकाले गणनास्थलमा रहेका दलका प्रतिनिधि बीच बेलाबेला हुने विवादले पनि समय लम्ब्याइरहेको छ ।
यहाँ खसेको ६३ हजार ९ सय ९५ मध्ये बिहान ११ः४० बजेसम्म ५७ हजार ३ सय ९७ मत गणना भइसकेका छन् । अझै ६ हजार ५ सय ९८ मत गन्न बाँकी छ । यत्तिका गणना गर्न सोमबार दिउँसो २ बजेसम्म लाग्न सक्ने अनुमान गरिएको छ । साविक मेची अञ्चलका चारमध्ये ३ जिल्लाको परिणाम आइतबार नै सार्वजनिक भइसकेको थियो । अब इलाम–१ को मात्रै गणना बाँकी छ ।
