लमजुङमा समानुपातिकतर्फ पनि रास्वपालाई दोब्बर मत

एमाले-कांग्रेसलाई दोब्बर मतले उछिन्यो

फाल्गुन २५, २०८२

आश गुरुङ

Double votes for RSVP in Lamjung in proportional representation too

लमजुङ — प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फ लमजुङको अन्तिम मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दोब्बर बढी मतसहित पहिलो स्थानमा रहेको छ ।

कुल १ लाख ३८ हजार २ सय ५२ मतदाता रहेकोमा ७६ हजार २ सय ८९ मत खसेको थियो । खसेको मतमध्ये ७४ हजार ३३७ मत सदर भएका छन् । १ हजार ९ सय ५२ मत बदर भएका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार सोमबार दिउँसो सम्पन्न मत परिणाम अनुसार रास्वपाले चुनाव चिन्ह घण्टीमा ३४ हजार ५ सय ७५ मत प्राप्त गर्दै पहिलो स्थान हासिल गरेको छ ।

दोस्रो स्थानमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले सूर्य चिन्हमा १५ हजार ८ सय ४९ मत प्राप्त गरेको छ । नेपाली कांग्रेसले रुख चिन्हमा १५ हजार ६ सय २ मत प्राप्त गर्दै तेस्रो स्थानमा सीमित भएको छ । प्रत्यक्षतर्फ रास्वपा उम्मेदवार दोब्बर बढी मतसहित विजयी भएका थिए भने एमाले र कांग्रेस उम्मेदारले क्रमशः दोस्रो र तेस्रो स्थानमा रहेका थिए ।

नेकपाले पाँचकुने तारा चिह्नमा ३ हजार २ सय ६८ मत प्राप्त गरेको छ । राप्रपा)ले हलो चिह्नमा १ हजार ६ सय ८ मत पाएको मुख्य निर्वाचन अधिकृत शिशिरराज ढकालले जानकारी दिए ।

श्रम संस्कृति पार्टीले १ हजार १ सय ३७, राष्ट्रिय परिवर्तन पार्टीले ५ सय ९५, मंगोल नेशनल अर्गनाइजेशनले ४ सय ९९, नेपाल जनता संरक्षण पार्टीले २ सय २६, जनमत पार्टीले १ सय ४२ मत प्राप्त गरेको छ ।

लमजुङमा समानुपातिकतर्फ कुल ५७ वटा राजनीतिक दल चुनावी मैदानमा उत्रिएका थिए । १० वटा राजनीतिक दलबाहेक ४७ वटा राजनीतिक दलले १ सय मत कटाउन सकेनन् ।

आश गुरूङ कान्तिपुरका लमजुङ संवाददाता हुन् ।

Link copied successfully