अमरेशलाई गगनको बधाई, सर्लाही-४ मा देखेका समस्या समाधानमा लाग्ने

थापाले सर्लाही–४ का मतदाताप्रति कृतज्ञता व्यक्त गर्दै आफूले देखेका यो क्षेत्रका समस्याको समाधानका लागि निरन्तर पहल गर्ने बताएका छन्।

फाल्गुन २४, २०८२

कान्तिपुर संवाददाता

Gagan congratulates Amresh, will work to solve the problems seen in Sarlahi-4

काठमाडौँ — नेपाली कांग्रेसका सभापति गगन थापाले सर्लाही–४ मा आफूसँगको प्रतिस्पर्धामा विजयी भएका अमरेशकुमार सिंहलाई बधाई दिँदै शुभकामना व्यक्त गरेका छन्।

चुनावमा पराजित भएपछि सामाजिक सञ्जालमार्फत उनले सिंहलाई प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकोमा बधाई दिँदै सफल कार्यकालको कामना गरेका हुन्।

थापाले सर्लाही–४ का मतदाताप्रति कृतज्ञता व्यक्त गर्दै आफूले देखेका यो क्षेत्रका समस्याको समाधानका लागि निरन्तर पहल गर्ने बताएका छन्।

‘सर्लाही क्षेत्र नम्बर ४ बाट निर्वाचित हुनुभएकोमा डा. अमरेश सिंहलाई हार्दिक बधाई तथा शुभकामना। मलाई माया, विश्वास र मत दिनुहुने यस क्षेत्रका सम्पूर्ण मतदाताप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु,’ थापाले भनेका छन्।

उनले यस क्षेत्रका समस्याको सम्बोधनका लागि आफ्नो पहल र क्षमताभित्रबाट सम्भव हुने कामहरू निरन्तर रूपमा गरिरहने पनि बताएका छन्।

‘यस क्षेत्रमा मैले देखेका समस्याहरूको सम्बोधन गर्न मेरो पहल र क्षमताभित्रबाट सम्भव हुने कामहरू निरन्तर रूपमा गरिरहनेछु,’ थापाको भनाइ छ।

कान्तिपुर

Link copied successfully