धनुषा–१ को अन्तिम मतपरिणाम सार्वजनिक नगर्न आयोगको निर्देशन

घन्टी चिन्हमा खसेको मत गोप्य राखिए पनि अन्य दलले पाएका मतको आधारमा बाहिर अनुमान भइरहेको छ ।

फाल्गुन २४, २०८२

अजित तिवारी

Commission directs not to make final Dhanusha-1 results public

जनकपुर — धनुषा निर्वाचन क्षेत्र नम्बर १ मा प्रत्यक्षतर्फको मतगणना अन्तिम चरणमा पुगे पनि अन्तिम मतपरिणामबारे अन्योल झन् बढेको छ ।

बैकिङ कसुरमा कालोसूचीमा परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार किशोरी साह कमलको उम्मेदवारी चुनावको दुई दिनअघि निर्वाचन आयोगले खारेज गरेको थियो । आयोगमा रहेको उम्मेदवारको वैयक्तिक विवरणमा किशोरीले कमल निर्माण सेवाको सेयर होल्डर भएर काम गरेको खुलाएका छन् ।

कमल कन्स्ट्रक्सनका किशोरी साहलाई २०८० पुस ६ र २०७९ असोज ३१ मा कालोसूचीमा राखिएको कर्जा सूचनाको केन्द्र वेबसाइटमा उल्लेख छ । रास्वपाका उम्मेदवार साहको उम्मेदवारी खारेज भए पनि उनी भने मतदातासँग मत मागिरहेका थिए ।

उम्मेदवारी खारेज गर्ने आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा मुद्दा परेको छ । निर्वाचनको दुई दिनअघि उम्मेदवारी खारेज भएकाले मतपत्र अर्को छापेर ल्याउन सम्भव नभएपछि घन्टी चुनाव चिन्ह रहेकै मतपत्र मतदातालाई दिइएको थियो । उम्मेदवारी खारेज भए पनि रास्वपाका उम्मेदवार साहको चुनाव चिन्ह घन्टीमा मत परेको छ ।

उम्मेदवारी खारेज भएकाले मतगणनाअघि घन्टीमा परेको मत बदर हुने क्षेत्र नं १ निर्वाचन अधिकृतको कार्यालयले निर्णय गरे पनि रास्वपा नेता–कार्यकर्ताले मतगणना नै प्रभावित हुने गरी प्रदर्शन गरेपछि निर्वाचन आयोगले घन्टी चुनाव चिन्हमा परेको मत गनेर गोप्य राख्न निर्देशन दिएको थियो । आयोगको निर्देशनअनुसार नै धनुषा–१ मा घन्टी चुनाव चिन्हमा परेको मत गनेर निर्वाचन अधिकृतको कार्यालयले गोप्य लगत राखिरहेको छ । ‘घन्टी चुनाव चिन्हमा परेको मत गनेर गोप्य नै राखिएको छ,’ धनुषा–१ का निर्वाचन अधिकृत मनोज बरालले भने,‘हामीले त्यो मत घोषणा पनि गरेका छैनौं । कसैलाई भनेको पनि छैन । घन्टी चुनाव चिन्हमा परेको भनेर बाहिर आएका मत अनुमानित हो ।’

धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुईटेलले कुल खसेको मत, अन्य चुनाव चिन्हमा परेको सदर मत र बदर मतको संख्या गनेर बाँकी रहेको मत घन्टी चुनाव चिन्हको अनुमान गरेर प्रचार भइरहेको बताए । करिब १ लाख २६ हजार ४० मतदाता रहेका धनुषा–१ मा ७८ हजार ४६३ मत खसेको थियो ।

मतदान अधिकृत बरालका अनुसार आइतबार साँझ ७ बजेसम्म सबैला क्षेत्रका सात वटा मतपेटिका अब मात्र गन्न बाँकी छ । अहिलेसम्मको मतगणनामा कांग्रेसका उम्मेदवार रामपल्टन साहले अग्रता लिएका छन् भने नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार मातृका यादव र एमालेका उम्मेदवार रामचन्द्र मण्डलले साहलाई पछ्याइरहेका छन् ।

निर्वाचन आयोगले आइतबार फेरि निर्वाचन अधिकृतको कार्यालयलाई अर्को पत्र पठाएको छ । त्यो पत्रले थप अन्योल देखिएको छ । धनुषा–१ को मतपरिणाम तत्काल घोषणा नगर्न निर्वाचन आयोगले थप निर्देशन दिएको छ । आयोगको निर्णयअनुसार सम्बन्धित निर्वाचन अधिकृतलाई अदालतबाट आदेश नआउन्जेलसम्म पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको मतपरिणाम घोषणा नगर्न अनुरोध गरिएको हो ।

अदालतमा मुद्दा चलिरहेकाले अन्तिम आदेश नआउँदासम्म मत परिणाम घोषणा नगर्न आयोगले स्पष्ट गरेको छ । ‘आयोगले मतगणना नरोक्नु । तर अन्तिम परिणाम र विजयी उम्मेदवारलाई प्रमाणपत्र नदिने आशयको निर्देशन आएको छ,’ निर्वाचन अधिकृत बरालले भने,‘अबेर रातिसम्म प्रत्यक्षतर्फको मतगणना सकिनेछ । परिणाम घोषणा अर्को निर्देशन आएपछि मात्र हुनेछ ।’

उम्मेदवारी खारेजमा परेका रास्वपा उम्मेदवार वन कार्यालयमा कार्यरत रहँदा राजीनामा गरेर ठेक्कापट्टामा लागेका थिए । वन पैदावारको निकासी–पैठारीमा लामो समय ठेक्कापट्टाको काम गरेका रास्वपा उम्मेदवार साह भने पछि कमल कन्ट्रक्सनमार्फत निर्माण क्षेत्रमा हात हालेका थिए । ०७४ को निर्वाचनमा एमालेबाट साह प्रदेशसभामा धनुषा–१ (१) बाट निर्वाचित भएका थिए । ०७९ को निर्वाचनमा साह भने जनमत पार्टी प्रवेश गर्दै प्रतिनिधिसभाको निर्वाचन लडेका थिए । ०७९ को निर्वाचनमा चौथो स्थानमा सीमित भएका साह यो निर्वाचनमा रास्वपाबाट उम्मेदवार बनेका थिए ।

अजित पत्रकार तिवारी कान्तिपुरका जनकपुर संवाददाता हुन् ।

Link copied successfully