सबैलाई सम्मान गर्दै, नमात्तिकन, नआत्तिकन काम अगाडि बढाउछौं : सभापति लामिछाने

चितवन-२ बाट निर्वाचित रास्वपा सभापति रवि लामिछानेले भने- 'प्रतिपक्षमा नागरिकको भूमिका रहन्छ, मिडियाको भूमिका रहन्छ, नागरिक समाजको भूमिका रहन्छ, राजनीतिक दल पनि प्रतिपक्षमा छन् ।

फाल्गुन २३, २०८२

कान्तिपुर संवाददाता

We will move forward with respect for everyone, without bowing down or panicking: Chairman Lamichhane

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित रवि लामिछानेले नागरिकसँग गरेका वाचा पूरा गर्ने बताएका छन् । उनले चुनावबाट प्राप्त जनमतको सम्मान गर्दै अगाडि बढ्ने बताए । 

प्रतिनिधिसभा चुनावमा चितवन-२ को मतपरिणाम शनिबार सार्वजनिक भएको थियो । उक्त क्षेत्रबाट निर्वाचित भएपछि प्रतिक्रिया दिँदै लामिछानेले अब कामको सुरुवात गर्ने बताएका हुन् । 'हामीलाई नागरिकका अपेक्षा बारे जानकारी छ । तिनै अपेक्षालाई हामीले संकलन गरेर नागरिकसँग बाचा गरेका छौं र यसपटक त हामीले नागरिकसँग करार गरेका छौं । त्यसकारणले तिनै कुरा पुरा गर्ने हाम्रो उद्देश्य रहन्छ,' लामिछानेले भने, 'संयमित भएर, सम्हालिएर, सबैलाई सम्मान गर्दै, नमातिकन, नआतिकन हामी काम अगाडि बढाउछौं ।'

संसद्मा रास्वपाले ठूलो मत प्राप्त गरेको भए पनि प्रतिपक्षको सम्मान गर्ने लामिछानेको भनाइ थियो । 'प्रतिपक्षमा नागरिकको भूमिका रहन्छ, मिडियाको भूमिका रहन्छ, नागरिक समाजको भूमिका रहन्छ, राजनीतिक दल पनि प्रतिपक्षमा छन् । संख्या हेरौं, अन्तिम परिणाम आउन बाँकी नै छ । यसको अर्थ के भने दलका रुपमा, नेताका रुपमा कोही प्रतिपक्ष नहुँदैमा समाज प्रतिपक्ष हुँदैन भन्ने होइन,' उनले भने । 

नागरिकले गरेको अपेक्षा र आशा पूरा गर्नका लागि रास्वपाले काम गर्ने लामिछानेको भनाइ थियो । 'हिजोसम्म उहाँहरूले भोट खसाल्नु भयो, अब त आफूले खसालेको भोटको हिसाब माग्नुहुन्छ, त्यो हिसाब माग्ने चेतन भएका जनता हाम्रो प्रतिपक्ष हो, हामी त्यो प्रतिपक्षको सम्मान पनि गर्छौं र त्यो प्रतिपक्षलाई चाहिँ चित्त बुझ्ने गरी काम गर्ने हामीले योजना बनाएका छौं,' उनले भने । 

कान्तिपुर

Link copied successfully