रूपन्देही–२ को निर्वाचन परिणाम सार्वजनिक भएसँगै रास्वपाका उम्मेदवार सुलभ खरेललाई बधाई तथा शुभकामना व्यक्त गर्दै उनले सामाजिक सञ्जालमार्फत एमालेको नीति, नेतृत्व, संगठनको कायैशैली बदल्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।
बुटवल — एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेलले एमालेको नीति, नेतृत्व, संगठन र कार्यशैलीलाई जनअपेक्षाअनुरुप पुनर्गठन गर्न अग्रसरता लिने प्रतिबद्धता व्यक्त गरेका छन् ।
रूपन्देही–२ को निर्वाचन परिणाम सार्वजनिक भएसँगै रास्वपाका उम्मेदवार सुलभ खरेललाई बधाई तथा शुभकामना व्यक्त गर्दै उनले सामाजिक सञ्जालमार्फत एमालेको नीति, नेतृत्व, संगठनको कायैशैली बदल्ने प्रतिबद्धता व्यक्त गरेका हुन् । उनले निर्वाचनको परिणामबाट विचलित नहुन पार्टीपंक्तिलाई आह्वान पनि गरेका छन् ।
राजनीति यात्रामा उतार चढाव आइरहने भन्दै उनले पार्टी र आफ्ना तर्फबाट भएका गल्ती कमजोरीहरूको गम्भीर समीक्षा गर्न, जनअपेक्षाअनुरुप आफैलाई रुपान्तरण गर्ने प्रतिबद्धता पनि जनाएका छन् । ‘विगतमा हाम्रा तर्फबाट भएका गल्तीकमजोरीहरूको गम्भीर समीक्षा गर्न, जनअपेक्षाअनुसार आफैलाई रूपान्तरण गर्न र एमालेको नीति, नेतृत्व, संगठन र कार्यशैलीलाई जनअपेक्षाअनुरूप पुनर्गठन गर्न अग्रसरता लिने र अविचलित भएर जनता र राष्ट्रको सेवामा समर्पित भइरहने प्रतिबद्धता व्यक्त गर्दछु,’ उनले भनेका छन्, ‘लोकतन्त्रको सुन्दरता नै जनताको अभिमत हो र म रुपन्देही–२ का आदरणीय मतदाताहरूको फैसलालाई सविनय र सहर्ष स्वीकार गर्छु ।’
उनले आफूले सुरु गरेका र गर्न बाँकी योजनाहरूलाई पनि सुलभ खरेलले अघि बढाउने विश्वास पनि व्यक्त गरेका छन् । ‘आशा छ, तपाईंले यस क्षेत्रका जनताका अपेक्षा अनुरूप उत्कृष्ट कार्य गर्नुहुनेछ र रुपन्देहीको विकास र समृद्धिको यात्रालाई अझै उचाइबाट अगाडी बढाउनु हुनेछ ।’
उपाध्यक्ष पौडेलले निर्वाचनमा हार र जित एउटा स्वाभाविक प्रक्रिया भएको बताए । ‘मेरा लागि रुपन्देही र विशेष गरी क्षेत्र नंम्बर २ को यो पवित्र माटो केवल एउटा निर्वाचन क्षेत्र मात्र होइन,’ उनले भनेका छन्, ‘यो मेरो जीवनको अभिन्न हिस्सा र मेरो कर्मभूमि हो । यो माटोको माया र यहाँका जनताको स्नेह मेरो लागि पद र शक्तिभन्दा धेरै माथि र अमूल्य छ ।’
