शनिबार बिहान सामाजिक सञ्जालमा सन्देश लेख्दै उनले “जिन्दगी हो: हार जित भइरहन्छ, बाधा पन्छाउँदै नदी बगिरहन्छ” भन्ने गितको भाव झैं लोकतान्त्रिक प्रक्रियामा हार–जित स्वाभाविक भएको बताएका छन् ।
दाङ — एमाले महासचिव एवं दाङ–२ का उम्मेदवार शंकर पोखरेलले निर्वाचनको परिणामबारे टिप्पणी गर्दै लोकतान्त्रिक प्रक्रियामा हारजित स्वभाविक भएको बताएका छन् ।
शनिबार बिहान सामाजिक सञ्जालमा सन्देश लेख्दै उनले “जिन्दगी हो: हार जित भइरहन्छ, बाधा पन्छाउँदै नदी बगिरहन्छ” भन्ने गितको भाव झैं लोकतान्त्रिक प्रक्रियामा हार–जित स्वाभाविक भएको बताएका छन् ।
उनले निराश नभई सकारात्मक सोचका साथ आफ्नो कर्तव्यमा निरन्तर लागिरहन सबैलाई अनुरोध पनि गरेका छन् । ‘आम निर्वाचन २०८२ को जनादेश राष्ट्रिय स्वतन्त्र पार्टी को पक्षमा आएको छ,’ उनले भने,‘जनताले “नयाँबाट केही हुन्छ कि” भन्ने विश्वासका साथ अभिमत दिएका छन् ।’
जनविश्वास अनुरूप अघि बढ्न राष्ट्रिय स्वतन्त्र पार्टीका प्रस्तावित प्रधानमन्त्री उम्मेदवार बालेन शाह सहित विजयी हुने सबै प्रतिनिधिहरूलाई उनले कार्य सफलताको शुभकामना दिएका छन् । यस पटकको निर्वाचनमा आफू उम्मेदवार भएको निर्वाचन क्षेत्रमा पार्टीका नेता तथा कार्यकर्ताहरूले निकै मेहनत गरेको र शुभेच्छुक तथा आफन्तजनहरूले पनि उत्तिकै साथ र सहयोग दिएको भए पनि ‘परिवर्तन’ को लहरका सामु प्रयास सफल हुन नसकेको उनले उल्लेख गरेका छन् ।
उनले आफ्नो क्षेत्रबाट निर्वाचित हुन लागेका रास्वपाका सहमहामन्त्री विपिन कुमार आचार्यलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना पनि दिएका छन् । पोखरेल उम्मेदवार रहेको दाङ–२ मा ६१ हजार १ सय ६४ मत गन्दा आचार्य ३१ हजार ५ सय ९२ मतका साथ अग्र स्थानमा छन् भने पोखरेल ११ हजार ५ सय ३१ मतका साथ दोस्रो स्थानमा छन् ।
