खराब मौसमका कारण संखुवासभा, गोरखा–१ र मुगुका केही केन्द्रबाट मतपेटिका संकलन हुन सकेन
काठमाडौँ — प्रतिनिधिसभाका तीन निर्वाचन क्षेत्रमा मतगणना सुरु हुन सकेको छैन । मतपेटिका संकलन भइनसकेकाले संखुवासभा, गोरखा–१ र मुगुमा मतगणना नथालिएको हो ।
संखुवासभामा खराब मौसमका कारण भोटखोला गाउँपालिकाको थुदाम मतदान केन्द्रको मतपेटिका सदुरमुकाम ल्याइएको छैन । त्यहाँबाट शनिबार मात्रै मतपेटिका ल्याउने तयारी छ । ६३ मतदाता रहेको थुदाममा १३ मत खसेको छ ।
सेनाको हेलिकोप्टरले शुक्रबार थुदामबाट मतपेटिका ल्याउन पटकपटक प्रयास गरे पनि खराब मौसमका कारण सम्भव नभएको हो । भौगोलिक रूपमा विकट मानिएका भोटखोलाका तीन, भोटखोला गाउँपालिकाको रिदाक र किमाथांका तथा सिलिचोङ गाउँपालिका–५ का काम्पेक र गौथलाबाट भने शुक्रबार मतपेटिका ल्याइएको डीएसपी कुमारप्रसाद मैनालीले जानकारी दिए । सेनाको इन्द्रदल गुल्मका अनुसार पानी परिरहेकाले थुदाममा शुक्रबार हेलिकोप्टर अवतरण हुन नसकेको हो ।
गोरखा–१ मा भने उत्तरी क्षेत्रका १४ केन्द्रबाट मतपेटिका सदरमुकाम ल्याउन बाँकी छ । भौगोलिक विकटताका कारण च्मुनुब्रीका २३ मतदान केन्द्रको मतपेटिका हेलिकोप्टरबाट ढुवानी गर्ने तयारी गरिएको थियो । तर शुक्रबार दुई वटा उडानमा ९ केन्द्रको मात्र मतपेटिका ढुवानी भएको छ ।
चुमनुब्री–३ सिर्दिवासको बौद्धहिमाली आधारभूत विद्यालय न्याक, बुद्ध मावि फिलिम, पाङसिङ आधारभूत विद्यालय पाङसिङ, फिलिम आधारभूत विद्यालय पाती र सिदुङ आधारभूत विद्यालय सरस्युङ केन्द्रको मतपेटिका गणनास्थल ल्याउन बाँकी छ । त्यस्तै चुमनुब्री–४ को हिमचुली आधारभूत विद्यालय छाक, प्रोक आधारभूत विद्यालय प्रोक, क्वाक आवि क्वाक, क्राक आधारभूत विद्यालय क्राक, गुम्बा हिमाली आधारभूत विद्यालय धुम्मत, गाविस भवन स्यो, सामुदायिक भवन ल्हो, स्वास्थ्य चौकी नामरुङ लार्केबजार केन्द्रको पनि मतपेटिका संकलन हुन बाँकी छ ।
मौसम खराबीका कारण हेलिकोप्टर उडान हुन नसक्दा मतपेटिका ल्याउन नसकिएको जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी राजकुमार श्रेष्ठले बताए । ‘बाँकी रहेको मतपेटिका शनिबार हेलिकोप्टरमार्फत ढुवानी गर्ने तयारी छ,’ उनले भने । गोरखा–१ को मतगणना स्थल जिल्ला समन्वय समितिको हलमा तोकिएको छ ।
कर्णालीको हिमाली जिल्ला मुगुमा पनि मुगुमकर्मारोङ गाउँपालिकाका जनजागृति मावि र कान्जीरोवा मावि मतदान केन्द्रका मतपेटिका संकलन हुन बाँकी रहेको छ । त्यहाँको प्रहरी चौकीमा राखिएको मतपेटिका शनिबार मात्रै संकलन हुने प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी रामप्रकाश शाहले बताए ।
